एकादेशको कथा बन्दै ‘सुनथराली विमानस्थल’

जहाज आउने खुसी निराशामा बदलिँदै

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 10 mins

कालीकोट । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका-१ कोटवाडामा रहेको सुनथराली विमानस्थल परीक्षण उडानमै सीमित बनेको छ । २०७३ माघ २९ गते तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीको पालामा यो विमानस्थलमा परीक्षण उडान गरिएको थियो । तर, २०४२ सालबाट निर्माण कार्य थालिएको यो विमानस्थलमा हालसम्म नियमित उडान हुन सकेको छैन । यही वैशाख पहिलो साता पुनः परीक्षण उडान गरेर जहाज नियमित सञ्चालनमा ल्याउने हल्लासँगै एकपटक फेरि उत्साहित बनेका यहाँका बासिन्दाको खुसी अहिले निराशामा बदलिएको छ । वैशाख १० नाघिसक्दा पनि यहाँ पुनः उडान गरिनेमा क ुनै सुरसार गरिएको छैन । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, विमानस्थल निर्माण आयोजना र निर्माण व्यवसायीको लापरबाहीका कारण ३८ वर्षसम्म पनि परीक्षण उडानमै सीमित भएको हो ।

यो विमानस्थलमा धावनमार्गको सुधार, रिपिटर टावर, घेरबार र भवनसमेत तयार भइसकेको छ । ३८ वर्षपछि निर्माण सम्पन्न भएर पनि जहाज चल्न नसकेको सुनथराली विमानस्थल निर्माण सम्पन्नपछि जहाज उडाउने कुरा त परको हो । विमानस्थलमाथि राजनीतिक खैलाबैला सुरु भएको छ । विमानस्थल परीक्षण उडान हुँदा स्थानीय नागरिकहरूले खुसियाली मनाएका थिए । परीक्षण उडान भएको एक वर्षभित्र नियमित उडान गर्ने प्रतिबद्धता जनाउनुभएका तत्कालीन पर्यटनमन्त्री शाहीले नियमित जहाज उडाउने घोषणा पनि गर्नुभयो तर त्यो घोषणामै सीमित भयो ।

जिल्लाको एक मात्र विमानस्थल निर्माण कार्य पूरा भएपछि पनि नियमित उडान गराउनेतर्फ सरकारी निकाय र विमान कम्पनीले कुनै चासो देखाएको छैन । साबिकको कर्णाली अञ्चलका पाँचवटै जिल्लामा एक÷एकवटा विमानस्थल निर्माण गर्ने गरी एकैपटक शिलान्यास गरिएको विमानस्थलमा पर्ने सुनथराली विमानस्थल अन्य कर्णालीका चारवटै जिल्लामा पहिले नै विमानस्थल निर्माण भई नियमित सञ्चालन हुँदा पनि कालीकोटमा अझै सञ्चालनमा आउन सकेको छैन । मुगु, डोल्पा, जुम्ला र हुम्लामा विमानस्थल समयमै सञ्चालन भइसकेका छन् । सदरमुकामभन्दा टाढा हुनाले राज्यको प्राथमिकतामा नपरेको स्थानीयको बुझाइ छ ।

पञ्चायतकालमा निर्माण थालिएको यो विमानस्थललाई बहुदलीय व्यवस्था हुँदै अहिलेको लोकतान्त्रिक गणतन्त्रसम्म आउँदा पनि राजनीतिक दलहरूले यसलाई केवल चुनावी एजेण्डा मात्र बनाउँदै आएको स्थानीयवासीको आरोप छ । नेताहरूले विमानस्थल सञ्चालन गर्ने वाचा गरे पनि हालसम्म यो विमानस्थल सञ्चालनमा आउन नसकेको स्थानीय अविलाल विष्ट बताउनुहुन्छ । ‘चुनावका बेला सबैले विमानस्थल बनाउने वाचा गर्छन्’, उहाँले भन्नुभयो, ‘तर पनि जहाज उड्ने गरी कसैले पनि काम गरेनन् ।’ सशस्त्र द्वन्द्व तथा राजनीतिक दलका स्थानीय नेताबीचको खिचातानीका कारण विमानस्थल ३८ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेको थिएन । २०४२ सालमा जिल्ला विकास समितिको एक लाखको लागतमा विमानस्थलको काम थालनी गरिएको थियो ।

माओवादी जनयुद्धका कारण २०५८ देखि २०६३ सालसम्म यो आयोजनाको कुनै पनि काम अघि बढ्न सकेन । लामो समय निर्माणको जिम्मा लिने ठेकेदारसमेत नपाएको यो आयोजनाका लागि जिल्ला विकास समितिले रकम छुट्याए पनि दुर्गम भेगमा भएका कारण इञ्जिनियर नजाने, नबस्ने गरेकाले पनि लामो समय यसको निर्माण अवरुद्ध भयो । २०६३ सालपछि मात्रै स्थानीय समिति निर्माण गर्दै यो आयोजना अघि बढाउने कार्य थालिए पनि बीचबीचमा दलबीचको आन्तरिक किचलोका कारण काम राम्ररी अगाडि बढ्न सकेन । दलका प्रतिनिधिको किचलोका कारण २०७१ सालसम्म अवरुद्ध बनेको यो विमानस्थलको निर्माण २०७१ साउनदेखि मात्रै अघि बढेको थियो ।

ADVERTISEMENT

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले सुनथराली विमानस्थलमा नियमित उडानका लागि विभिन्न निकायसँग छलफल भएको र यही वैशाख पहिलो सातादेखि उडान भर्ने सहमति भएको जानकारी दिएपनि बैशाख पहिलो साता बितिसक्दा पनि जहाज उडाउने तयारीमा भने कसैको ध्यान गएको देखिँदैन ।

एक वर्षमा सञ्चालन गरेर जहाज उडाउने प्रतिबद्धता थियो शाहीको
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २०७९ मंसिर ४ गते भएको स्थानीय तहको निर्वाचनका लागि आफ्नो चुनावी प्रतिबद्धतामा कालीकोटको विकासका लागि सुनथराली विमानस्थललाई समेत समेटेर पाँचवर्षे मार्गचित्र भनेर प्रतिबद्धताहरू सार्वजनिक गर्नुभएको थियो ।

कालीकोटबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार शाहीले निर्वाचित भएको पहिलो वर्षमै सुनथराली विमानस्थल सञ्चालनमा ल्याइने प्रतिबद्धता जनाउनुभयो तर उक्त विमानस्थलमा यसअघि ०७३ सालमै परीक्षण उडान भइसकेको छ, तर अहिलेसम्म सञ्चालनमा आउन सकिरहेको छैन । पूर्वमुख्यमन्त्री शाहीले आफ्नो पहिलो प्रतिबद्धता विमानस्थल सञ्चालनमा ल्याउने जनाए पनि शाहीको त्यो प्रतिबद्धता चुनावी एजेण्डामै सीमित भयो । प्रतिनिधिसभामा निर्वाचित भएपछि एक वर्षमै विमानस्थल सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनुभएको शाही निर्वाचित भएर सांसद भए पनि विमानस्थलबारे अहिलेसम्म बोल्नुभएको छैन ।

वैशाख पहिलो साता परीक्षण उडान गर्ने सूचना थियो विमानस्थल आयोजनाको
नेपाल नागरिक उड्डयन प्राधिकरण कालीकोट विमानस्थल आयोजनाले चैत २६ गते एक सूचना प्रकाशित गर्दै २०८० सालको वैैशाख पहिलो सातामै निर्माणाधीन सम्पन्न उक्त विमानस्थलमा परीक्षण उडान गर्ने जानकारी गराएको थियो । सूचना प्रकाशित गरेअनुसार वैशाख पहिलो सातामा उडान भरिसक्नु पर्ने विमानस्थलमा जहाज नआएपछि विमानस्थलमाथि राजनीतिक दलका नेताहरूलाई स्थानीयले प्रश्न गर्न थालपेछि राजनीतिक खैलाबैला सुरु भएको हो ।

गत ०७९ मंसिर ४ गतेको निर्वाचनमा प्रतिनिधिसभाका उम्मेदवार महेन्द्रबहादुर शाही, स्वतन्त्र उम्मेदवार काशिचन्द बराल, प्रदेशसभाका उम्मेरदवार हिक्मत विष्ट, स्वतन्त्र उम्मेदवार लक्ष्मणबहादुर बम लगायतले विमानस्थलको निर्माण सम्पन्न गर्ने चर्चा सुरु गरेर भोट मागेको स्थानीयको आरोप छ । २०७४ को निर्वाचनबाट कर्णाली प्रदेशको मुख्यमन्त्री हुँदा महेन्द्रबहादुर शाहीले केही माखो मार्नसमेत नसकेकोले उहाँले फेरि पनि विमानस्थल सञ्चालनमा ल्याउँछु भन्नु लज्जास्पद विषय भएको स्थानीय भनाइ छ । ‘विमानस्थल कालीकोटका जनताको लागि सुविधाका लागि मात्रै होइन, विमानस्थलको रनवेभित्र गाडिएका ३६ जना मजदुरको आत्माको शान्तिका लागि पनि चाँडोभन्दा चाँडो विमानस्थल सञ्चालनमा आउनुपर्छ भन्ने स्थानीयको माग छ,’ । जहाज परीक्षण गरिएको करिब आठ वर्ष बित्न लाग्दा बल्लतल्ल विमानस्थल निर्माणको काम सम्पन्न भएको छ । करिब आठ वर्षअघि मात्रै पहिलोपटक जहाज परीक्षण हुँदा खुसी भएका स्थानीय फेरि वैैशाख पहिलो साताबाट जहाज परीक्षण हुने भएपछि उत्साहित बनेका थिए । तर, वैैशाख पहिलो साता बित्दा उनीहरूको खुसी निराशामा बदलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *