दोर्दी करिडोर १३२ केभी प्रसारण लाइन सञ्चालनमा

Read Time = 5 mins

काठमाडौं । लमजुङको दोर्दी र सहायक खोलाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन पूर्णरूपमा सञ्चालनमा आएको छ । २०७८ असारमा दोर्दी खोलामा आएको बाढीले क्षति पुर्‍याएका चारवटा टावर पुनर्निर्माण सम्पन्न गरी बिहीबारबाट प्रसारण लाइनलाई पूर्णरूपमा सञ्चालनमा ल्याइएको हो । प्रसारण लाइन सञ्चालनसँगै करिब तीन सय मेगावाट विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले बेंसीशहर नगरपालिकाको उदीपुरबाट दोर्दी गाउँपालिकाको कीर्तिपुर सबस्टेसनसम्मको प्रसारण लाइन गत भदौबाट आंशिक खण्ड सञ्चालनमा ल्याएको थियो । बाढीले क्षति पुर्‍याएका टावर पुनर्निर्माणमा केही समय लाग्ने देखिएपछि उदीपुर सबस्टेसनबाट निजी क्षेत्रले निर्माण गरेको दोर्दी खोला-१ जलविद्युत्सम्म दोर्दी करिडोरको लाइन र त्यहाँबाट कीर्तिपुर सबस्टेसनसम्म दोर्दी खोला-१ को प्रसारण लाइन प्रयोग गरी लाइनको आंशिक खण्ड सञ्चालनमा ल्याएको थियो ।

वैकल्पिक व्यवस्थाका रूपमा दोर्दी खोला-१ को साढे तीन किलोमिटर प्रसारण लाइन प्रयोग गरी निजी क्षेत्रले निर्माण गरेको जलविद्युत् आयोजनाको विद्युत् जोडिएको थियो । टावर पुनर्निर्माण सम्पन्न गरी प्रसारण लाइन सञ्चालनसँगै दोर्दी खोलामा निर्माण भएका निजी क्षेत्रका सबै जलविद्युत् आयोजनाको विद्युत् कीर्तिपुर सबस्टेसनमा जोडिएर दोर्दी करिडोर प्रसारण लाइनमार्फत् राष्ट्रिय प्रणालीमा प्रवाह भएको आयोजना प्रमुख रमेश पौडेलले बताउनुभयो ।

प्रसारण लाइनमा २७ मेगावाटको दोर्दी खोला, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी खोला–१ र ८.६३ मेगावाटको चेपेखोला साना जलविद्युत् आयोजना जोडिएका छन् । निर्माणको अन्तिम चरणमा रहेको ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत्सहित सो करिडोरमा निर्माणाधीन र निर्माण हुने अन्य आयोजनाको विद्युत् सोही लाइनमा जोडिने बताइएको छ ।

ADVERTISEMENT

प्राधिकरणका अनुसार उदीपुर सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएपछि वैकल्पिक व्यवस्थामार्फत् हाल सञ्चालनमा रहेको मध्यमस्र्याङ्दी विद्युत्गृहको स्वीचयार्डमा विद्युत् जोड्ने व्यवस्था गरिएको छ । जसका लागि निर्माणाधीन २२० केभी मस्र्याङ्दी करिडोरको करिब छ किलोमिटर लाइनलाई प्रयोगमा ल्याइएको छ ।

निर्माण अन्तिम चरणमा रहेको उदीपुर सबस्टेसन असारभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ । करिब ८५ करोड रुपैयाँ अनुमानित लागत रहेको दोर्दी करिडोर प्रसारण लाइन सरकारको लगानीमा निर्माण गरिएको हो । प्रसारण लाइनको लम्बाइ १० किलोमिटर छ भने आयोजनाले नै कीर्तिपुरमा १३२ केभी, १० एमभिए क्षमताको सबस्टेसन निर्माण गरेको छ ।

२०७७ मै निर्माण सम्पन्न भएको प्रसारण लाइनका चारवटा टावर २०७८ असारमा दोर्दी खोलामा आएको बाढीले बगाइदिएको थियो । आयोजना २०७४ सालमा सुरु गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज