सिबिफिनद्वारा गभर्नरलाई ध्यानाकर्षण

Read Time = 3 mins

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को प्रतिनिधिमण्डलले शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेट गरी बैंकिङ क्षेत्रमा विकसित घटनाक्रम, देशको समग्र आर्थिक अवस्था र सुधारका सम्भावित उपायका बारेमा बृहत् छलफल गरेको छ । सिबिफिन अध्यक्ष पवनकुमार गोल्यान नेतृत्वको प्रतिनिधिमण्डलले विगत केही समययता बैंक तथा वित्तीय संस्था र कर्मचारीमाथि सुनियोजित एवं शृंखलाबद्धरूपमा सञ्चालन भइरहेका आक्रमणका विषयमा गभर्नरको गम्भीर ध्यानाकर्षण गराउँदै नेपालको समग्र आर्थिक एवं बैंकिङ क्षेत्रमा उत्पन्न समस्या एवं चुनौती, विश्व परिवेश र आर्थिक एवं बैंकिङ सुधारसहित तीव्र आर्थिक गतिविधिमार्फत् अर्थतन्त्रलाई गतिशील बनाउने विषयमा ध्यानाकर्षण पत्रसमेत बुझाएको छ ।

सिबिफिनका अध्यक्ष गोल्यानले राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाको नियामक निकायमात्र नभई अभिभावक संस्थासमेत भएकाले बैंक तथा वित्तीय संस्थामाथि विभिन्न कोणबाट आक्रमण भइरहँदा राष्ट्र बैंकले अभिभावकीय भूमिमा खेल्नुपर्ने बताउनुभयो ।

ADVERTISEMENT

त्यसैगरी बैंक तथा वित्तीय संस्थाको पुँजी निर्माण, कर्जा नोक्सानी व्यवस्था, सेवाशुल्क तथा स्प्रेडदर, संस्थागत आयकर, संस्थापक सेयर साधारण सेयरमा रूपान्तरण, स्थानीय निकायमा जाने सरकारी निक्षेपको गणना, ब्याजदर कोरिडोरको प्रभावकारी कार्यान्वयन, प्रिमियमसम्बन्धी व्यवस्था, कर्जा-निक्षेप अनुपात, आधारदरको गणना, फिन टेक, एसेट म्यानेजमेन्ट एवं लर्निङ एण्ड डेभलपमेन्ट जस्ता सहायक कम्पनी स्थापना तथा लगानीलगायतका विषय कार्यान्वयनका लागि उहाँले ध्यानाकर्षण गराउनुभयो । सो अवसरमा गभर्नर अधिकारीले आर्थिक एवं बैंकिङ क्षेत्रको सुधारका लागि सिबिफिनका सुझावलाई गहनतासाथ लिने र यथोचित सम्बोधनका लागि पहल गर्ने आश्वासन दिनुभएको सिबिफिनले जनाएको छ ।

छलफलमा सिबिफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, उपाध्यक्ष राजेश उपाध्यक्ष, महासचिव राजन सिंह भण्डारी, सदस्य उपेन्द्रकेशरी न्यौपाने, मोतीलाल दुगड, महेन्द्रकुमार गोयल, भरतराज ढकाल, नेपाल पूर्वाधार बैंकका अध्यक्ष अनुज अग्रवालको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?