मध्य भोटेकोशीको भौतिक प्रगति ९५ प्रतिशत

Read Time = 7 mins

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ । अन्तिम चरणका काम भइरहेको आयोजनाको निर्माण आगामी असारभित्र सक्ने लक्ष्य राखिएको छ ।

आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचना (हेडवक्र्स)को निर्माण सकिएको छ । हाल हेडवक्र्स क्षेत्रको प्रोटेक्सनको कार्य भइरहेको छ । ७.२ किलोमिटर मुख्य सुरुङ खन्ने कार्य सम्पन्न गरी कंक्रिट लाइनिङको काम भइरहेको प्राधिकरणले जनाएको छ । विद्युत्गृहको मुख्य सिभिल कार्य सम्पन्न गरी टर्वाइन, जेनेरेटर, नियन्त्रण कक्षका उपकरण जडान कार्य भइरहेको छ । विद्युत्गृहबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब चार किलोमिटर २२० केभी प्रसारण लाइनका टावर निर्माण सम्पन्न भएको भए पनि तार तान्न बाँकी छ ।

प्राधिकरणका अनुसार आयोजना २०७१ साउनमा आएको जुरे पहिरो, विनाशकारी भूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना नेपाल-भारत सीमा नाका बन्द, २०७३ असारमा भोटेकोशीमा आएको बाढी, २०७७ असारमा निर्माणस्थल भोटेकोशी आसपासको क्षेत्रमा आएको बाढी-पहिरो र कोरोनाको चपेटामा परेको थियो । प्राकृतिक विपत्ति र सिभिल एण्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङ्सी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्यसम्पादनका कारण आयोजनाको निर्माण तालिका प्रभावित हुँदै आएको थियो ।

अन्तिम चरणमा रहेको आयोजनाको निर्माण आगामी असारभित्र सक्ने लक्ष्य राखिएको छ ।

ADVERTISEMENT

तर, करिब दुई वर्षको अवधिमा ठेकेदार कम्पनीले उत्साहजनक काम गरी आयोजनालाई निर्माण सम्पन्न हुने अवस्थामा पुर्‍याएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । कार्यकारी निर्देशक घिसिङ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान, आयोजनाको प्रवद्र्धक मध्य भोटेकोशी जलविद्युत् कम्पनीका अध्यक्ष सुभासकुमार मिश्र, प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीसहितको टोलीले निर्माणस्थलको निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिएको छ । टोलीले आयोजना व्यवस्थापन, ठेकेदार कम्पनी र परामर्शदातासँग छलफल गरी चार महिनाभित्र सम्पन्न गर्ने गरी बाँकी रहेका कामलाई तीव्रता दिन निर्देशन दिएको छ ।

कार्यकारी निर्देशक घिसिङले प्राकृतिक प्रकोपको चपेटामा परेर बन्द अवस्थामा पुगिसकेको आयोजनाको हालको निर्माण प्रगति सन्तोषजनक देखिएको बताउनुभयो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सिवाकोटीले ठेकेदार कम्पनीको कार्यसम्पादनमा सुधार आएकाले आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य राखी सोहीबमोजिम एकीकृत तालिका बनाएर काम भइरहेको बताउनुभयो । ठेकेदार कम्पनीका प्रतिनिधिहरूले कुनै समस्या नआएमा तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने गरी काम गरिरहेको बताएका थिए ।
आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इञ्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको थियो । इलेक्ट्रो मेकानिकलतर्फको काम भने एन्ड्रिज हाइड्रोले गरिरहेको छ । आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो । आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब तीन करोड दुई लाख ९० रुपैयाँ रहेको छ । आयोजनाको सुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपुँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ ।

कम्पनीको जारी पुँजीको ५१ प्रतिशत संस्थापक सेयरधनीमध्येमा प्राधिकरणको १०, चिलिमेको ३७, सिन्धुपाल्चोक हाइड्रोपावरको एक, नेपाल अरनिको हाइड्रोपावरको एक, सिन्धु इन्भेष्टमेण्ट कम्पनी प्रालिको एक र सिन्धु भोटेकोशी हाइड्रोपावरको एक प्रतिशत सेयर रहेको छ ।

४९ प्रतिशत साधारण सेयरधनी समूहमा (कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको एक, सिन्धुपाल्चोकवासीकोे १० र सर्वसाधारणको १५ प्रतिशत सेयर) रहेको छ । कम्पनीका साधारण लगानीकर्ता १० लाख ७५ हजार छन् । आयोजनाबाट वार्षिकरूपमा ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाबाट कम्पनीलाई वार्षिक दुई अर्ब ८० करोड रुपैयाँ आम्दानी हुने प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज