बैंकिङ क्षेत्रविरुद्धका गतिविधिप्रति सिबिफिनको आपत्ति

Read Time = 5 mins

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल(सिबिफिन)ले बैंक तथा वित्तीय संस्थाविरुद्धका गतिविधिप्रति विरोध जनाएको छ । सिबिफिनले बैंकिङ सेवा जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमाथि भएका उच्छृंखल, अव्यावहारिक, अराजक गतिविधि र निमुखा कर्मचारीमाथि आक्रमण गर्ने जस्ता निन्दनीय कार्य सदाका लागि रोक्न कडा निर्देशन जारी गर्दै कानुन हातमा लिएर आफ्ना अभिष्ट पूरा गर्न खोज्नेलाई तत्काल कठघरामा उभ्याई आवश्यक कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । देशको अर्थव्यवस्था नै धरासायी बनाउने गरी रचिएका यस्ता अवाञ्छित क्रियाकलाप नरोकिए आगामी दिनमा स्वयं सरकार र आमजनताले बेहोर्नुपर्ने क्षति आंकलन नै गर्न नसकिने भन्दै सिबिफिनले देशको अर्थतन्त्रको रक्तसञ्चारका रूपमा रहेको बैंकिङ सेवालाई भयरहित वातावरणमा सञ्चालन हुने अवस्थाको सिर्जना गर्न÷गराउन सरकार, मातहतका निकाय र सरोकारवालालाई ध्यानाकर्षण गराएको हो ।

कोरोना महामारी, रुस–युक्रेन युद्ध र अन्य विविध विश्व परिघटनाका कारण उत्पादन, माग तथा आपूर्ति शृंखला बिथोलिँदा विश्व अर्थतन्त्रमै शिथिलता छाएको छ । आन्तरिक तथा बाहृय कारणबाट नेपालको अर्थतन्त्रसमेत प्रभावित बनिरहँदा सर्वसाधारणदेखि राजनीतिज्ञ, नीति निर्माता, अर्थशास्त्री र समग्र लगानीकर्तामा समेत चासो र चिन्ता बढाएकोे छ । यस्तो विषम परिस्थितिलाई सहज बनाउँदै अर्थतन्त्र लयमा फर्काउने सम्भावित उपायबारेमा सरकार, मातहतका नियामक निकाय र सरोकारवाला सम्पूर्ण पक्ष सचेत र जिम्मेवार हुँदै आर्थिक सुधारको मार्गमा सामूहिकरूपमा लागिपर्नुपर्ने अहिलेको प्रमुख आवश्यकता बनेको सिबिफिनको भनाइ छ ।

ADVERTISEMENT

आफ्नै देशभित्र मौद्रिक/बौद्धिक लगानी गरी/गराई राष्ट्रको आर्थिक समृद्धिमा योगदान पुर्‍याउने पवित्र मनसायसहित दशकौंदेखि बैंकिङ क्षेत्रको विकासमा समर्पित बैंकिङ क्षेत्रबाटै सुनौलो भविष्यको जीवनरेखा कोरिरहेका लाखौं संस्थापक/सर्वसाधारण लगानीकर्ता, प्रतिबद्ध कर्मचारीको योगदानलाई नजरअन्दाज गरिनुनहुने सिबिफिनले उल्लेख गरेको छ । सिबिफिनद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘अति विकसितदेखि विकासोन्मुख अधिकांश देशले तरलता, ब्याजदर र मुद्रास्फीतिजस्ता चुनौती भोगिरहेको तथ्य जगजाहेरै छ । राष्ट्रिय÷अन्तर्राष्ट्रिय बजारको अवस्था, तरलताको पर्याप्तता, कर्जाको माग तथा आपूर्तिजस्ता विषयले ब्याजदर निर्धारण हुने विषय पनि घाम जत्तिकै छर्लंग छ । स्वयं सरकार, आमउद्यम/व्यवसाय र सर्वसाधारणसमेतले अनपेक्षितरूपमा भोगिरहेका समस्याको उचित समाधानका लागि सबैजना एकजुट भएर लाग्नुपर्ने वर्तमान जटिल अवस्थामा ब्याजदरको विषय अतिरञ्जित बनाउँदै विगत केही समयदेखि बैंक तथा वित्तीय संस्थालाई मात्रै निशाना बनाएर ब्याजमात्र होइन, साँवासमेत नतिर्ने धम्कीसहित विभिन्न स्थानमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण तथा लुटपाट गर्ने जस्ता नियोजित घटनाले बैंकिङ क्षेत्र त्रसित र तरंगित बनेको छ ।’

यसैबीच गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा दिन देशभरका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर गरेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण तथा दुव्र्यवहारका घटना हुन थालेपछि गृहले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई यस्तो निर्देशन दिएको हो । बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सुरक्षामा अलर्ट रहन मन्त्रालयले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज