पसलैपिच्छे म्याद नाघेका अखाद्य वस्तु

Read Time = 4 mins

बैतडी । बैतडीमा पसलैपिच्छे म्याद नाघेका अखाद्य वस्तु भेटिने गरेका छन् । स्थानीय तहहरूले बजार अनुगमनमा चासो नदिँदा पसलहरूमा म्याद नाघेका अखाद्य वस्तु भेटिने गरेका हुन् । जिल्लाका अधिकांश पालिकाले आफ्नो क्षेत्राधिकारभित्र पर्ने स्थानीय बजार अनुगमन नगरेको पाइएको छ ।

शनिबार संयुक्त बजार अनुगमन टोलीले गोकुलेश्वर बजारका २१ पसल अनुगमन गरेकोमा अधिकांश पसलमा म्याद नाघेका अखाद्य वस्तु भेटिएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शंकरबहादुर बोहराले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा झण्डै २४ हजार छ सय २६ रुपैयाँ बराबरका अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको उहाँले बताउनुभयो । सूचना अधिकारी बोहराले भन्नुभयो, ‘बजार अनुगमनको जिम्मेवारी स्थानीय तहको पनि हो तर स्थानीय तहले अनुगमनमा चासो देखाएका छैनन्, स्थानीय पसलमा म्याद नाघेका अखाद्य वस्तु जताततै भेटिने गरेका छन् ।’

अनुगमनका क्रममा म्याद नाघेका अखाद्य वस्तु बिक्री गर्ने, नवीकरण नगर्ने र दर्ता नगरी सञ्चालनमा रहेका नौ पसलबाट ६० हजार असुल गरिएको छ । छवटा पसलबाट पाँच/पाँच हजारका दरले ३० हजार जरिवाना असुल गरिएको छ भने बाँकी तीन पसललाई १०/१० हजारका दरले ३० हजार जरिवाना गरिएको घरेलु तथा साना उद्योग कार्यालय बैतडीका सूचना अधिकारी लक्ष्मणकुमार साउदले जानकारी दिनुभयो ।

ADVERTISEMENT

खाद्यवस्तु खरिद गर्दा उपभोक्ता सजग बन्नुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख एवं खाद्य अनुसन्धान अधिकृत प्रवीणकुमार अधिकारी बताउनुहुन्छ । बजारबाट खाद्यवस्तु खरिद गर्दा उत्पादन तथा उपभोग्य मिति, उत्पादक कम्पनीलगायत राम्ररी हेरेरमात्रै खरिद गर्न अधिकारीको आग्रह छ । यसअघि पनि पटक-पटक बजार अनुगमनका क्रममा म्याद नाघेका अखाद्य वस्तु भेटिने गरेका थिए ।

त्यसो त डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञ भट्टले आगामी दिनमा बजार अनुगमनलाई तीव्रता दिने दाबी गर्नुभएको छ । पालिकाभित्र ठूलो बजार क्षेत्र नपर्ने भएकाले अनुगमन नगरिएको भए पनि स्थानीय बजारमा सञ्चालनमा रहेका पसलको अनुगमन गरिने उहाँको भनाइ थियो । चाउचाउ, बिस्कुट, नम्किनलगायतका तयारी खाद्यवस्तु बढीमात्रामा म्याद नाघेको अवस्थामा भेटिने गरेका छन् । स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रशाद भट्टले भन्नुभयो, ‘मानव स्वास्थ्यका लागि तयारी खानेकुरा फाइदाजनक हुँदैनन्, त्यसमा पनि म्याद नाघेका अखाद्य वस्तु सेवन मानव स्वास्थ्यका लागि हानिकारक हुन्छन् ।’

घरेलु तथा साना उद्योग कार्यालय बैतडीको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीको संयुक्त बजार अनुगमन टोलीले शनिबार जिल्लाको डिलाशैनी गाउँपालिका-५ र ६ का डडिया र गोकुलेश्वर बजारमा सञ्चालनमा रहेका विभिन्न पसलमा अनुगमन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?