वायु प्रदुषण बढेपछि विज्ञको सुझावः अनिवार्य मास्कको प्रयोग गरौँ, धुवाँधुलो नबढाऔँ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

काठमाडौं । काठमाडौं विश्वकै बढी प्रदुषण हुने शहरमा पहिलो नम्बरमा पुगेपछि विज्ञहरुले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।

हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यु एयरले काठमाडौंलाई संसारकै प्रदुषित शहरको सूचिको पहिलो स्थानमा राखेको हो । शनिवार साँझबाट काठमाडौं संसारमा नै बढी प्रदुषण भएको शहरमा पहिलो, दोस्रो र तेस्रो स्थानमा घटबढ भइरहेको छ । वायु प्रदुषणहरु बढीरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न विज्ञहरुको सुझाव छ ।

पछिल्लो समय वनमा लागेको डढेलो, भारतको उत्तरप्रदेशमा बालिएको गहुँको भुसको धुवाँको असर काठमाडौंसहित नेपालका विभिन्न शहरहरुमा परेको विज्ञहरुले बताएका छन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा जलवायु तथा विपद् विज्ञ डा.धर्म उप्रेतीले वागमती प्रदेश र वरपरको वनको आगलागीका कारण काठमाडौं प्रदुषित शहरमा पहिलो नम्बरमा परेको बताउनु भयो ।

उहाँले प्रदुषण बढ्नुमा आगलागी र सडकको धुवाँधुलो प्रमुख कारण रहेको बताउनु भयो । विज्ञ उप्रेतीले नेपालमा अहिले पश्चिमी वायुको प्रभाव कम रहेकाले पनि हावा वहन नपाएको र हावा नबहँदा उपत्कामा प्रदुषण बढेको बताउनु भयो । आजबाट नै पश्चिमी वायु नेपालमा प्रवेश गर्ने भएपनि प्रदुषण हट्न भने अझै केही दिन लाग्ने बताउनु भयो । उहाँले अहिले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले तोकेको भन्दा २२ गुणा बढी प्रदुषण काठमाडौंमा रहेको उल्लेख गर्नुभयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘हिजो साँझ काठमाडौं संसारकै पहिलो प्रदुषण बढी भएको शहरमा मापन भएको थियो । आज बिहान बंगलादेशको ढाकामा सरेको छ । फेरि बेलुकासम्म काठमाडौं हुनसक्छ । समग्रमा अहिले प्रदुषण सबैभन्दा बढी हुने दक्षिण एशियामा हो, त्यसमा सबैभन्दा बढी भारतमा १० वटा शहर पर्दछ । हामीकहाँ कहिले काहीँ केही कारणले सर्छ र हामी पनि पहिलोमा पर्छौं । अहिले वनमा आगो लागेको छ, यो पनि एउटा प्रमुख कारण हो । वनमा अहिले आगलागी भइरहेको छ, वागमती प्रदेश र वरपरको वनको आगलागी हो र भारतको बिहार उत्तरप्रदेशमा बालिएको आगोले हो, गहुँको भुस वा केही जलाउन बालेको आगोले हो । एउटा पीएम २.५ भन्ने पार्टीकुलेट म्याटरको कन्सलटेसन हावामा बढाउने माध्यमको रुपमा एउटा आगो हो । एउटा सडकबाट उड्ने धुलोका कारण हो । सवारीसाधनको धुँवा पनि हो । अर्को नेपालमा अहिले पश्चिमी वायुको प्रभाव कम छ । वायु चलेन भने काठमाडौंमा प्रदुषण रहीरहन्छ । त्यसको असर अहिले काठमाडौंमा छ । आजैबाट पश्चिमी वायु नेपाल प्रवेश गर्दैछ र पनि अझै दुई दिनसम्म यस्तो अवस्था भइ नै रहन्छ । पश्चिमी वायुको असर काठमाडौंमा हुन्छ र यसले केही राहत दिन्छ । विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा २२ गुणा बढी प्रदुषण काठमाडौंमा बसेको छ, यो हिजो २५ गुणा बढी थियो । एउटा कुरा हामी सबैले गर्नुपर्ने र सरकारले पनि आग्रह गर्नुपर्ने कुरा मास्कको प्रयोगलाई अनिवार्य गर्नुपर्छ, थोरैमा एक महिनासम्म । सडकमा धुलो छ, की त्यहाँ पानी छरौँ, की कालोपत्रे गरौँ । सकिँदैन भने धुलो उडाउने काम बन्द गरौँ । प्रदुषण छ र अझै केही दिन रहीरहन्छ । एक, दुई दिनमा घट्छ तर फेरि आउँछ । किनभने यस पटक हिउँदे वर्षा भएन, अब वर्षे वर्षा हुने हो, त्यो पनि औषत भन्दा कम हुँदैछ । प्रदुषणमात्रै होइन, गहुँ भित्र्याउँदादेखि भुस पोल्ने क्रम बढ्दै जान्छ, पश्चिमी वायु कमजोर हुँदै जाँदा प्रदुषणको मात्रा झनै बढ्नेवाला छ । केही दिनको लागि धुँवा निकाल्ने सवारी साधन र मापदण्डबाहिरका सवारी साधन छन्, ती सवारीसाधनहरुलाई केही दिन कम गर्नुपर्छ र वा बन्द नै गर्नुपर्छ । यसले ब्लड प्रेसर बढाउँछ, मुटुको समस्या हुने, हामीले दिनदिनै विष खाइरहेका छौँ, यसबारे सचेत हुनुपर्छ ।’

जलवायु तथा विपद् विज्ञ उप्रेतीले प्रदुषणबाट बच्नका लागि सरकारले आम नागरिकहरुलाई मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले केही दिनको लागि धुँवा निकाल्ने सवारी साधन र मापदण्ड पालना नगरेका सवारीसाधन सञ्चालन गर्न नदिन सरकारसँग आग्रह गर्नुभयो ।

उहाँले सडक निर्माणका क्रममा सडक अलपत्र बनाइँदा धुवाँ र धुलो धेरै भएकाले सडक कालोपत्रे गर्न र कालोपत्रे गर्न नसके सडक भत्काउने काम बन्द गर्नुपर्ने बताउनु भयो । वायु प्रदुषण्का कारण ब्लड प्रेसर बढ्ने, मुटुको समस्या, क्यान्सर लगायतका समस्याहरु बढ्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *