प्रचण्ड सरकारको १०० दिन

उपलब्धि शून्य, समीकरण बनाउने र भत्काउनमै केन्द्रित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 13 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकार गठन भएको आज सोमबार सय दिन पुगेको छ । प्रधानमन्त्री दाहाल पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो भने पुस ११ गते पद तथा गोपनियताको शपथ लिँदै पहिलोपटक मन्त्रिपरिषद् गठन गर्नुभएको थियो । पुस ११ गते शपथग्रहण गर्दा प्रधानमन्त्री दाहाल नेकपा एमालेको सहयोगमा सिंहदरबारको कुर्सीमा पुग्नुभएको थियो । एक महिनाभित्र विश्वासको मत लिने बेलामा नेपाली कांग्रेसले पनि साथ दिएपछि प्रधानमन्त्री दाहाल एमालेसँग टाढिन थाल्नुभयो । अन्ततः राष्ट्रपतिको चुनावसम्म आइपुग्दा एमाले-माओवादी गठबन्धन भत्कियो ।

तीन महिनाको अवधिमा प्रचण्डले सातचोटि मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । मन्त्रीहरू बाहिरिने र भित्रिने सिलसिलामै दाहाल सरकारका तीन महिना खेर गएका छन् । सरकारले प्राथमिकता दिनुपर्ने क्षेत्रमा काम नै गर्न सकेको छैन । प्रधानमन्त्री हेलिकोप्टर चढेर शिलान्यास र उद्घाटनमा हिँड्ने क्रम जारी नै छ । प्रधानमन्त्री भएको पाँच दिनपछि पुष्पकमल दाहाल प्रचण्डको भनाइ थियो–भाषण कम, जनताको सेवा धेरै गर्ने प्रतिज्ञा गरेको छु । ‘जति काम गर्छु राम्रो मात्रै गर्छु । मेरा लागि परीक्षा पनि हो । उत्तीर्ण हुनैपर्छ,’ प्रचण्ड वाचा गरेरै मैदानमा उत्रिनुभयो । ‘जनताको सेवा गर्ने’ अभिव्यक्ति दिनुभएका प्रचण्डका गतिविधि भने नेताको सेवामा केन्द्रित हुनुहुन्छ, कहिले एमालेका त कहिले कांग्रेसका नेतासँगको वार्तामै अधिकांश समय गुजारेर । समीकरण बनाउने र भत्काउनमै केन्द्रित हुँदा प्रचण्डले त्रैमासिक परीक्षा पास गर्न ‘ग्रेस’मार्कको सहारा लिनुपर्ने छ ।

विज्ञहरूका अनुसार एक/डेढ वर्षयता देश अस्थिरताको चक्रमा फसेको छ । फेरि पनि एमाले प्रतिपक्ष भएर बस्नुपर्नेमा वैशाखमै सरकार ढल्ने बताएर एमालेले पनि अस्थिरता बढाउन खोजेको देखिन्छ । सरकारलाई पूर्णता दिनका लागि नै दलहरूका बीचमा खिचातानीले उहाँको कार्यकालको समय सकिरहेको छ ।

सरकारका गतिविधिप्रति जनता निराश छन् : विश्वकर्मा
जनताको समस्या सम्बोधनमा नेकपा (एमाले)का सचिव छविलाल विश्वकर्माले सरकारले कुनै पनि काममा सकारात्मक पहलकदमी लिन नसकेको बताउनुभयो । सरकारको सय दिन पुगेको अवसरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले एमाले सरकारमा रहँदा अर्थतन्त्रमा आशा जागेको भन्दै गठबन्धन परिवर्तन भएसँगै सो आशा निराशामा परिणत भएको बताउनुभयो । उहाँले देशको परिस्थिति गम्भीर रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘समस्या चाङ लागेका छन् ।

सम्बोधनका निम्ति कुनै पहलकदमी देखिएको छैन । यो खालको परिस्थिति हेर्दाखेरि जुनसुकै क्षेत्रलाई हेरे पनि उल्लेखनीय हिसाबले यति सकारात्मक पहलकदमी भयो नि भन्ने सकिने कुनै विषय, कुनै ठाउँ नै रहेन । बडो निराशाजनक छ । आम जनताको जस्तो खालको उत्साह हुनुपर्ने हो, त्यो खालको परिस्थिति देखिएन । निराशा बढ्दै गएको छ । हामी रहुञ्जेल देशको राष्ट्रिय अर्थतन्त्र जस्तो थियो, कमसेकम आशा जागेको थियो । परिस्थिति सम्हालिन्छ भन्ने विश्वास जागेको थियो । त्यसपछि राजनीतिमा जब विश्वासको संकट आयो ।

प्रधानमन्त्रीजीले जे जस्ता कदम चाल्नुभयो त्यसपछि जागेको आशा फेरि निराशामा परिणत भएको छ । परिस्थिति ज्यादै गम्भीर देख्छु मैले । सरकारले आफूलाई सम्हालेर देश, जनता र हाम्रो राष्ट्रियताको संरक्षण गर्ने, जगेर्ना गर्ने विषयमा यथोचित ध्यान नपुर्‍याई हुँदैन ।’

ADVERTISEMENT

कानुन निर्माण र सेवा प्रवाहमा सरकार केन्द्रित छ : शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार निर्माणको सय दिनमा कानुन निर्माण र सेवा प्रवाहको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभएको छ । सरकारको सय दिन पुगेको अवसरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री शर्माले सरकारले सेवा प्रवाह र कानुन निर्माणको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो । उहाँले सरकारी कामकाजको सन्दर्भमा धेरै भिडभाड हुने ठाउँहरू व्यवस्थित हुँदै गरेको बताउनुभयो । त्यस्तै, किसानको समस्या समाधान गर्न दूध र गहुँको समर्थन मूल्य तोकिएको भन्दै त्यो पनि सरकारको उपलब्धि भएको बताउनुभयो । उहाँले सरकारले समयमै पाठ्यपुस्तक पु¥याउने तयारी गरिरहेको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मूलतः कानुन निर्माणको क्षेत्रमा, सेवा प्रवाहको क्षेत्रमा सरकारले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ सय दिनको अवधिमा सेवा प्रवाहको क्षेत्रमा हेर्दाखेरि भिडभाड हुने ठाउँहरूमा सरकारले क्यु सिष्टम हटाउने भनेको थियो । क्यु सिष्टम धेरै व्यवस्थित हुँदै गएको छ । र यो छोटो समयमा त्यो पूर्ण रूपमा व्यवस्थित भएर जानेछ । अर्को कुरा अर्थतन्त्रमा जुन खालको डामाडोलको स्थिति थियो, यसको बाह्य स्वरूप सुधार भएको छ । किसानका समस्यासँग सम्बन्धित भएर दूधको मूल्यदेखि लिएर गहुँको समर्थन मूल्य तोक्ने लगायतका विषयहरू जति पनि छन् । ती विषयहरूलाई पनि सरकारले समयमै सम्बोधन गरेको छ । पाठ्यपुस्तक समयमै पुर्‍याउने गरी सरकारको तयारी छ । मिटरब्याजसँग सम्बन्धित विषय जुन छ, कानुनतः यसलाई अपराध घोषणा गर्दै कानुनी दायरामा ल्याउनको निम्ति अपराधसंहिता २०७४ लाई संशोधन गरेर जाने भनेर प्रक्रिया पनि अगाडि बढेको छ । यो समाधान गर्नका निम्ति गृह मन्त्रालयअन्तर्गत आयोग बनेको छ । सेवा प्रवाह र कानून निर्माणको सन्दर्भमा महत्वपूर्ण खुट्किलाहरू पारित हुँदै छन् ।’

सरकारको कामले अब गति लिन्छ : नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारले सय दिन बिताएको कुरालाई अनौठो मान्नु जरुरी नभएको टिप्पणी गर्नुभयो । सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले पछिल्लो समय प्रधानमन्त्रीले सरकार पुनर्गठन गरेसँगै सरकारले गति लिने अवस्था बनेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो गठबन्धनको अवस्था भनेको आफैँमा विशेष अवस्था हो । अहिले जुन हिसाबले नेपालको राजनीति बढो तरल छ । त्यो अवस्थाभित्र सय दिन बित्ने कुरालाई कुनै अनौठो मान्नु जरुरी छैन । तर, अब एकचोटि यो सरकार गठन गर्ने कुरा पुनर्गठन गर्ने काम भइसकेपछि अब यसले गति लिने अवस्था छ । र अनुभव पनि प्राप्त गर्नुभएका व्यक्ति हुनुहुन्छ प्रधानमन्त्री । मुलुक चलाउने अनुभव प्राप्त गरेका पार्टीहरू पनि यसमा सहभागी छन् । सबैको सहयोगमा यो सरकार अगाडि बढ्छ ।’

सरकारको सय दिन राजनीतिक रूपमा अस्तव्यस्त : परियार
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सरकारको सय दिन राजनीतिक रूपमा अस्तव्यस्त रहेको टिप्पणी गर्नुभयो । उहाँले सरकारले ‘डेलिभरीका कामहरू’ प्रारम्भ गरेको भन्दै आगामी दिनमा ती कामहरूले गति पाउनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारलाई अब कुनै रोकतोक नहुने भन्दै सरकारले गति लिनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो पार्टी भर्खरै मात्र सरकारमा सहभागी भएको दल हो । अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल देशको प्रधानमन्त्री भएको सय दिन पुग्न आँट्यो । यसको बारेमा आधिकारिक धारणा प्रधानमन्त्रीज्यूले नै दिनुहुन्छ भन्ने लाग्छ मलाई । यो सय दिनका बारेमा नेपाली जनताहरू सबैले बुझेकै छन् । विभिन्न समयमा विभिन्न व्यक्तिहरू सरकारमा पुग्नुभएको अवस्था छ । त्यसैले यो सय दिन राजनीतिक रूपमा भन्ने हो भने अस्तव्यस्त ढंगले बितेको छ । र सरकारले दिनुपर्ने डेलिभरीका कामहरूका बारेमा प्रारम्भ गर्नुभएको छ, प्रचण्डले यसपालि केही गर्छु भनेर भन्नु पनि भएको छ । मलाई विश्वास छ, सय दिनभित्र प्रारम्भ भएका कामहरूलाई गति दिने काम अब हुन्छ भन्ने कुरामा म विश्वस्त छ ।

वर्तमान सरकारसँग देश बनाउने भिजन र नियत छैन : ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इमानमा अड्न नसकेको आरोप लगाउनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल इमान नभएको भन्दै त्यस्ता स्वार्थीहरूको गठजोडमा आफूहरू नलाग्ने बताउनुभयो । आइतबार काठमाडौंमा आयोजित पार्टीनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले वामपन्थी एकताको पक्षमा पनि आफू नलाग्ने बताउनुभयो । दाहाललाई प्रधानमन्त्री बनाउँदाको क्षणको स्मरण गराउँदै उहाँले इमान नभएकाहरूसँग एकता गर्न नहुने पनि अध्यक्ष ओलीले बताउनुभयो ।

यता पनि खोज्ने, उता पनि खोज्ने प्रचण्ड चाल भएको उल्लेख गर्दै उहाँले त्यसको पक्षमा आफ्नो पार्टी नरहेको दाबीसमेत गर्नुभयो । ओलीले आफ्नो पार्टीले आगामी चार वर्षभित्र राष्ट्रिय शक्तिको रूपमा उदाएर अघि बढ्ने संकल्प लिएकाले सोही अनुसारको गम्भीरताका साथ काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । ओलीले मुलुकको राष्ट्रियतालाई जोगाउन, मुलुकको स्वाभिमानलाई माथि उठाउन एमाले मुलुकको सुदृढ शक्ति बन्नुको विकल्प नरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *