ढाका श्रेष्ठ रास्वपाबाट निष्कासित, विन्दबासिनीलाई सांसद बनाउने निर्णय

दुर्गा प्रसाईंसँग ढाकाले रकम मागेको पुष्टि भयो : सभापति लामिछाने

नारायण भण्डारी
नारायण भण्डारी
Read Time = 8 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । बुधबार साँझ बसेको पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठको ठाउँमा बिन्दवासिनी कंशाकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी सभापति रवि लामिछानेका अनुसार अनुशासन तथा आचरण समितिको सिफारिस एवं विधानविपरीत काम गरेको भन्दै कारबाही गरेको जानकारी दिनुभयो । समानुपातिक सांसद श्रेष्ठको पद पनि खारेज हुने भएकाले नयाँ सांसदमा बिन्दावासिनी कंशाकारलाई सिफारिस गर्ने निर्णय भएको लामिछानेले जानकारी दिनुभयो । रास्वपा केन्द्रीय सदस्यले नयाँ सांसदमा कंशाकारलाई निर्वाचित गर्नका लागि निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो ।

लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग रकमका लागि मोलमोलाई गरेको पुष्टि भएको बताउनुभयो । उहाँले ढाकाले गरेको रकम बार्गेनिङ प्रकरणको अनुसन्धान अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने बताउनुभयो । ‘ढाकाजीले दुर्गा प्रसाईंसँग रकम मागेको कुरा पुष्टि भयो । उहाँलाई पार्टी साधारण सदस्य र सांसद पदबाट हटाउने निर्णय भएको छ’ उहाँले भन्नुभयोे, ‘अब यो प्रकरणको अनुसन्धानका लागि अख्तियारलाई जिम्मा लगाउँदै छौँ ।’

लामिछानेले समितिसँग श्रेष्ठले दिएको बयान विरोधाभासी रहेको र स्थिर नरहेको बताउनुभयो । लामिछानेले भन्नुभयो, ‘उहाँको कुरामा स्थिरता देखिएन । कोर टिमबारे उहाँले प्रष्ट पार्नुभएको छैन । मलाई सिध्याइयो भने छाड्दिनँ पनि भन्नुभएको छ । उहाँ बार्गेनिङ प्वाइन्टमा आउनुभएको छ । उहाँले अडिओ मेरो होइन भन्नुभएको छ फेरि अर्कोतिर मलाई सक्ने हो भने नामै लिएर कोर टिमको कसैलाई छाड्दिनँ पनि भन्नुभएको छ । उहाँले भोलि प्रमाणसहित आए जो भए पनि कारबाही हुन्छ नत्र भोलि जसको पनि नाम लिन सक्नुहोला ।’ सभापति लामिछानेले छानविन समितिमा ढाकाले दिएको बयानका आधारमा उनी दोषी देखिएको बताउनुभयो । उनले आफू डुबेमा पार्टी नै डुबाइदिन्छु भन्दै छन् भन्दै उहाँले बोली परिवर्तन गरेकाले भोलि जसको पनि नाम लिन सक्ने बताउनुभयो । लामिछानेले भन्नुभयो, ‘उहाँले दिएको सबै बयान हामीले रेकर्ड गरेका छौँ । सांसद पद खारेज नगरियोस्, खारेज गरे म जसको नाम लिन सक्छु, सिध्याइदिन्छु भन्नुभएको छ ।’

ADVERTISEMENT

यसअघि गत आइतबार श्रेष्ठले मन्त्री बन्नका लागि सभापति रवि लामिछानेको कोर टिमलाई दिनका लागि पैसा चाहिने भन्दै प्रसाईंसँग पैसा मागेको अडिओ सार्वजनिक भएको थियो । उक्त अडिओ सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो भने छानविन गर्न समिति बनाएको थियो । उक्त समितिले मंगलबार श्रेष्ठको बयान लिएको थियो । समितिले आफ्नो प्रतिवेदन बुझाएको थियो । श्रेष्ठको ठाउँमा रास्वपाले अब अर्को व्यक्तिलाई समानुपातिक सांसद बनाउन पाउँछ । रास्वपाले बिन्दवासिनी कंशाकारलाई समानुपतिक सांसद बनाउने निर्णय पनि गरेको छ । उहाँ एसिड आक्रमण पीडितसमेत हुनुहुन्छ । मंसिर ४ मा भएको चुनावमा समानुपातिकतर्फ रास्वपाका १४ सांसद निर्वाचित भएका थिए ।

घुस काण्डबारे ढाका कुमारको दुईथरी अभिव्यक्ति
मन्त्री बन्न घुस मागेको अडियो सार्वजनिक भएपछि निलम्बनमा पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद ढाकाकुमार श्रेष्ठले आपसमा बाझिने अभिव्यक्ति दिनुभएको छ । पार्टीको केन्द्रीय समिति बैठकपछि पत्रकारमाझ प्रस्तुत हुनुभएका उहाँले सुरुमा आफ्नोे अडियो नक्कली भएको बताउनुभयो । ‘उपचुनाव र मेरो पनि आफ्नो मान र प्रतिष्ठालाई आघात परेको छ । यो अडियो खासगरी अहिले जसले पनि जहाँ पनि र जसरी पनि बनाउन सकिने एउटा मिडिया हो । इडिटिङ गर्न सकिन्छ । मेरो अहिले बोलेको भ्वाइस फेरि अर्को तरिकाले मोडेर पनि, इडिटिङ गराएर पनि बाहिर ल्याउन सकिन्छ । यो अडियो खास अथेन्टिक होइन । ह्वाट्स एपमा कुरा गरेको भनिएको छ । मेरा कुराहरू कहाँकहाँबाट जोडिएर अहिले यसरी मिडियामा आएको छ । योप्रति म खेद प्रकट गर्न चाहन्छु’, पत्रकार सम्मेलनमा आफूलाई निर्दोष देखाउने प्रयास गर्दै उहाँले भन्नुभयो ।

तर, उहाँले बोल्दै जाँदा चिप्लिएर जनवरी/फेब्रुअरीको अडियो चुनावको मुखमा ल्याइएको भन्दै आफ्नै प्रष्टीकरणलाई खण्डन गर्ने काम गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो अडियो केही पनि होइन । यो फसाइएको हो । सुनियोजित हो । जनवरी फेबु्रअरीमा भएको अडियो अहिले ल्याएर हाल्नु भनेको एउटा सुनियोजित किसिमले हाम्रो पार्टीलाई चारैतिरबाट प्रहार गरेको हो ।’ आफूमाथि लागेको आरोपबारे छानविन गर्न पार्टीले निलम्बन गरेको विषयलाई स्वागत गरेको उल्लेख गर्दै सांसद श्रेष्ठले अदालतबाट ‘क्लिन चिट’ लिएर फेरि राजनीतिमा सक्रिय हुने बताउनुभयो । आफ्नोे कारणले गर्दा उपनिर्वाचनमा पार्टीलाई असहज परिस्थिति बनेको भन्दै उहाँले क्षमा पनि माग्नुभएको छ । ‘म न्यायालय गएर मेरा सम्पूर्ण कुराहरू न्यायालयमा प्रस्ट पारेर क्लिन चिट ल्याएर तपाईंहरूमाझ फेरि प्रेसमिट गर्नेछु । मेरा कारणले उपनिर्वाचनमा पार्टीलाई अप्ठ्यारो परेको छ । त्यसका लागि क्षमाप्रार्थी छु,’ उहाँले भन्नुभयो । माघ १ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ माग गरेको भनिएको अडियो चैत २६ मा सार्वजनिक भएको थियो । सो सम्बन्धमा पार्टी केन्द्रीय समितिको बैठक बसिरहेको बेला श्रेष्ठले पत्रकार सम्मेलन गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?