विद्यालयको दिवा खाजाका लागि उपयुक्त रैथाने बालीका परिकार

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । म्याग्दीका ग्रामीण क्षेत्रहरुमा उत्पादन हुने कोदो,मकै, फापर,सिमी,बोडी, मस्याङ, उवा, जौ लगायतका रैथानेबालीहरुमध्ये कतिपय वालीहरु मदिरा उत्पादनमा प्रयोग भइरहेका छन् । कोसेबालीहरु बजार अभावको कारण सस्तोमा विक्री गर्न किसानहरु वाध्य छन् ।

जिल्लाका स्थानीय तहहरुले स्थानीय तथा रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गरी किसानलाई प्रोत्साहन गर्ने नीति पनि लिएका छन् । तर,नीतिअनुसारको कार्यान्वयनको अवस्था भने कमजोर देखिएको छ । रैथाने बालीको सर्वोत्तम प्रयोग विद्यालयको दिवा खाजामा हुन सक्ने भएपनि यहाँका स्थानीय तह र विद्यालयहरुको ध्यान जान भने सकेको छैन ।

विद्यालयहरूमा बाँडिने दिवा खाजामा गाउँमै फलेका अन्नबालीको प्रयोग गर्न आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । नेपाल शिक्षक संघ म्याग्दीका भूतपूर्व अध्यक्ष दुर्गाराम सुवेदीले विद्यार्थीहरुलाई पौष्टिक आहार पनि हुने र किसानले आफूले गरेको उत्पादनको राम्रो मूल्य पनि पाउने भएकोले विद्यालयहरुमा दिइने खाजाका परिकारमा स्थानीय बालीहरुको नै प्रयोग हुनुपर्ने बताउनुभयो ।

विद्यालयहरुको दिवा खाजामा कोदो‚ मकै र फापरको ढिंडोका साथै सिमी, बोडी, मस्याङका परिकार पनि समावेश गरी साताको एक दिन अनिवार्य रूपमा स्थानीय बालीको परिकार दिन सक्ने हो भने रैथाने वालीको सम्मान र बालबालिकाहरुमा पौष्टिक तत्वको विकास दुवै गर्न सकिने उहाँको भनाइ थियो ।

स्थानीय तहले आफ्नो क्षेत्रका विद्यालयमा वितरण गरिने दिवा खाजामा अनिवार्य रुपमा स्थानीय रूपमै उत्पादित कोदो‚ मकै र फापर‚ सिमी, बोडी, मस्याङ लगायत बालीको परिकार समावेश गर्नुपर्ने निर्णय गरेर विद्यालयहरुलाई जानकारी गराइ विद्यालयका कर्मचारी वा शिक्षकहरुका लागि स्थानीय परिकारको खाजा बनाउने तालिम दिन सक्ने हो भने विद्यालयको दिवा खाजामा रैथाने उत्पादनको परिकार वितरण गर्न समस्या नहुने विद्यालयका प्रधानाध्यापकहरुले बताएका छन् ।

ADVERTISEMENT

बेनी नगरपालिका १ रत्नेचौर स्थित भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक भरत खत्रीका अनुसार नगरपालिकाको कृषि समितिले स्थानीय उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण गरेर सोही बजेटको परिधिमा रही रैथाने उत्पादनको खाजाका परिकार बनाउने व्यवस्था मिलाइदिए विद्यालयमा स्थानीय उत्पादनबाट विद्यार्थीहरुलाई दिवा खाजा खुवाउन सकिने बताउनुभयो ।

नगरपालिकाले विद्यालयका प्रतिनिधिहरुलाई सहभागि गराएर कोदो, मकै, फापरका ढिंडो लगायत परिकार बनाउने तालीम दिने हो भने नगरपालिकाका सबै विद्यालयले रैथाने उत्पादनका कृषि उपजहरुबाट विद्यार्थीहरुलाई खाजा खुवाउन सक्ने उहाँको भनाइ थियो ।

स्थानीय स्तरमा उत्पादन हुने कोदो,गहुँ,मकै र फापरका हलुवा, रोटी,वारा,चटामरी,सातु आदि परिकार वनाएर विद्यार्थीहरुलाई दिवा खाजा खुवाउन सके विद्यार्थीहरुको शारीरिक र मानसिक विकास हुनुको साथै स्थानीय कृषकहरुलाई आफ्ना रैथाने कृषि उपजहरुको विक्री वितरणमा पनि समस्या नहने जिल्लाका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो ।

म्याग्दीका ६ वटा स्थानीय तहका २ सय ३३ सामुदायिक विद्यालयहरुमा अध्ययनरत करिव १५ हजार विद्यार्थीहरुमध्ये बालकक्षा देखि कक्षा ६ सम्मका विद्यार्थीहरुलाई संघीय सरकारले चालु आर्थिक वर्षमा दिवा खाजाका लागि रु ५ करोड २२ लाख रुपैयाँ विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?