म्याग्दी । विगत केही दिनयता म्याग्दीको बेनी नगरपालिका-२ ज्यामरुककोटको सल्लेरी र छिमेकी जिल्ला पर्वतको जलजला क्षेत्रको जंगलमा लागेको डढेलोले वायुमण्डल धुँवामय बनेको छ ।
डढेलोले एकातिर वन विनाश गरेको छ भने अर्कोतिर वातावरणलाई नै प्रदूषित गरेको छ । केही दिनयतादेखि लागेको डढेलोले म्याग्दीको सदरमुकाम बेनी र आसपास क्षेत्रमा बाक्लो तुवाँलोले ढाँकेको छ । धुवाँ र धुलोका कारण वातावरण प्रदूषित भएकाले जिल्ल्लामा श्वासप्रश्वास र आँखाका विरामीहरु बढेका चिकित्सकहरुले बताएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले विभिन्न वन क्षेत्रमा लागेको डढेलोका कारण आकाशमा धुँवाले ढाक्दा आँखा पोल्ने समस्या भएका र श्वासप्रश्वासका विरामीहरु बढेका बताउनुभयो । धुँवाका कारण आँखा पोल्ने, श्वासप्रश्वासमा समेत समस्या उत्पन्न भएको उहाँको भनाइ छ ।
बेनी अस्पतालमा साविकको भन्दा बढी श्वासप्रश्वास, आँखाका समस्या र रुघाखोकी,ज्वरो लगाएतका मौसमजन्य रोगका विरामीहरु आउन थालेका बेनी अस्पतालले जनाएको छ । फागुनसम्म दैनिक सरदर एक सयको हाराहारीमा विरामीहरु आउने गरेकामा चैत दोस्रो सातायता डेढसय भन्दा बढी बिरामीहरु उपचारका लागि आउने गरेका र ती मध्ये अधिकांश विरामीहरु रुघाखोकी,ज्वरो,श्वासप्रश्वास र आँखा पोल्ने रोगका हुने गरेका अस्पताल विकास समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।
त्यसैगरी ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरुमा पनि मौसम परिवर्तन र वायु प्रदूषणका कारण विरामीहरुको संख्या बढेको छ । बेनी नगरपालिका-२ ज्यामरुककोटको स्वास्थ्य संस्थामा दैनिक ४० जना भन्दा बढी श्वासप्रस्वास र मौसमी रुघाखोकीका विरामीहरु उपचारका लागि आउने गरेका स्वास्थ्यकर्मी चन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।
मानिसहरुको आफ्नै लापारबाहीका कारण डढेलोका घटनाहरु भएका पाइएको छ । “चरिचरन वा बाली लगाउन जमिन तयार गर्न स्थानीयले सुक्खा मौसममा जंगल आसपास डढेलो लगाउने प्रचलनले आगलागीका घटना बढिरहेका हुन्” जिल्ला वन डिभिजन कार्यालय म्याग्दीका नि.प्रमुख चन्द्रमणी सापकोटाले भन्नुभयो “डढेलोले गर्ने असरबारे जनचेतना नहुँदा सानो फाइदाका लागि पनि डढेलो लगाउने र जसले गर्दा मानव स्वास्थ्यमा असर पर्नुका साथै वातावरणीय क्षति भइरहेको छ ।”
अहिले धेरैजसो वनमा डढेलो लागेको छ । पहाडी क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न मुस्किल देखिएको छ । सामुदायिक वन क्षेत्रमा लागेको आगो नियन्त्रणका लागि वन समूहले प्रयास गरे पनि ढडेलोबाट वन जोगाउन भने सकेका छैनन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा