संक्रमणकालीन विधेयकलाई सहमतिमा टुंग्याउन पहल

एमालेलाई पनि सहमतिमा ल्याउने प्रधानमन्त्रीको तयारी

यज्ञराज पाण्डे
यज्ञराज पाण्डे
Read Time = 6 mins

काठमाडौं । प्रमुख तीन दलले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई सहमतिमा टुंग्याउन पहल थालेका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रले संसदमा रहेको संक्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई सहमतिमा पारित गर्न आपसी छलफल थालेका हुन् । उक्त विधेयकलाई टुंगोमा पुर्‍याउने विषयमा मंगलबार बालुवाटारस्थित सभामुख देवराज घिमिरेको निवासमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो ।

बैठकमा विधेयकका सम्बन्धमा कसरी अगाडि बढ्ने र कुन प्रक्रियाबाट विधेयकलाई पारित गर्ने भन्ने विषयमा छलफल भएको एमालेका प्रमुख सचेतक पदम गिरीले बताउनुभयो । यद्यपि, दलहरू बीचमा सहमति जुटिनसकेकाले आगामी बैठकमा सहमतिका लागि प्रयास गरिने उहाँको भनाइ छ ।

बैठकमा संसद्को संयुक्त समिति र विषयगत समितिलाई छिटोभन्दा छिटो पूर्णता दिने विषयमा पनि छलफल भएको छ । यी दुवै विषयको टुंगो लगाउन आगामी वैशाख १ गते दिउँसो १ बजे सिंहदरबारमा पुनः बैठक बोलाइएको प्रमुख सचेतक गिरीले बताउनुभयो ।
कांग्रेस सांसद ईश्वरी न्यौपानेले सबै विषयहरूलाई सहमतिमा टुंग्याउने प्रयास भएको बताउनुभयो । मंगलबार समय अभावका कारण निर्णय हुन नसकेकाले फेरि बैठक बस्ने उहाँको भनाइ छ । ‘सहमतिबाटै टुंग्याउने भन्ने किसिमको कुराहरू भइराखेको छ । तर, समय अपुग भयो । त्यसले गर्दा अर्को दिन बस्ने सहमति भएको छ,’ उहाँले भन्नुभयो ।

बैठकमा सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्तारूढ दल कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित हुनुहुन्थ्यो । यस्तै, एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपानेको पनि सहभागिता थियो । यसैगरी, महान्यायाधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा सहभागी हुनुभएको थियो ।

‘सबै दलको सहमतिमा संक्रमणकालीन न्याय टुंग्याउने तयारी छ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै दलको सहमतिमा संक्रमणकालीन न्याय टुंग्याउने तयारी गरिएको बताउनुभएको छ । माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सिंहदरबारमा सम्बोधन गर्दै प्रचण्डले सबै दल मिलेर संक्रमणकालीन न्याय टुंग्याउन लागिएको बताउनुभएको हो । तर, प्रधानमन्त्री प्रचण्डले भने संक्रमणकालीन न्याय निरूपण (टिआरसी) सम्बन्धी विधेयकलाई टुंगोमा पु¥याउन मंगलबार बसेको बैठकमा पनि सहमति नजुटेको बताउनुभयो । मंगलबार संसदीय दलको बैठकमा सांसदहरूलाई ब्रिफिङका क्रममा उहाँले सहमति जुट्न नसकेकाले अब वैशाख १ गते फेरि बसेर टुंगोमा पु¥याइने बताउनुभएको हो ।

ADVERTISEMENT

‘संक्रणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पु¥याउने प्रयासमा सहमति हुन सकेन । बैठकमा कुरा नमिलेकाले फेरि वैशाख १ गते बस्ने कुरा भएको छ’, उहाँले भन्नुभयो, ‘हामीले संक्रणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्‍याउन दुईवटा प्रस्ताव अन्य दलहरूसँग अघि सारेका छौँ ।’ दाहालका अनुसार बैठकमा माओवादीको तर्फबाट टिआरसी टुंग्याउने प्रस्तावको कन्टेन्टमा सहमति गरेर जानुपर्ने पहिलो प्रस्ताव गरिएको छ ।

‘संक्रमणकालीन न्याय सकेसम्म सहमतिमा टुंगो लगाउने तयारी छ । विवाद र असमझदारीबाट टुंगो लगाउन गाह्रो हुन्छ । सबै दलको सहमतिमा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुपर्छ’ प्रधानमन्त्री प्रचण्डको भनाइ छ, ‘संक्रमणकालीन न्याय माओवादीको मात्रै होइन यो राज्यको समेत दायित्व हो । त्यसैले सबै राजनीतिक सहमतिमा शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनुपर्छ ।’ जनयुद्धकालीन मुद्दा टुंगो लगाउने विषयमा पार्टीका नेताहरूले समेत रचनात्मक रूपमा भूमिका खेल्नुपर्ने प्रचण्डको भनाइ छ ।

‘प्रस्तावक कन्टेन्टमा पनि अहिल्यै सहमति गरेर जाऊँ भन्ने हाम्रो प्रस्ताव छ’, प्रचण्डले भन्नुभयो, ‘हाउसमा प्रक्रियागत रूपमा जान पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई सहमत गराउने गरी अर्को प्रस्ताव पनि राखिएको छ ।’

मंगलबार बालुवाटारमा शीर्षस्थ नेताहरूबीच भएको छलफलपछि माओवादी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले वैशाख १ गते शीर्ष तहमा छलफल गरेर संक्रमणकालीन न्यायका विषयमा समझदारी गरेर जाने तयारी भएको बताउनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?