काठमाडौं । उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यका साथ सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० आगामी वैशाख २२ गतेदेखि चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुने भएको छ । चितवन उद्योग संघको आयोजना, नेपाल उद्योग परिसंघको प्रवद्र्धन सहयोग, मिडिया स्पेस सोलुसन्स प्रालि र फुटुरेक्स ट्रेड एण्ड इभेन्ट्सको व्यवस्थापकीय साझेदारीमा वैशाख २२, २३ र २४ गते मेला हुने भएको हो ।
सोमबार नेपाल उद्योग परिसंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीबारे विस्तृत जानकारी दिइएको हो । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेका बेलामा उद्योगी व्यवसायीको मनोबल बढाउनुुपर्ने खाँचो रहेको बताउनुभयो । कठिन परिस्थितिमा समेत चितवन उद्योग संघले गर्ने अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीले उद्योगी व्यवसायीलाई सकारात्मक सन्देश दिने उहाँको भनाइ थियो ।
आयोजक चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले प्रदर्शनी नेपाली उद्यमीलाई नयाँ प्रविधिबारे जानकारी गराउँदै युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, नयाँ उद्यमी जन्माउन सहयोग गर्ने उपयुक्त माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रदर्शनीमा निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इञ्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्ट्रिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फुड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगका उत्पादन र सेवाको प्रदर्शनी हुने उहाँले जानकारी गराउनुभयो । मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी दुई सयभन्दा बढी स्टल रहने आयोजकले जनाएको छ । मेलाका अवसरमा औद्योगिक प्रवद्र्वनका लागि विषय विज्ञको उपस्थितिमा अन्तरक्रियासमेत आयोजना हुनेछ ।
मेलामा सातवटै प्रदेशको पहिचान झल्कने गरी औद्योगिक उत्पादनको स्टल राखिने आयोजकले जनाएको छ । मेलालाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, घरेलु तथा साना उद्योग महासंघ, चितवन तथा छिमेकी जिल्लाका स्थानीय पालिकालगायत उद्योगीका विभिन्न छाता संस्थाको सहयोग रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts