आगामी मौद्रिक नीतिमार्फत ब्याजदरको समस्या समाधान गरिन्छ : अर्थमन्त्री महत

Read Time = 3 mins

विराटनगर । अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदरको समस्या आगामी मौद्रिक नीतिमार्फत गरिने बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट एवं राजस्व नीति तर्जुमाका सन्दर्भमा आज यहाँ आयोजित कोशी प्रदेशस्तरीय अन्तरक्रियामा उहाँले मौद्रिक नीतिमार्फत ब्याजदर घटाइने बताउनुभयो ।

“अर्थतन्त्रमा देखिएको शिथिलता किन आयो भन्ने निजी क्षेत्र जानकार छ”, उहाँले भन्नुभयो, “ब्याजदरका विषयमा मौद्रिक नीति खुकुलो गर्न जरुरी छ, यसका लागि नेपाल राष्ट्र बैंकलाई भनिसकेको छु ।” उहाँले राष्ट्र बैंकले यसलाई गम्भीररुपमा लिएको र छिट्टै एउटा निर्णयमा पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्र बैंकलाई स्वतन्त्ररुपमा काम गर्ने अधिकार भएको भन्दै उहाँले एउटा परिवेशमा राष्ट्र बैंकले मौद्रिक नीतिमा कसिकसाउ गरेको भए पनि अब भने खुकुलो गर्न जरुरी रहेको बताउनुभयो । उहाँले मौद्रिक नीतिमार्फत् बजारमा पुँजी प्रवाह आवश्यक रहेको बताउनुभयो । “ब्याजदरले अवश्य पनि समस्या सिर्जना गरेको छ । अब मौद्रिक नीतिमार्फत पुँजी प्रवाह जरुरी छ”, उहाँले भन्नुभयो, “यसमार्फत उद्योग व्यवसायलाई सहयोग पुग्नेछ ।”

ADVERTISEMENT

उहाँले अहिले पुँजीगत खर्च कम भएको भन्दै यसलाई बढाउन आवश्यक रहेको उहाँको भनाइ छ । “हाम्रो ठेक्का प्रक्रिया, ‘साइट क्लियरेन्स’लगायतमा समस्या छ”, उहाँले भन्नुभयो, “यसले गर्दा आयोजनाको काम अपेक्षा अनुसार अघि बढ्न सकेको छैन ।” उहाँले आर्थिक वर्षको अन्तिम त्रैमासमा ठेक्का लगाउने परम्परा हटाउनुपर्ने धारणा राख्नुभयो ।

आर्थिक वर्षको पहिलो दिनबाट काम सुरु गर्नुपर्ने भन्दै उहाँले यसका लागि सबै मन्त्रालयका साथीसँग कुरा गरिरहेको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेट प्रस्तुतका लागि एक महिना बाँकी रहेको भन्दै बजेटमार्फत समस्या समाधानमा आफू इमान्दारिताका साथ लाग्ने स्पष्ट पार्नुभयो ।

“अर्थतन्त्र गाडी कुदेको जस्तै हो, गाडीमा, स्टेरिङ मात्रै राम्रो भएर हुँदैन अन्य पक्ष पनि राम्रो हुनुपर्छ”, उहाँले भन्नुभयो, “सबैले आ–आफ्नो जिम्मेवारी एक साथ पूरा गरेमात्रै गाडी गन्तव्यमा पुग्नसक्छ ।” उहाँले निजी क्षेत्रलाई समस्याका कारण र नतिजा बुँदागत रुपमा उल्लेख गरी सुझाव दिन आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज