आन्तरिक खपत क्षमता वृद्धि मुख्य प्राथमिकता : ऊर्जामन्त्री

Read Time = 3 mins

काठमाडौं । नवनियुक्त ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले देशमा उत्पादित विद्युत् यहीँ खपत गर्न क्षमता वृद्धि आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरणले सोमबार गरेको बधाई, शुभकामना तथा स्वागत कार्यक्रममा उहाँले विद्युत् नपुगेका ठाउँमा सेवा विस्तार, प्रसारण र वितरण प्रणालीका पूर्वाधारलाई सुदृढीकरण तथा विस्तार गरी खपत क्षमता विस्तार गरिने बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, ‘पूर्वाधार विस्तारका लागि आवश्यक पर्ने लगानी जुटाउन अर्थ मन्त्रालयलगायतका निकायहरूसँग आवश्यक समन्वय गरिनेछ ।’

जलविद्युत् तथा प्रसारण लाइन आयोजना निर्माणमा वन क्षेत्रको प्रयोग तथा रुख कटानमा देखिएको समस्याका विषयमा आफू जानकार रहेको उल्लेख गर्दै पूर्ववनमन्त्रीसमेत रहनुभएका मन्त्री बस्नेतले वन र सुरक्षाका कारण आयोजना निर्माणमा हुने ढिलासुस्ती रोक्न आफू सक्रियताका साथ लाग्ने बताउनुभयो । ऊर्जा, स्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले आन्तरिकरूपमा विद्युत् खपत बढाउन प्रसारण तथा वितरण प्रणालीका संरचना सुधार तथा विस्तार, रणनीतिकरूपमा ठूला जलाशययुक्त जलविद्युत् आयोजना निर्माण र विद्युत् सेवा विस्तारमा जोड दिइनुपर्ने बताउनुभयो ।

ADVERTISEMENT

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षायामको विद्युत् व्यवस्थापन प्रमुख चुनौती रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशभित्र खपत बढाउन र बढी भएको विद्युत् निर्यातका लागि निर्माणाधीन विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनासहित आगामी पाँच वर्षका लागि तय गरिएका योजना कार्यान्वयन गर्न साढे आठ खर्ब रुपैयाँभन्दा बढी लगानी आवश्यक पर्ने देखिएको छ तर यसका लागि सरकारतर्फबाट ठूलो लगानी ग्याप छ, उक्त ग्याप सरकार, प्राधिकरण र दातृ निकायबाट पूर्ति गर्नुपर्ने अवस्था छ, यसका लागि सहजीकरण र समन्वय आवश्यक छ ।’ उहाँले यस वर्षको वर्षायाममा आन्तरिकरूपमा खपत गरी बढी भएको एक हजारदेखि एक हजार दुई सय मेगावाटसम्म विद्युत् निर्यात गर्नुपर्ने अवस्था रहेको बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज