छिमेकीको हेपाहा प्रवृत्ति

Read Time = 16 mins

✍️ श्रीमननारायण

नेपाल आफैंमा एक सार्वभौम राष्ट्र हो । यसको आफ्नै अस्तित्व र अस्मिता रहेको छ । भौगोलिक रूपमा यो सानो देश भए पनि आफ्नो विविधता, सौन्दर्य र प्राकृतिक संशाधनहरूका कारण आफ्नो छुटै मौलिकता पनि बोकेको छ । सनातन हिन्दू धर्म संस्कृतिका अनुयायीहरूको बाहुल्य रहेको नेपाल डेढ दशकअघिसम्म विश्वको एकमात्र हिन्दू राष्ट्रको पहिचान बोकेको थियो । राजनीतिक दूरदर्शी र चिन्तनको अभावका कारण क्षणिक आक्रोशमा आएर बिना कारण देशलाई धर्मनिरपेक्ष घोषित गर्ने काम भएको थियो । नेपालको धार्मिक मान्यता र सांस्कृतिक परम्परा विश्वकै सभ्य राष्ट्रहरूमध्येको एक हो ।

हामी आफ्नो सनातन धर्म संस्कृतिमाथि गर्व गर्न सक्नुपर्छ । जनसंख्या, क्षेत्रफल र आर्थिक सम्पन्नताका कारण देशहरू साना र ठूला हुन सक्दछन् यो सामान्य विषय हो तर यसैको आधारमा ठूलो देशले सानो देशको उपेक्षा गर्नु उचित होइन । उत्तरी छिमेकी चीन अहिले विश्वको उदाउँदो शक्ति राष्ट्र अवश्य पनि हो तर यसको अर्थ सानो देशको आत्म सम्मान र स्वाभिमानको कदर नै नहोस् भन्ने त होइन ?
उत्तरी छिमेकी चीनले नेपालप्रति देखाएको हेपाहा प्रवृत्तिका अनेकौं उदाहरण छन् । हाम्रो देशका वामपन्थी राजनीतिक दलहरू उत्तरी छिमेकी चीनलाई गुण र दोषयुक्त मित्र राष्ट्रको रूपमा परिभाषित गर्नुपर्नेमा चीनले कहिले गल्ति नै गर्न सक्दैन भन्दै देवतत्वकरण गरिदिएका छन्, यसको परिणाम स्वरूप नै होला कि प्रत्येक दुई-तीन महिनामा चिनियाँ नागरिकहरू नेपालमा आएर कुनै न कुनै अप्रिय घटना गराइरहेका हुन्छन् ।

दक्षिणी छिमेकी भारतसित हाम्रो परम्परागत बहुआयामिक सम्बन्ध रहिआएको छ । नेपाल र भारतको सांस्कृतिक एवं धार्मिक मान्यता मूलतः एउटै छन् । हाम्रो अराध्यदेव तथा पुजन पद्धति, धर्मशास्त्रहरू, तीर्थस्थलहरू, देवकर्म र पितृकर्मका पवित्र श्लोक र मन्त्रहरूसमेत एउटै छन ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपाललाई ‘दुई ढुंगाबीचको तरुल’को संज्ञा दिनुको अर्थ नै उनले नेपालको क्षमताको विश्लेषण गरी दुवै छिमेकी राष्ट्रहरूसित मित्रवत् सम्बन्ध कायम राखी अगाडि बढ्न उपदेश दिएका थिए । दुई विशाल छिमेकी राष्ट्रहरू भारत-चीनबीच एउटा स्वतन्त्र अस्तित्व भएको देशको रूपमा यसलाई अथ्र्याउन खोज्दै उनले, नेपालले दुवै राष्ट्रहरूबाट सन्तुलित सुविधा उपभोग गर्न सक्छ भन्नेतिर संकेत गरेका थिए तर दुर्भाग्य २५५ वर्षअघि उनले सिकाएको यस मूल मन्त्रको हामी आत्मसात गर्न सकिरहेका छ्रैनौं ।

दक्षिणी छिमेकी भारतसित हाम्रो परम्परागत बहुआयामिक सम्बन्ध रहिआएको छ । नेपाल र भारतको सांस्कृतिक एवं धार्मिक मान्यता मूलतः एउटै छन् । हाम्रो अराध्यदेव तथा पुजन पद्यति, धर्मशास्त्रहरू, तीर्थस्थलहरू, देवकर्म र पितृकर्मका पवित्र श्लोक र मन्त्रहरूसमेत एउटै छन । हामी एउटै ऋषिका सन्तान हौं । खानपान, रहनसहन, हावापानी, भेषभूषा पर्व, त्योहार, लोकाचार सबै एउटै छन् । नेपालका प्रायः सबै जसो नदीहरूको मिलन बिन्दु भनेको भारतको गंगा नै छन् । नेपाल र भारतको सम्बन्ध आदिकालदेखिको हो, यसलाई कुनै कालखण्डको परिधिभित्र सीमित राख्न सकिँदैन ।

चीनको स्वशासित क्षेत्र तिब्बतसित नेपालको १४०० किलोमिटर लामो सिमाना छ । सन् १९५०-५१मा चीनको अधिनमा आउनुभन्दा अघिसम्म नेपालको उत्तरी क्षेत्रका जनता र तिब्बतका जनताबीच घनिष्ठ सम्बन्ध थियो । हुन त यो सम्बन्ध कुनै न कुनै रूपमा अहिले पनि छ तर विगत जस्तो घनिष्ठ र प्रगाढ छैन । छिमेकी चीनमा कम्युनिष्ट शासनको लामो पृष्ठभूमि रहेको मूल चिनियाँ जाति हानहरूको बाहुल्यता रहेको तथा चिनियाँ दार्शनिक एवं धर्मगुरु कन्फस्युसियाको विचारधाराको गहिरो प्रभाव रहेका कारण नेपाल र चीनको सम्बन्धलाई कूटनीतिक स्तरबाट मात्रै परिभाषित गर्न सकिने अवस्था छ ।

उत्तरी छिमेकी चिनसितको मित्रता नेपालका लागि कुनै अर्थमा लाभदायक सावित भइरहेको छैन । नेपालका कतिपय राजनीतिक दलहरू खास गरिकन वामपन्थी राजनीतिक दलहरू उत्तरी छिमेकी चीनसित घनिष्ठ सम्बन्ध कायम राख्न राष्ट्रहितलाई उच्च प्राथमिकता दिन सकिरहेका छैनन् । चीनको ऋणलाई स्वीकार गर्नमा अन्यथा नमान्ने नेपालका वामपन्थीहरू अन्य मित्र राष्ट्रको अनुदानको पनि विरोध गर्न थाल्दछन् । जबकि चीनले दिने गरेको ऋण ब्याजदर विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष तथा अन्यदाता राष्ट्र र मित्र राष्ट्रहरूको तुलनामा चर्को हुने गर्दछ ।

विसं २०७२ सालमा आएका भूकम्प र कोभिड-१९ को बहानामा विगत सात वर्षदेखि चीनले बन्द गरिराखेको उत्तरी सिमानाकाहरू अहिलेसम्म पनि सुचारु हुन सकेको छैन, यसले गर्दा नेपालको उत्तरतिरको निर्यात व्यापार ठप्प छ । यसअवधिमा चीनतर्फबाट नेपालमा दुई खर्बभन्दा बढी निर्यात भएको छ भने, नेपालले आफ्नोतर्फबाट चीनमा मात्र दुई अर्बको निर्यात व्यापारमात्रै गरेको छ ।

चीनसँगको दुई पक्षीय व्यापारमा नेपालले भोगीआएको ठूलो आयतनको व्यापार घाटाबारे पुनर्विचार गर्न चीन तयार देखिँदैन । केवल आश्वासनमात्र दिने, लिखित सहमति पनि गर्ने तर कार्यान्वयनमा नल्याउने गर्दै आएको छ । उत्तरी सिमानाका अवरुद्ध हुँदा उत्तरी क्षेत्रका बासिन्दासामु खाद्यान्नको समस्या, बेरोजगारी र तिनको आर्थिक कारोबार चौपट भएको छ । दुर्भाग्य मधेस आन्दोलनका कारण दक्षिणी सिमानाका अवरुद्ध हुँदा राजधानी काठमाडौंलगायत देशका विभिन्न भागमा भारतको चर्को विरोध गर्ने नेपालका वामपन्थी दल र कथित राष्ट्रवादी-राजावादीहरू विगत सात वर्षदेखि उत्तरी सिमानाका अवरुद्ध हुँदै एउटा सामान्य प्रेस वत्तव्यसम्म निकाल्ने साहस जुटाउन सकेका छैनन् ।

यसले के पनि सावित गर्दछ भने भारतसितको हाम्रो सम्बन्ध देश र जनताको हितमा छ, यो स्वाभाविक र आवश्यक हो । चीनसितको सम्बन्ध राजनीतिक कारणले कृत्रिम हो । ऊ सित हाम्रो सम्बन्ध रहे-नरहेको खासै अर्थ राख्दैन बरू नेपालसितको सम्बन्धवाट एकोहोरो रूपमा चीनलाई मात्रै लाभ भइरहेको छ । उत्तरी छिमेकी चीनसित ऋण लिँदा पनि ठेकेदार प्राविधिक र कामदार उसकै हुने गर्दछ, हाम्रो टाउकोमा त केवल ऋणको भारीमात्रै आउने गर्दछ । चिनियाँ ऋण आएपछि ठेकेदार उसेको हुने शर्त पनि सुरुमै लादिएको हुन्छ ।

ADVERTISEMENT

चिनियाँ ठेकेदारहरू विगतको जस्तो समयमै निर्माण कार्य सम्पन्न गरिरहेको हुँदैन । नारायणगढ-बुटवल र नारायणगढ-मुग्लिङ सडकखण्ड यसको उदाहरणमात्रै हो । मेलम्ची खानेपानी आयोजनालगायत दर्जनौं घटना उदाहरण छन् । सुरुमा कम पैसामा टेन्डर सकार गर्ने र पछि त्यति पैसाले पुगेन भन्दै थप पैसा र थप समयको माग गर्दै आयोजनाहरू लम्ब्याउने प्रवृत्ति चिनियाँ ठेकेदारहरूको देखिएको छ ।
हालै करोडौं ठगीको आरोपमा नौ चिनियाँ नागरिक पक्राउ परेका छन् । भिजिट भिसामा नेपाल आएका उनीहरूले अनलाइनमार्फत विभिन्न व्यक्तिलाई ठगी गरेका छन् । पक्राउ परेका चिनियाँमध्ये चारजनासँग पासपोर्ट छैन भने दुईजनाको पासपोर्टको म्याद गुज्रिसकेको छ ।

गैरकानुनी रूपमा नेपाल बसेका चिनियाँहरू अनलाइन ठगीमा पक्रिएका छन् । नेपाली युवा-युवतीहरूलाई महिनाको १० हजार दिएर उनीहरूको बैंक खाता प्रयोग गरी ठगी गर्ने गरेका थिए । नेपाल प्रहरीका अनुसार चिनियाँ नागरिक यसअघि नेपालमा बसेर साइबर क्राइममा सक्रिय भएको पाइएको थियो ।

पक्राउ परेपछि चिनियाँ नागरिकले प्रहरी कार्यालयमा नाराबाजी गरेका थिए । कहिले जुवा, त कहिले साइबर क्राइममा, त कहिले अनलाइन ठगीमा त कहिले नक्कली डलर र अवैध आर्थिक कारोबारमा चिनियाँ नागरिकहरूको संलग्नताका घटना अनेकौं पटक भएका छन् ।

पर्यटकीय क्षेत्र ठमेलमा र सिंहदरबार नजिक त प्रहरीसित मारपिट गर्नमा पनि चिनियाँलाई डर लाग्दैन । एक किसिमले मित्रताको नाममा नेपाललाई आर्थिक रूपले कमजोर बनाउने नेपालीलाई अपहेलित गर्ने र प्रताडित गर्ने काम यसले गर्दै आएको छ र देशलाई बदनाम गराउने काम गरेको छ ।

नेपालमा जब-जब कम्युनिष्ट पार्टी बर्चस्वमा आउँछ अनि चिनियाँहरूको ज्यादति पनि बढदै जान्छ । कुनै पनि विदेशी हाम्रा निम्ति अतिथि नै हुन तर अतिथिले पनि अतिथि धर्मको पालन गर्नुपर्छ ।

बानेश्वरको घटनामा पनि नेपालको स्थापित कानुनको उपेक्षा भएको थियो । यसले नेपालको आकर्षक पर्यटकस्थललाई पनि प्रभावहित बनाउन सक्नेछ । उत्तरी छिमेकी चीनले आफ्नो रणनीतिक एवं आर्थिक महत्वकांक्षालाई पूरा गर्ने मनसायले नयाँ–नयाँ योजनालाई अघि सारिरहेको हुन्छ र नेपालका चीन समर्थक राजनीतिक दल र बुद्धिजीवीहरू यसको प्रशंसा एवं वकालत गर्दै नेपाललाई पनि उसको शिकार बन्नमा सहयोगीको भूमिका निर्वाह गर्दै आएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा नेपालमा २२ अर्बभन्दा माथिको चिनियाँ ऋण लदिएको छ । बिआरआईका अन्य आयोजना नेपालमा लागू भए नेपाल एक दशकमै आर्थिक रूपले कंगाल हुनेछ ।

चिनियाँ ऋणको जालोमा पर्ने नेपाल परतन्त्र हुनबेर लाग्ने छैन । श्रीलंका, पाकिस्तान र जिबुटीको उदाहरण हुँदैछ । नेपाली संस्कृति र परम्परालाई मास्ने तथा चिनियाँ भाषा संस्कृति सिकाउने प्रयासलाई कसरी तर्कसंगत मान्न सकिन्छ ? नेपालका कतिपय राजनीतिज्ञहरू पनि चिनियाँ विचारधाराबाट प्रभावित छन् र नियमित अन्तरालमा प्रशिक्षण पनि हासिल गरिरहेका छन् ।

यसले गर्दा नेपालकै नेपालको वकालत गर्नेहरू अल्पमतमा पर्दैछन् । राजनीतिक विचारधारा आफ्नो ठाउँमा छ तर राष्ट्र एवं जनताको हित सर्वोपरि हुनुपर्दछ । नेपालका वामपन्थीहरू चीनको कुनै पनि प्रस्तावलाई विनासोच विचार सहज रूपमा र स्वीकार गर्दै आएका छन् । कम्युनिष्ट एकताको नाममा चीनको निर्देशनलाई सर्वोपरि मान्नेहरूले दूरगामी सोचको प्रदर्शन गर्नु आवश्यक छ । दलीय स्वार्थको पूर्तिका लागि राष्ट्रको व्यापक हितको उपेक्षा गर्नु बुद्धिमानी होइन ।

नेपालमा जब-जब कम्युनिष्ट पार्टी बर्चस्वमा आउँछ अनि चिनियाँहरूको ज्यादति पनि बढ्दै जान्छ । कुनै पनि विदेशी हाम्रा निम्ति अतिथि नै हुन तर अतिथिले पनि अतिथि धर्मको पालन गर्नुपर्छ । अतिथि नै आपराधिक गतिविधिमा सामेल भएपछि उनीसित हुने व्यवहार पनि सोही प्रवृत्तिको हुनेछ । हामी नेपालीहरू न त चिनियाँ भाषा बुझ्छौ न त तिनको संस्कृतिलाई जानेका छौं । परिश्रम गरेर सिके-पढे पनि त्यसबाट न त जागिर पाउने सम्भावना न, त्यसको कुनै सम्भावना भविष्यमै छ ।

हामीले हाम्रो आफ्नो देशको चिन्ता गर्नुपर्छ । देशको आर्थिक विकासको चिन्ता गर्नुपर्छ । नेपाली जनताको हकहित र अधिकारबारे चिन्ता गर्नुपर्छ, काम गर्नुपर्छ । विश्वको आर्थिक शक्ति चीनले एउटा असल छिमेकीको नाताले अनुदान दिएर नेपालको विकासका सहयोग गर्नुपर्छ, सानो देश ठानेर नेपालबाटै लाभ लिने सोच राख्नु उचित होइन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज