एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा पुनः उम्मेदवारी दिने पुष्टि गर्नुभएको छ । उहाँले एक प्रमोशनल भिडियोमार्फत आफ्नो निर्णय सार्वजनिक गर्नुभएको हो ।
अमेरिकाका ४६औं राष्ट्रपति जो बाइडेनले भिडियोमा गर्भपतनको अधिकार, लोकतन्त्रको संरक्षण, मतदानको अधिकार र सामाजिक सुरक्षा सन् २०२४ मा हुने चुनावमा सबैभन्दा महत्वपूर्ण विषय हुने बताउनसभएको छ । उहाँले आगामी पुस्तालाई ‘अधिक वा कम स्वतन्त्रता’ र ‘अधिक वा कम अधिकार’ दिने विकल्प मतदातासँग हुने बताउनुभयो ।
भिडियोको साथमा एक प्रेस विज्ञप्तिमा, बाइडेनले हृवाइट हाउसका वरिष्ठ सल्लाहकार जुली चाभेज रोड्रिग्वेज उहाँको अभियान प्रबन्धक हुने पुष्टि गर्नुभएको छ । बाइडेनले अमेरिकाको राष्ट्रपति पदका लागि फेरि उम्मेदवारी दिने घोषणा गरेसँगै उपराष्ट्रपति कमला हृयारिसले आफू पनि उपराष्ट्रपतिको दौडमा रहने बताउनुभएको छ ।
सन् २०२० मा ५८ वर्षीया कमला हृयारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बन्नुभएको थियो । उहाँले ट्वीट गर्दै पुनः चुनाव लड्ने घोषणा गर्नुभएको छ । उहाँले ट्वीटमा लेख्नुभएको छ, ‘एक अमेरिकी भएको नाताले हामी स्वतन्त्रता र अधिकारमा विश्वास राख्छौं ।
हामीलाई विश्वास छ कि हाम्रो लोकतन्त्र त्यति नै बलियो हुनेछ, जति हाम्रो यसका लागि लड्ने इच्छा छ । यसै कारण जो बाइडेन र म पुनः चुनाव लड्ने तयारीमा छौं ।’






