काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका प्रतिस्पर्धी समूहले मंगलबार उम्मेदवारी दर्ता गराएका छन् । वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धी उमेशलाल श्रेष्ठ समूहले महासंघ केन्द्रीय कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएको छ भने वरिष्ठ उपाध्यक्षका अन्य दुर्ई प्रतिस्पर्धी अञ्जन श्रेष्ठ र रामचन्द्र संघाई समूहले पनि उम्मेदवारी दर्ता गरेका छन् । उमेशलाल समूहबाट जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकालले उम्मेदवारी दर्ता गराएका छन् । वस्तुगततर्फबाट उपाध्यक्षलगायत १४ जना कार्यसमित सदस्य पदका उम्मेदवारले संयुक्तरूपमा उम्मेदवारी दर्ता गराएका हुन् । जिल्ला तथा नगर र एसोसिएट्सका पनि अधिकांश सदस्यले उम्मेदवारी दर्ता गराएका छन् ।
सो अवसरमा वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धी उमेशलाल श्रेष्ठले आफ्नो समूहले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर व्यावसायिक हकहितका विषय उठान गरेकाले जित सुनिश्चित भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी व्यवसायीको पीडा बोकेर समस्या समाधान गर्ने समूहका रूपमा अघि बढेका छौँ, देश आक्रान्त र अस्थिर छ भने आर्थिकरूपमा खस्किएको छ । यस्तो अवस्थामा निजी क्षेत्रको क्याप्टेनसिप दिन वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको छु, जिल्ला नगर, वस्तुगत, एसोसिएट्स र द्विराष्ट्रिय सबै क्षेत्रका उद्योगी व्यवसायीले हाम्रो यस समूहलाई अत्यधित मत दिएर विजयी गराउनेमा विश्वस्त छु ।’
वरिष्ठ उपाध्यक्षका तीन प्रतिस्पर्धी क्रमशः उमेशलाल, अञ्जन र रामचन्द्र समूहले मंगलबार आ-आफ्नो समूहका उम्मेदवारी दर्ता गरेका हुन् ।
सरकारले उद्योगी व्यवसायीको मनोबल उच्च बनाएर देशको अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्थामा विभिन्न खालमा समस्या सिर्जना गरेर हतोत्साहित गरेको भन्दै आफू निर्वाचित भएलगत्तै व्यावसायिक हकहितका एजेण्डा बोकेर समाधानका लागि सरकारसँग छलफलमा बस्ने श्रेष्ठले बताउनुभएको छ ।
अर्का वरिष्ठ उपाध्यक्षका प्रतिस्पर्धी अञ्जन श्रेष्ठ समूहबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा अरुण सुमार्गी, वस्तुगततर्फ मनिषलाल प्रधानले उम्मेदवारी दर्ता गराउनुभएको छ भने एसोसिएट्सतर्फ अञ्जन श्रेष्ठ समूहसँग सहकार्य गर्दै उपाध्यक्ष पदमा भरतराज आचार्यले स्वतन्त्र प्यानलबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । अञ्जन समूहका प्रवलजंग पाण्डेले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ । वस्तुगत समूहका प्यानल सदस्यले पनि उम्मेदवारी गराएका छन् । सो अवसरमा वरिष्ठ उपाध्यक्ष पदका प्रतिस्पर्धी श्रेष्ठले महासंघलाई नयाँ उचाइमा पु¥याउन र संस्थाको व्यावसायिक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारिता बढाउन आफूले उम्मेदवारी दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अर्थतन्त्र लथालिंग भएको अवस्थामा व्यवसायीका समस्या सुनिनुपर्छ र यसका लागि महासंघले सबै तहका उद्योगी व्यवसायीको पहुँचमा हुने गरी काम गर्नुपर्छ, अहिलेको युवा जोस र जाँगरका साथ संस्थालाई गति दिने नेतृत्वको खाँचो छ ।’
महासंघको यही चैत २८ र २९ गते काठमाडौंमा साधारणसभा तथा निर्वाचन हुँदैछ । निर्वाचनपछि हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष बन्नुहुनेछ । उमेशलाल श्रेष्ठ क्वेस्ट फर्मासिटिकल्सका प्रबन्ध निर्देशक, अञ्जन श्रेष्ठ लक्ष्मी समूहका कार्यकारी निर्देशक र रामचन्द्र संघाई त्रिवेणी समूहका निर्देशक हुनुहुन्छ । एसोसिएट उपाध्यक्षमा २ जनाबीच भिडन्त पक्का भए पनि अन्य २ उपाध्यक्ष पदमा भने ३ समूहबाटै उम्मेदवार तय भएका छन् । अञ्जन समूहबाट वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान र रामचन्द्र समूहबाट जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगततर्फ सकुन्तला हिराचन रहनुभएको छ । निर्वाचनबाट ६४ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ ।
एक वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्षका साथै एसोसिएटतर्फ १९ केन्द्रीय सदस्य, जिल्ला/नगरतर्फ १८ र वस्तुगतमा १४ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । द्विराष्ट्रिय सदस्य एकजना र सातवटा प्रदेश अध्यक्ष स्वतः सदस्य बन्नेछन् । महासंघका अध्यक्षले पाँचजना मनोनीत गर्नेछन् भने एकजना निवर्तमान अध्यक्षसमेत कार्यसमिति सदस्य बन्नेछन् । अध्यक्षले मनोनीत गर्ने र निवर्तमान अध्यक्षसमेत गरी कुल ७७ जनाको कार्यसमिति चयन हुनेछ । दुई हजार रहेकोमा एसोसिएटतर्फ १७ सय ४८, जिल्लानगरतर्फ एक सय १७, वस्तुगततर्फ एक सय २३ र द्विराष्ट्रिय मतदाता संख्या १२ रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच