कीर्तिमानी उपाध्यायको ‘कसुर’

गीता अधिकारी
गीता अधिकारी
Read Time = 10 mins

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायको १४औं उपन्यास कृति पाठकमाझ छ । यसअघि उहाँका ‘वज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगावाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘भाइरस लभ’, ‘मेरी प्रिया’, ‘कफिलभ’, र ‘मझधार’ जस्ता उपन्यास पाठकमाझ आएका छन् भने अरू दुई उपन्यास पनि पाठकमाझ ल्याउने तयारीमा उहाँ हुनुहुन्छ । डा.उपाध्यायले गीत, संगीत तथा विविध विधामा १३२ विश्व कीर्तिमान कायम गर्नुभएको छ । यो आफैँमा एक अद्भूत कार्य हो । यतिधेरै विश्व कीर्तिमान कायम गर्नेमा उहाँ विश्वमा ‘टप टेन’ भित्र पर्नुहुन्छ ।

उहाँलाई गिनिज बुक अफ वल्र्ड रेकर्ड, वल्र्ड बुक्स अफ अमेरिका, वल्र्ड बुक्स अफ अष्ट्रेलिया, वल्र्ड बुक अफ लन्डन, च्याम्पियन बुक वल्र्ड रकेर्ड, किंग्स बुक अफ रेकडए, वल्र्ड ट्यालेन्ट बुक रेकर्ड, एभरेष्ट वल्र्ड रेकडए, स्टार वल्र्ड रेकर्ड, एक्सक्लुसिभ वल्र्ड रेकर्ड, जिनस वल्र्ड रेकर्ड, युआरएफ वल्र्ड रेकर्ड, सुप्रिम वल्र्ड रेकर्ड, युरोपियन रेकर्ड बुक, वल्र्ड ट्यालेन्ट बुक रेकर्ड जस्ता विश्व रेकर्ड प्रदान गर्ने संस्थाले उहाँलाई विभिन्न विधामा १३२ वल्र्ड रेकर्डको प्रमाण पत्र प्रदान गरेका छन् । यति धेरै यी विश्व प्रसिद्ध सम्मान र अवार्ड पाउने उहाँ पहिलो नेपाली साधक हुनुहुन्छ ।

यस उपन्यासमार्फत लेखकले आजका युवा युवतीलाई सचेत गराउनुभएको छ । डेटिङ, लिभिङ टुगेदर, स्वतन्त्रता र उदारवादका नाममा हाम्रो समाजले अंगीकार गर्दैगएको पाश्चात्य समाजको रोगलाई स्रष्टा डा.उपाध्यायले बडो कौतुहल्ता पूर्ण र सटिक ढंगले यस उपन्यासमा प्रस्तुत गर्नुभएको छ ।

भाषा, साहित्य, गीत–संगीत र कला–संस्कृति मुलुकको पहिचान र प्रतिष्ठासँग जोडिएका विषय हुन् । यी विषयहरू राष्ट्रको सम्पत्ति पनि हुन् । यिनको संरक्षण र प्रबद्र्धनबाट मात्र मुलुकले आर्थिक समृद्धि हासिल गर्न सक्दछ । डा.उपाध्याय नेपालका यिनै मौलिक सम्पतिको माध्यमबाट मुलुकलाई विश्व जगतमा चिनाउने पहिलो हुनुहुन्छ जसले गीतसङ्गीत, साहित्य र लेखनबाट नेपालको नाम विश्वका सर्वोत्कृष्ट दश कीर्तिमानीका रूपमा अंकित गराउनुभएको छ । साहित्यमा विविध विधा र आयामहरूमा डुबुल्की मार्दै स्वैरकल्पना तथा यथार्र्थवादी धारमा सलल्ल बग्न सक्ने सामाथ्र्य राख्नुहुने डा.उपाध्याय चेतनाले ओतप्रोत प्राणयुक्त साहित्य सिर्जना गर्न उन्मुख हुनुहुन्छ । जमिनमुनि परपरसम्म पुगेको जरा र झाँगिएको पिपलको विशाल रूख झैँ जीवन्त र आकर्षक हुनुपर्दछ साहित्य भन्ने उहाँको धारणा छ ।
उहाँका ‘प्रणय’, ‘नशालु नजर’, ‘जखम’, ‘माउण्टेन मेलोडी’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिस्कृत’, ‘कृति’, ‘पृथक’, ‘अञ्जान तिर्खा’, ‘सुधारस’, ‘स्वर्गघर’, ‘नजरको तीर’, ‘सेभेन्थ कड्स’, ‘सौभाग्यको सिन्दुर’, ‘अनुभूतिको मझेरिमा’, ‘चाहनाको महल’, ‘कर्तव्यवोध’, ‘धरोहर’, ‘हृदयको झंकार’, ‘धर्ती र जीवन’, ‘प्रतिभा’, ‘सपनाको महल’, ‘धडकन’, ‘अविछिन्न’ लगायत उहाँका ३६ वटा गीति एल्बम र तिनका सयौ गीतका साथै भिडियो श्रोता/दर्शकमाझ आएका छन् । यस्तै उहाँका तीन गीति पुस्तक पनि पाठकमाझ आएका छन् ।

आफ्ना सिर्जनामा सकारात्मकता पस्कन रुचाउने उहाँ समाजका लागि उपन्यास र आत्मसन्तुष्टिका लागि गीत, कविता, गजल लेख्ने गरेको बताउनुहुन्छ । चौबीसै घण्टा लेखनबाहेक केही नसोच्ने उहाँका सिर्जनाले समाजमा गहिरो प्रभाव पारेको छ । उहाँ लेखनमा प्रयोग हुने बिम्ब, प्रतीक र मिथकहरूमा नयाँ प्रयोग गर्न रुचाउँनुहुन्छ । उहाँ आफ्ना हरेक सिर्जनामार्फत एकपछि अर्को कीर्तिमानी बनाउने सामाथ्र्य राख्नुहुन्छ । लेखन नै उहाँको जीवनको महत्वपूर्ण एकाइ, सौख र नशासमेत हो ।

ADVERTISEMENT

एकपछि अर्को उपन्यास कृति जन्मिने क्रममा उहाँको १४औं उपन्यास ‘कसुर’ रहेको छ । १७२ पेजको यो उपन्यासलाई शिखा बुक्सले प्रकाशन गरेको हो । पत्रकार कृष्ण भुसालले सम्पादन गरेको यस उपन्यसामा वरिष्ठ साहित्यकार खेमनाथ दाहालको भूमिका समावेश गरिएको छ । पैंतीस भागमा विभाजन गरिएको उपन्यासमा आहान, विपुल, एलिशा र जियाको भ्रमपूर्ण प्रेम कथा तथा वर्तमान हाम्रो परिवेश र समाजलाई चित्रण गरिएको छ । उपन्यासमार्फत उहाँले आजका युवा युवतीलाई सचेत गराउनुभएको छ । डेटिङ, लिभिङ टुगेदर, स्वतन्त्रता र उदारवादका नाममा हाम्रो समाजले अंगिकार गर्दै गएको पाश्चात्य समाजको रोगलाई स्रष्टा डा.उपाध्यायले बडो कौतुहल्ता पूर्ण र सटिक ढङ्गले यस उपन्यासमा प्रस्तुत गर्नुभएको छ भने दाजुभाइको प्रेमलाई बढो महत्वसाथ प्रस्तुत गर्नुभएको छ ।

‘बाल्यकालदेखि वृद्धावस्थासम्म जानी नजानी व्यक्तिबाट अनेकौं कसुर हुने गर्दछन् । केही कसुरका लागि उसले सामान्यदेखि गम्भीर प्रकृतिका सजाय पाउने गर्दछ भने केहीमा समाजले नजर अन्दाजसमेत गरिदिन्छ । तर, कुनै कसुर यस्ता हुन्छन् जसबाट जिन्दगीभर पश्चातापको आहालमा डुब्नुबाहेक अर्को विकल्प हुँदैन । आधुनिक पुस्तामा महत्वकांक्षाको प्रावह अत्यन्त तीव्र छ । यसलाई नियन्त्रित राख्दै प्रतिस्पर्धा गर्नेहरू जीवनको हरेक क्षेत्रमा सफलता हासिल गर्छन् । तर, चुक गर्नेहरूका सारा उपलब्धि ‘एउटा गल्ती खेल खत्तम’ मा परिणत हुन्छ’ डा.उपाध्याय उपन्यासमा भन्नुहुन्छ ।

उपन्यास सुरुदेखि अन्त्यसम्म कौतुहलतामा पढेर सकिन्छ । पढ्दै जाँदा यसलाई छोडन मन लाग्दैन । पाठकलाई यसले बाँधेर राख्दछ । उपन्यासका सकारात्मक पात्रहरू जो उपन्यासमा समेटिएका छन् ती सुरुदेखि अन्त्यसम्म कौतुहलता जन्माउन सफलमात्र नभएर एउटा पात्रले अर्को पात्र सामु आदरपूर्वक सम्मान दर्शाउँछन् । जुन एकदमै राम्रो पक्ष रहेको छ । भाषा सरल, स्पष्ट र रोचक शैलीले यो उपन्यास पठनीय र राम्रो बनेको छ ।

उपन्यास, गीत, कविता, गजल लेखनसँगै विश्व मानचित्रमा आफ्ना सिर्जनाको माध्यमबाट एकपछि अर्को विश्व रेकर्ड राख्दै नेपाल चिनाउने अभियानका अभियन्ता डा.उपाध्याय अहोरात्र, निरन्तर अथक पथिकमा रूपमा क्रियाशील हुनुहुन्छ । एक अद्भूत, असाधारण नेपाली व्यक्तित्व डा.उपाध्याय यो उचाइलाई अझ अल्ग्याउन निरन्तर लागि पर्नुभएको छ । उहाँ हामी सबैको प्रेरणका स्रोत हुनुहुन्छ । स्रष्टा डा.उपाध्यायको कलमले अझ नयाँ-नयाँ कृति जन्माओस् त्यसको हामीले रस्वादन गर्न पाइराखौँ यही गीता कामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *