काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई राजनीति दबाब र अवाञ्छित चलखेलबाट मुक्त राख्ने प्रतिवद्धता जनाउनुभएको छ ।
गृहमन्त्रालयमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।
उहाँले सुरक्षा निकाय र गृह प्रशासनमा कुनै शक्ति केन्द्र वा कुनै राजनीतिक दबाबबाट मुक्त हुनुपर्ने बताउनु भयो । उहाँले सुरक्षा निकायमा हुने विचौलियाको भुमिकालाई शुन्यमा झारिने बताउनु भयो । उहाँले राष्ट्र र जनताको निम्ति प्रहरी प्रशासन हो भन्ने बनाउनेगरी काम गरिरहेको बताउनु भयो । उहाँले सुरक्षा निकायमा काम गर्नेहरुको मनोबल गिरेको खण्डमा सुरक्षा व्यवस्थामा नै प्रश्न उठ्ने भन्दै दबाबरहीत प्रणाली स्थापित गर्नुपर्ने बताउनु भयो । उहाँले निष्पक्षताको आधारमा सुरक्षा निकायमा पदस्थापन हुने प्रणालीको विकास गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘देशको अहिलेको एउटा गम्भीर प्रश्न राजनीतिको सफाई अभियान हो । राजनीति सफा नगरिकन राजनीतिले देशको परिवर्तन गर्न सक्दैन भन्नेकुरामा म अहिले प्रतिवद्ध छु । हामीले अहिले यसमै जोड दिइरहेका छौँ, हाम्रो सुरक्षा निकाय र गृह प्रशासनमा राजनीति, कुनै शक्ति केन्द्र वा कुनै राजनीतिक दबाबबाट मुक्त हुनुपर्छ । पहिलो त्यसबाट हामी मुक्त रहौँ । यसका साथै चलनचल्तीमा सुनिएको विभिन्न प्रकारको अन्य चलखेल पनि हुने, विचौलियको भुमिका पनि हुने, भन्ने थियो, त्यसलाई शुन्यमा झारिनेछ । त्यो अब सम्भव हुँदैन । राष्ट्र र जनताको निम्ति प्रहरी प्रशासन हो । हाम्रो सारा नीति निर्माण राष्ट्र र जनताको सेवाभावका लागि हुनेछ । हाम्रो प्रशासनले, प्रहरीहरुले, आफूलाई दिएको जिम्मेवारी सकारात्मक ढंगले निर्वाह गर्दै आइरहेको पक्षमा पनि जानकार छौँ । तर कतिपय गुनासो आउने गरेको कुराबाट बेखबर छैनौँ । ठूलाबडा, सम्पन्न, धनीमानी, पहुँच भएका शक्तिकेन्द्रमा जानसक्नेहरुको कुरा सुन्ने, तिनीहरुले भेटघाट पाउने तर गरिव, असहाय जनसाधारणले सम्पर्क गर्न पनि नपाउने स्थितिको फेरबदल गर्नुपर्छ । सुरक्षा निकायलाई शक्ति केन्द्र र राजनीतिक दबाबबाट मुक्त राखिनेछ । अवाञ्छित चलखेलबाट मुक्त राखिन्छ । यो कुरा मैले अत्यन्त गम्भीरतापूर्वक भनेको छु । हाम्रो सुरक्षा निकाय हाम्रो गौरव हुनुपर्छ । सुरक्षा निकायको काम गर्ने साथीहरुको मनोबल गि¥यो भने हाम्रो सुरक्षा निकायको मनोबल उठ्दैन । सुरक्षा निकायका हाम्रा जनशक्तिको मनोबल उठ्दैन । त्यसकारण हामीले सिस्टम स्थापित गर्ने र निष्पक्षताको आधारमा सुरक्षा निकायमा पदस्थापन गर्नेकुरा हुनुपर्छ ।’
मन्त्री श्रेष्ठले देशका सबै वास्तविक नागरिकहरुले नागरिकताको प्रमाणपत्र सहज ढंगले छिटो भन्दा छिटो प्राप्त गर्न पाउनुपर्छ भन्ने पक्षमा सरकार रहेको स्पष्ट पार्नुभयो । उहाँले संविधानले नागरिक हक प्रदान गरेको तर संविधानले नै ऐन बनाएर मात्रै नागरिकता उपलब्ध गराउने कुरा उल्लेख गरेकाले ऐन निर्माणका प्रक्रिया शुरु भइसकेको र छिटै वास्तविक नागरिकले नागरिकता पाउने बताउनु भयो । उहाँले नागरिकताको विषय संवेदनशील भएकाले राष्ट्रिय सहमतिको पहल भइरहेको पनि बताउनु भयो । उहाँले संविधानले नै नागरिकता पाउनुपर्छ भनेकाहरुको हकमा नागरिकताबाट वञ्चित गर्ने काम अब नहुने जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अर्को महत्वपूर्ण विषय नागरिकताको बारेमा हो । यो देशका सबै वास्तविक नागरिकहरुले नागरिकताको प्रमाणपत्र सहज ढंगले छिटो भन्दा छिटो प्राप्त गर्न पाउनुपर्छ भन्ने पक्षमा सरकार छ । हाम्रो मन्त्रालय छ । अहिले पनि संविधानले नागरिक हक प्रदान गरेको तर संविधानले नै ऐन बनाएर त्यसलाई उपलब्ध गराइनेछ भनेका कारणले र ऐन निर्माणका प्रक्रिया राष्ट्रपतिज्युबाट फर्किसकेपछि कतिपय नागरिकता प्राप्त गर्न पाउने नागरिकहरु नागरिकता प्रमाणपत्रबाट वञ्चित हुनुहुन्छ, त्यसकारणले हामी नागरिकता संवैधानिक रुपले नै पाउनुपर्नेहरुलाई नागकिरता छिटो भन्दा छिटो दिलाउन प्रतिवद्ध छौँ । त्यो अनुसार हामी अघि बढ्नेछौँ । स्वभाविक रुपमा नागरिकताको सवालमा संवेदनशील विषय भएकाले राष्ट्रिय सहमति होस् भन्ने चाहन्छौँ । योसँग जाडिएका कतिपय पक्षहरुलाई भिन्न दृष्टिकोणहरु छन्, यसमा विचारविमर्श गरेर राष्ट्रिय सहमतिको पहल पनि गर्नेछौँ । तर कुनैपनि हालतमा संविधानले नै नागरिकता पाउनुपर्छ भनेकाहरुको हकमा नागरिकताबाट वञ्चित गर्ने काम अब हुँदैन ।’
मन्त्री श्रेष्ठले मिटरब्याजबाट पीडितहरुको समस्या समाधानका लागि अधिकार सम्पन्न आयोग बनाएको उल्लेख गर्दै आयोगले नै अब सबै पीडितहरुका समस्या समाधान गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मिटरब्याजबाट पीडितहरुको उजुरी हेर्न, कसले ठगी गरेको छ, कति ठगी गरेको हो ? भने अनुसारको ठगी हो की होइन ?त्यो ठगलाई कति ठगिएको हो, त्यसबाट पीडितलाई न्याय दिनेकुरामा सिफारिस गर्ने काम सबै विवरणसहित आयोगले काम गर्नेछ । यसलाई निर्णयको रुपमा त सरकारले अर्को प्रक्रियाबाट लागू गर्छ । आयोग भनेको कतिपयले अन्य आयोग जस्तै बुझ्छन् । यो आयोग हरेक मिटरब्याजी पीडितबाट उजुरी लिन्छ, छानबिन गर्छ, बयान लिन्छ र त्यसको आधारमा तथ्यसहित फैसला गर्छ ।’
मन्त्री श्रेष्ठले आम जनताले निर्वाध रुपमा अमनचयन पाउने कुराको सुनिश्चित गर्न चाहेको बताउनु भयो । उहाँले महिला हिंसाको प्रभावकारी नियन्त्रण र हिंसा गर्ने पीडकलाई तत्काल कानूनको कठघरामा ल्याइ दण्डित गर्ने पक्षमा आफू लाग्ने प्रतिवद्धता जनाउनु भयो । लागुपदार्थ दुव्र्यसनीको मात्रा बढेको र दलितमाथिको उत्पीडनका घटनाहरु बढ्दै गएको भन्दै त्यसको नियन्त्रणमा लाग्ने पनि बताउनु भयो । उहाँले सरकारले जेल सुधार अभियान सञ्चालन गर्नेपनि बताउनु भयो । राष्ट्रिय परिचयपत्रको आवश्यक्तालाई पुष्टि गर्नेगरी काम अघि बढाउने पनि बताउनु भयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts