तीतामीठा सम्झनामा स्कुल कलेज

Read Time = 9 mins

✍️ प्रतिभा शर्मा (रेग्मी)

स्कुल जहाँ मेरो मन कहिल्यै रमेन । हो हजुर स्कुलमा मेरो मन कहिल्यै रमेन । पहिलै दिन जब म मेरो बुबाको हात समातेर घरनजिकैको श्री पाँच रत्नराज्य लक्ष्मीदेवी मध्यमिक विद्यालय पुगे म्यामले भन्नुभयो ‘पढेन भने त म पिट्छु नि’ मेराआँखाबाट बरर आँसु झरे । भूइँमा सुकुल बिछ्याइएको कक्षामा बसेर मेरो अध्ययन प्रारम्भ भयो, कक्षा तिनमा पढ्दा बाहिर चर्को घाममा कुखुरा बन्नु परेको स्मरण छ । कक्षा पाँचमा सुशील सरले बेञ्चमा उभ्याएर नुन खाएको कुखुरा भन्नुभएको सम्झना छ । कक्षा सातमा पनि कक्षा कोठाबाहिर गएर उठबस गर्ने सजाय कृष्ण पाण्डे सरबाट पाएको थिएँ । कक्षा नौ र दश त झन् भयंकर त्रासदिपूर्ण थिए ।

एकातिर हातमा मोटो लौरो लिएर कक्षा कोठामा प्रवेश गर्ने गौरीशंकर घिमिरे सरको डरको सामन गर्नुपथ्र्यो भने अर्कातिर धेरै बेर हात झम्झम पार्ने खिरिनो लठ्ठी लिएर कक्षा कोठा प्रवेश गर्ने शेषमणि सरको डरको सामना गर्नुपथ्र्यो । किनकि पढाइमा म एकदम कमजोर थिएँ । झन् हिसाब ! ‘हिसाब भनेपछि पिसाब, सूत्र भनेपछि मूत्र ‘यही उखान जस्तै थियो मेरो अवस्था । पढाइमा कहिल्यै पनि ध्यान नै जाँदैनथ्यो । केही न केही कुरा मेरो दिमागमा चलिरहन्थ्यो ।

क्याम्पस जीवन जहाँ म स्वतन्त्र पक्षी थिएँ । म स्वत्रन्त पक्षी थिएँ किनकि त्यहाँ न गृहकार्यको कुनै बोझ मेरो काँधमा थियो न त सर अनि म्यामको हातको लठ्ठी खानुपर्ने पीडा मैले भोग्नुप¥यो । फलस्वरूप मेरो मस्तिस्क सिर्जनात्मक हुन थाल्यो ।

गुणराज सर जसले मेरो पाँच पाँच विषय लाग्दा पनि मलाई गाली गर्नु त परै जावोस्, साथीहरूलाई थाहा नहोस् भनेर अफिसमा बोलाएर मलाई मेरो मार्कसिट देखाउनुभयो । हजुर जहाँ भए पनि मेरो नमन छ गुणराज सर । शेषमणि सरको खिरिनो लठ्ठीको कोमल स्पर्श यी हातले धेरै खाए । कक्षा नौसम्म त हिसाबमा विषय लागे पनि कक्षा चढ्दै गएकी म कक्षा दशमा विषय लगेकाले मैले कक्षा दश डब्ल्याउनु प¥यो । गौरीशंकर सरले मलाई माथि अफिस कोठामा बोलाउनुभयो । मेरा गरेका गल्तीहरू देखाउनुभयो र भन्नुभयो ‘यो वर्ष पनि फेल हुन्छेस्’ मेरा आँखाबाट बररर आँसु झरे ।

ADVERTISEMENT

स्कुल जीवनभरि नै जब उज्यालो हुन्थ्यो मलाई चिन्ता लाग्थ्यो किनकि मलाई स्कुल जानुपथ्यो । जब म स्कुल जाँदै हुन्थे बाटामा हिँडेका अरू मान्छेहरूलाई हेर्दै सोच्दथे ‘यी मान्छेहरू कति भाग्यमानी छन्, यिनीहरूलाई स्कुल जानुपरेको छैन’ जब स्कुलको छुट्टीको घण्टी लाग्थ्यो मेरो खुशीको सीमा नै हुँदैनथ्यो । यस्तो लाग्थ्यो कि म कुनै कारागारबाट उम्किएको कैदी हुँ । म केही बोल्दिनथेँ । चुपचाप बस्ने स्वभावको कारणले मैले ठूलो मूल्य चुकाउनु पर्दथ्यो । किनकि स्कुलका धेरै वर्ष मैले स्कुलमा एक्लै साथीविहीन भएर बिताएँ । कक्षा सातमा आफ्नी साथी स्कुल नआउँदा उनको घरसम्म जान आउन गर्जो टार्ने साथी कल्पना कक्षा दश डबल्याउँदा फुल टाइम साथी बनिदिएर गुन लगाइन् ।

कक्षा नौमा र दशमा रचना अधिकारी साथी बनिन् हामी दुईको । घर नजिक नजिकै भए पनि जसै कक्षा दस टुङ्गियो हाम्रो मित्रता पनि टुङ्गियो । कक्षा सातमा बनेकी साथी उषासँगको साथ मितिनीसम्म पुग्यो र चाँडैनै छुट्यो पनि । म यति चुपचाप बस्थेँ कि मेरो हल्लिएको एउटा बँगारा दाँत झर्दा पनि शिक्षकलाई पनि केही केही भन्न सकिन । स्कुल जीवनको एघार वर्ष यसरी बिते कि मेरा लागि एघार दशकभन्दा पनि बढी थिए ।

यी प्रसंगबाट अलग थियो एउटा विशेष नाम रश्मि म्यामको नाम किनकि उहाँको शब्दकोशमा सजाय भन्ने शब्द नै थिएन । मैले एघार वर्ष मिहिनेत गरेर कमाएको ८७ नम्बरभन्दा प्यारो मेरा लागि केही पनि भएन । राधिका म्याम हजुरले सिकाउनु भएको गृहविज्ञान कपडा उध्रदा टाँक फुस्किँदा काम आएको छ । क्याम्पस जीवन जहाँ म स्वतन्त्र पक्षी थिएँ । म स्वत्रन्त पक्षी थिएँ किनकि त्यहाँ न गृहकार्यको कुनै बोझ मेरो काँधमा थियो न त सर अनि म्यामको हातको लठ्ठी खानुपर्ने पीडा मैले भोग्नुपर्‍यो । फलस्वरूप मेरो मस्तिस्क सिर्जनात्मक हुन थाल्यो । मीनभवनस्थित नेपाल कमर्स क्यम्पस खद्दरको धोती लगाउनुपर्ने । पहिलो दिन कलेज जाँदा बाटाभरि धोती फुस्केला झैँ लागेर बाटाभरि दिदी पनि त्यही कलेजमा पढ्ने हुँदा दिदीसँग कराएको करायै गरेँ । दिदीले बरम्बार फुस्किँदैन भन्दै सम्झाउनुभयो । कलेजको वातावरणले मेरो सिर्जनात्मक दक्षतालाई निखार्‍यो ।

देवेन्द्र दाइले सिर्जना नामक आफ्नो प्रतिभा प्रस्तुत गर्ने भित्तामा बनाइएको प्लेट्फारममा मेरा कविताहरू छापिदिनु हुन्थ्यो । म कहिले कयाम्पस ड्रेसमा गोरखापत्र संस्थान पुगेकी हुन्थेँ । कहिले साप्ताहिक विमर्श । आफ्ना सिर्जना छापिँदाको खुशी त छँदैछ । पारिश्रमिक पाउँदाको खुशी वयान गरी नसक्नुको हुन्थ्यो । एकातिर प्रकाशनगृहतिरको पारिश्रमिक अर्कोतिर एफएमतिर मेरा सिर्जना प्रसारित हुनुका साथै विभिन्न कार्यक्रम्मा पाएका पुरस्कार । मेरा दुई हातमै लड्डु हुन्थ्यो । कलेज जीवन बितेको बीसौं वर्ष बितिसक्दा पनि अझै कलेजका दिनहरू सपनीमा आउँछन् । म एति रोमाञ्चित बनेकी हुन्छु कि वयान गर्न कुनै शब्द नै हुँदैनन् ।

त्यति बेला मेरो चुइगम चबाउने बानी थियो । अचेल फेरि चुइगम चपाउने बानी परेको छ । फ्राइडे आएपछि । मैदा उमाल्यो, धोती भिजायो, धोती आइरन गर्‍यो । पुसमाघको जाडोमा समेत महिनैपिछ्ये कपालमा रातो मेहन्दी, खुट्टामा ब्लक हिल सुज । सुन्दर बन्न चाहनु । अनि अनुहारमा सधैं आत्मविश्वासको मुस्कान । त्यसैले त भन्दै छु कलेज जहाँ म स्वतन्त्र पक्षी थिएँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *