‘विश्वमा मानव सभ्यता, जातीय बृहत् इतिहास : संस्कृति र परम्परा’ खोज-अनुसन्धान कृति ल्याउँदै छु : टिबीचन्द्र सुब्बा

कृष्ण भुसाल
कृष्ण भुसाल
Read Time = 17 mins

सिक्किममा रहेर नेपाली भाषा, साहित्य कला संस्कृतिमा समिर्पित नाम हो टिबीचन्द्र सुब्बा । एक दर्जनभन्दा बढी विभिन्न विधाका कृति पठाकमाझ ल्याउनुभएका उहाँ यतिबेला ‘विश्वमा मानव सभ्यता, जातीय बृहत् इतिहास : संस्कृति र परम्परा’ कृति ल्याउने तयारीमा हुनुहुन्छ । विगत १८ वर्षदेखि निरन्तर खोज र अनुसन्धान गरेर यो कृति पाठकमाझ ल्याउने तयारीमा उहाँ रहनुभएको छ । इतिहासको गर्भमा छुटेका व्यक्तित्व र कृतित्वमाथि खोज-अनुसन्धान हुन बाँकी नै छ भन्नुहुने स्रष्टा टिबीचन्द्र सुब्बासँग हिमालय टाइम्सका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अशं :-

यहाँले लामो समयदेखि खोज अनुसन्धानमूलक कृति निकाल्ने सोचमा लागि परिरहनुभएको थियो, के हुँदै छ यतिबेला ?
हो, तपाईंले भने जस्तै म विगत लगभग १८ वर्षदेखि एउटा खोज अनुसन्धानमा निरन्तर लागिरहेको छु । यसले अब मूर्तरूप पाउन लागेको छ । ‘विश्वमा मानव सभ्यता, जातीय बृहत् इतिहास : संस्कृति र परम्परा’ आउँदै छ । यसका लागि केही शुभकामना र मन्त्वय त्रिभूवन विश्वविद्यालयका विभागीयको समेटौ भनेर यतिबेला काठमाडौंमा छु ।

यो त निकै बृहत् होला होइन, नामबाट नै यो पुष्टि हुन्छ ?
हो, सबै समेट्दा निकै बृहत् छ ।

कहिलेसम्म आउला यो ?
अबको दुई-तीन महिनामा ल्याउने सोचका साथ तीव्र रूपमा अन्तिम चरणको काम भइरहेको छ ।

तपाईंको लेखन यात्राको अभीष्ट के हो ? किन लेख्नुहुन्छ ? केका लागि लेख्नुहुन्छ ? लेखनबाट तपाईंलाई कस्तो अनुभूति हुन्छ ?
मेरो लेखन यात्राको अभीष्ट नै वास्तवमा मेरो हार्दिक अभीष्ट हो । यस अतिरिक्त भनौं भने भाषा, साहित्य र सांस्कृतिप्रति मेरो झुकाव अर्थात् चाहना सीमित नरहेर असीमित रहोस् भन्ने मेरो इच्छा छ । म आफ्नो आत्मसन्तुष्टिको निम्ति लेख्छु, जाति र जातीयताको निम्ति लेख्छु । लेखनबाट मलाई आनन्दानुभूति हुँदा नयाँ कुराहरूको खोजी गर्नु, नयाँ-नयाँ शैलीमा लेखिएका लेख-रचनादि पढ्नु साथै वर्तमान स्थितिमा हाम्रो नेपाली जातिको सोच, बद्लाव, परिवर्तनशील जीवन-शैली इत्यादि सम्बन्धमा अध्ययन गर्न मलाई खुब मन पर्छ ।
साहित्य लेखनको सुरु-सुरुमा मैले कथा, कविता, काव्य, उपन्यास इत्यादि लेख्ने गर्थें । तर, विस्तार-विस्तारै मेरो झुकाव व्यक्तिगत जीवन-अध्ययन तथा जीवनी लेखनतर्फ बढ्न थाल्यो । म चाहन्थेँ, किन कुनै व्यक्तिको योगदान उसको मृृत्युपश्चात् मात्र उल्लेख होस् । जीवनकालमै अथाव, जीवित अवस्थामै उल्लेख गर्न, सर्वसाधारणमा परिचय गराउन उचित होइन र ? जस्तो मलाई लाग्दथ्यो । हुन त नेपाली साहित्य जगत्मा जीवित व्यक्तिको परिचय पहिले-पहिले पनि भएको हुन सक्छ । खुबै कम मात्रामा हुुन सक्छ । सिक्किमेली नेपाली साहित्यमा भने फाट-फुटसम्म पनि जीवनी लेखन अथवा जीवनीपरक कृति छुट्टै रूपमा निस्कन सकेकै थिएन । फलतः यस रिक्ततातर्फ मेरो ध्यानाकर्षित हुन थाल्यो । अनि म जीवनी-लेखनतर्फ लागेँ । यसरी कुनै प्र्रतिष्ठित, सामाजिक अनि साहित्यिक व्यक्ति सम्बन्धमा अध्ययन, मनन्, चिन्तन गर्न अनि ती व्यक्तिको जीवनीलाई आफ्नै शैलीमा आनन्द अनुभव हुन्थ्यो, अझ पनि म त्यस्तो लेख लेख्न थाल्दा आनन्दविभोर भएको आफैंलाई अनुभव गर्दछु । यद्यपि, कुनै लेख-रचनादि लेख्ने इच्छा भएमा त्यस विषयमा वा सम्बन्धित विषयमा अध्ययन गर्न मलाई खूब मन पर्छ । अनि अध्ययनपश्चात् लेख्न पाउँदा त झनै अभीष्ट प्राप्तिकै अनुभूति हुन्छ ।

सिक्किममा सम्पूर्ण जात-जातिहरूले बोल्ने भाषा, मान्ने संस्कृति, परम्परा र जातीय-भाषा-साहित्यको चर्चा-परिचर्चा गर्नुपर्दा यस्तो कुनै पनि क्षेत्र देखिँदैन, जहाँ लोप भन्ने शब्दको उठान हुँदैछ । वर्तमान सरकारको छत्रछायाँमा कतिपय लोप हुन लागेका भाषा, संस्कृति एवं परम्पराहरूको उत्थान हुने कार्य भएकै छ र अझ भइरहेको छँदैछ ।

तपाईंले कविता, कथा र समीक्षाहरू पनि लेख्नुभएको छ । तथापि तपाईं बढी अनुसन्धानतर्फ आकर्षित हुनुहुन्छ । अनुसन्धानलाई नै प्रमुख बनाउनुपर्ने खास कारण छ कि ?
जसरी शिक्षा-अध्ययन अनन्त रहेको छ, साहित्यका विविध विधाहरू पनि त अनन्त नै छन् । कविता, कथा र उपन्यास त मानव समाजका अभिन्न अंगहरू हुन्, अर्थात् यी भित्रै मानव-समाजको प्रतिबिम्ब अडेको हुन्छ । त्यसै आधारमा भन्नुपर्दा मैले स्वयंको जीवनमा भोगेका, अनुभव गरेका साथै कहीँ कतै घटेका घटनाक्रमको परिप्रेक्षमा पनि मैले उक्त उल्लेखित विधामा कलम चलाएको छु ।

ADVERTISEMENT

वास्तवमा भन्नुपर्दा, साहित्यका सबै विधा पढ्न अनि लेख्न मलाई खुबै मन पर्छ तापनि जीवनीपरक लेख र अनुसन्धानमूलक लेखहरूमा मलाई धेरै चासो लाग्छ । मेरो विचारमा अनुसन्धानद्वारा विस्मृतिको गर्भमा भासिन लागेका जाति, जातीय भाषा, संस्कृति, परम्परा, रीति-रिवाज, पारम्पारिक मान्यता र मूल्यको अनुसन्धानात्मक रूप-रेखा तयार गरी त्यही रूप-रेखाका आधारमा नयाँ कृति रचना गरी जातीय अस्तित्वको जातीय चिनारीको संरक्षण भविष्यको पिँढीको निम्ति साँच्न सकौं भनेर अहिलेसम्म गरिएको खोज, अध्ययन, मनन् अनि चिन्तनको आधारमा म भन्न सक्तछु कि प्रारम्भमा हाम्रो जाति पनि कति प्रतिभाशाली, गौरवशाली अनि समृद्धशाली थिए, कालान्तरमा कसरी विस्तार स्व-अस्तित्व, स्व-विचार, स्व-संस्कार र संस्कृतिबाट टाढिँदै गए, अनि केवल अनुसरणमा आकर्षित हुन थाले र विस्तारै जाति-जातीयताबाट भिन्न हुँदै विलिनतातर्फ लम्कन थाले । के कारण ? केका लागि भाषा, साहित्य, संस्कृति र परम्परा थोत्रिएर जान थाल्यो ? गौरवशाली, समृद्धशालीको टोपी त्यागेर किन चाहिँ विलीनतातर्फ बढ्दै हराउन थाल्यो ? इत्यादि विषयमाथि जान्न, खोज्न म ज्यादै आकर्षित छु । त्यसै कारण म वर्तमान स्थितिमा अनुसन्धानतर्फ ज्यादा झुकेको छु ।

भारतीय नेपाली साहित्यमा संलग्न अनुसन्धानविद्को अवस्था कस्तो छ ? भारतमा नेपालीभाषीहरूको गौरवपूर्ण गाथा छ । तथापि इतिहासको गर्भमा छुटेका व्यक्तित्व र कृतित्वमाथि खोज-अनुसन्धान हुन बाँकी छ कि छैन ?
भारतीय नेपाली साहित्यमा संलग्न अनुसन्धानविद्को अवस्था दयनीय छ । वास्तवमा जुनै विषयमाथि अनुसन्धान गर्न परे पनि समय, साथ, प्रशंसा र प्रेरणा अतिरिक्त अर्थको पनि आवश्यकता पर्छ तर त्यही प्राप्त गर्नचाहिँ सजिलै सम्भव छैन । एउटा भनाइ नै छ नि, अहिले चाहिएको प्रत्येक वस्तुहरू किन पाइन्छ तर उपदेशचाहिँ सित्तैमा प्राप्त गर्न सकिन्छ । त्यसैले आजकल उपदेश त ज्यादै पाइन्छ तर चाहिँएको अर्थोक पो पाउन गाह्रो छ, जुन अनुसन्धानकर्ताहरूलाई आवश्यक परेको हुन्छ ।

भारतमा नेपालीभाषी बहुतै छन् । गौरवगाथा धेरै छन् तापनि इतिहासको गर्भमा छुटेका व्यक्तित्व र कृतित्वमाथि खोज–अनुसन्धान हुन बाँकी छ । भारतमा बसेर, भारतका निम्ति मरिमेट्ने नेपालीभाषीहरूको योगदान विस्मृतिको गर्भमा भासिइरहेका छन्, तिनीहरूमाथि खोज र अनुसन्धानको महत्वपूर्ण विषय छुटिरहेकै अनुभव मलाई लाग्दछ ।

सिक्किममा लोप हुँदै गइरहेको जाति, भाषा र संस्कृति कुन क्षेत्रमा रहेको अनुभव गर्नुभएको छ ?
सिक्किममा सम्पूर्ण जात-जातिहरूले बोल्ने भाषा, मान्ने संस्कृति, परम्परा र जातीय-भाषा-साहित्यको चर्चा-परिचर्चा गर्नुपर्दा यस्तो कुनै क्षेत्र देखिँदैन, जहाँ लोप भन्ने शब्दको उठान हुँदैछ । वर्तमान सरकारको छत्रछायाँमा कतिपय लोप हुन लागेका भाषा, संस्कृति एवं परम्पराहरूको उत्थान हुने कार्य भएकै छ र अझ भइरहेको छँदैछ ।

सिक्किमको सांस्कृतिक जागरणमा यहाँका अनुसन्धानकर्ताले कत्तिको उल्लेखनीय उपलब्धि हासिल गरेको जस्तो लाग्छ ?
सिक्किमको सांस्कृतिक जागरणमा यहाँका अनुसन्धानकर्ताले सकेसम्म आ-आफ्नो योगदान पु¥याउने प्रयास गरिरहेका छन् । यद्यपि यस विषयसम्बन्धी विभिन्न जातीय समूहहरूले आ-आफ्ना संघसंस्थाका योजनाद्वारा अनुसन्धानमूलक कार्यलाई दिशा दिने काम गरेका छन् । विभिन्न भाषा-भाषीका समूहले संस्कृतिमूलक कार्य गर्न अग्रसर भइरहेको यो सिक्किम राज्यमा कतिपय लेखकहरूले पनि उक्त विषय सम्बन्धमा कलम चलाउन तत्पर छन् । यसको सन्दर्भमा भन्नुपर्दा कतिपय साहित्यिक संघसंस्थाहरूले आफ्नो मुख-पत्रहरूमा संस्कृति-अंकहरू प्रकाशनमा ल्याएर यसलाई संरक्षण गर्ने काम भइरहेको छ । यति हुँदाहुँदै पनि व्यक्ति अनुसन्धानकर्ताको यस सांस्कृतिक जागरणप्रति जागरुकता बढ्न भने थाती नै रहेको महसुस हुँदैछ । यसै आधारमा भन्नुपर्दा यस क्षेत्रमा कुनै प्रकारको उल्लेखनीय उपलब्धि हासिल गर्न सकिएको छैन ।

तपाईंले जीवनी लेखनका क्षेत्रमा पनि आफ्नो कुशल भूमिका निर्वाह गर्नुभएको छ । सिक्किम भूमिका विभिन्न क्षेत्रमा स्रष्टा-साधकहरूका बारेमा फेहरिस्त तयार पार्नुभएकै होला । कति त ओझेलमै छन्, यसबारे के गर्दै हुनुहुन्छ ?
हुन त अघिबाटै भनिसकेँ कि जीवनी लेखन मेरो रुचि हो । कुनै विशेष व्यक्तिको सामाजिक, साहित्यिक, राजनीतिक तथा धार्मिक-नैतिक योगदानको उल्लेख गर्दै उक्त व्यक्तिको व्यक्तिगत जीवनी, रुचि, कार्यक्षेत्र, पारिवारिक विवरण तथा योगदान सम्बन्धमा लेख्न मलाई आनन्द लाग्छ । वास्तवमा मलाई ती व्यक्तिहरू, जसले आफ्नो समाज, जाति, भाषा, साहित्य एवं संस्कृतिप्रति महत्वपूूर्ण योगदान छोडेर गएका छन्, अर्थात् योगदान पुर्‍याइरहेका छन्, उनीहरूलाई टपक्क चुनेर जीवनी लेखनअन्तर्गत ढालेर व्याख्यान गरी एउटा उदाहरणीय रूपमा अथवा भनौँ रोलमोडलको रूपमा उभ्याउने प्रयास गर्न मलाई इच्छा लाग्छ । मेरो नजरमा यस्ता अझ विशिष्ट व्यक्तिहरू (स्रष्टाहरू) छँदैछन् । जसको बारेमा मेरो सर्वेक्षण जारी नै छ । ओझेलमा रहेकाहरूलाई पनि सकेसम्म प्रयासमा छु कि प्रकाश दिन सकूँ भन्ने ।

तपाईंको पेशा प्रविधिक प्रकृतिको छ । भाषा, साहित्य, संस्कृति र जाति-जनजातिको उत्थानमा समर्पित हुुनुहुुन्छ । यो विरोधाभासपूर्ण स्थितिलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
मेरो पेशा प्राविधिक प्रकृतिको भए तापनि पेशाले मेरो साहित्यिक यात्रामा बाधा पु¥याएको छैन । म आफ्नो भाषा, साहित्य, संस्कृति र जाति-जनजातिको निम्ति समर्पित छु । कारण, म आफ्नो जातीयताप्रति गौरवान्वित छु । भाषा-साहित्य अनि जातीय जागरण र अस्तित्व संरक्षण मेरो धेय हो । त्यसैले म साहित्यिक आधारमभूमिमा कलम चलाउँछु । जति-जति म साहित्यप्रति आकर्षित छु, त्यति नै आफ्नो पेशाप्रति समर्पित र जागरुक रहन्छु अनि रहने प्रयास गरिरहन्छुु । किनभने पेशाले मेरो व्यावहारिक जीवनमा पोषण दिने काम गर्दछ भने साहित्यिक लेखन एवं अनुसन्धान कार्यले आत्मसन्तुष्टिलाई पोषण दिन्छ । त्यसैले हेर्दा र सुन्दामा विरोधाभासपूर्ण स्थिति देखिए, सुनिए तापनि दुवै स्थितिलाई म व्यवस्थापन गर्नमा सदैव तत्पर रहने प्रयास गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?