प्रकृतिले दिएको कुशासनले खोसेको नेपाल

Read Time = 16 mins

✍️ चन्द्रमणि गौतम

स्वदेश र विदेशमा नेपालको वस्तुस्थितिलाई लिएर प्रायः दिनहुँ दुःखद् खबरमात्र प्रचार-प्रसार भइरहेको छ । यसको पुनर्जीवनका सम्भावना नै समाप्त भएर राज्य विघटनतिर गएको भान पर्नेगरी मुलुक संकटग्रस्त रहेको चित्रण भइरहेको छ । मुलुकको वर्तमान अवस्थाबारे कुनै नेपाली सन्तुष्ट र आश्वस्त देखिन्न । विकास र समृद्धिको संवाहक युवाशक्ति हरेक दिन करिब दुई हजारको संख्यामा रोजगारीका लागि आफ्नो थात–बास र मुलुक छोडेर विदेश पलायन भइरहेको छ ।

मुलुक छोडेर जानेहरूले शासनमा बसेकाको नियत र कार्यशैलीमाथि प्रकारान्तरले गम्भीर अविश्वास वा निरासा व्यक्त गरेको भाव पाइन्छ । यस भावले सत्ताका कर्णधारको मनपेट नपोल्नु थप खेदजनक कुरा हो । प्रचुर सम्भावना बोकेको र पुर्खाले महाशक्ति उपनिवेशवादी फौजी आक्रमणलाई परास्त गरेर बचाएको यो देश आज आफ्नै कारणले स्खलित, क्लान्त र परावलम्बी भइरहेको छ ।

राष्ट्र निर्माण, देशको उन्नति, जनताको सुख-समृद्धिका लागि मिहिनेत गर्नुपर्ने नेता, जनप्रतिनिधिले मुलुकका विद्यमान समस्या र चुनौतीलाई चिन्नु, त्यसलाई जितेर प्रगति तथा फलताको दिशामा मुलुकलाई गति दिन सक्नुपर्छ, छलकपट, बाहनाबाजी गर्न नहुने हो ।

प्रतिभा पलायन, पुँजी पलायन, र राष्ट्रनिर्माणको ताकत पलायनले राष्ट्रिय स्वाधीनतालाई पराधीनतामा बदलिरहेको छ । हुन पनि हो, जो जे-जस्ता नारा र सपनाको व्यापार गर्दै आजसम्म शासनमा पुगे, कसैले उत्तम दिन र नवयुगतिर मुलुकलाई डोहोर्‍याएको पुष्टि हुन सकेन । शासनले जनतालाई सर्वप्रथम दिने कुरा, सरकार जनताका लागि नै समर्पित भएर लागिपरेको छ भन्ने भरोसा र आसाको सञ्चार हो । वस्तुतः राष्ट्रिय राजनीति आज अत्यन्त अराजक, अस्थिर र भरोसाहीन भएकाले पतनोन्मुख छ । जहाँ राजनीति पस्छ त्यहाँ सामान्य वातावरण पनि भाँडिने र लथालिंग हुने क्रम सुरु हुन्छ । पछिल्लो जनआन्दोलन यताको राजनीति झन् अराजक बन्दै गएको र असफल राज्य हुनलागेको खतराजन्य वास्तविकता त विभिन्न शासकीय परिसूचकले प्रमाणित गरिरहेका छन् ।

सर्वत्र प्रगति र समृद्धिका यथेष्ट सम्भावना भएर पनि नालायक नेतृत्वको जिम्मामा देश थन्किएपछि आउने दूर्दशा यस्तै हो । हालै चीनमा भएको चियापत्तीको प्रदर्शन र प्रतिस्पर्धामा नेपालमा उत्पादित चिया सर्वोत्कृष्ट भयो । तर, नेपालमा चियापत्ती टिप्ने मौसममा भारतको चिया उत्पादनलाई हेरेर मजदुर आन्दोलन गराउँछन् हाम्रा ‘क्रान्तिकारी र प्रगतिशील राजनीति’का संवाहकहरू । विसं २०२० को दशकमा नेपालले धान–चामल निर्यातमा विश्वको पाचौं स्थान लिएको थियो । कृषि उत्पादन, त्यो पनि अतुलनीय गुणस्तरको उत्पादनमा आत्मनिर्भर भई प्रचुर निर्यात्को सम्भावना बोकेको नेपाल, वर्तमानमा वर्षेनी तीन खर्बभन्दा बढीको कृषि तथा खाद्यवस्तु आयातमा पराश्रित भइरहेको छ ।

कर्णालीलगायत देशभरि उत्पादित जडिबुटी भारतले चिन्यो, यहाँको शिलाजित रुसीहरूले चिने, नेपालको अर्गानिक तरकारीलाई अरबीहरूले चिने, जुम्ला र मुस्ताङ्को स्याउलाई भारतीयहरूले चिने, पूर्वी पहाडको सुन्तला बंगाली र बंगलादेशीले चिने, नेपालमा उत्पादित कफीलाई जापानी र युरोपेलीहरूले चिने, रसुवाको मूलको पानी (मिनरल वाटर) युरोपेलीहरूले चिने । नाम लिएर साध्य छैन, नेपालमा रैथाने बिउबाट उत्पादित कृषि उत्पादनले हामीलाई उँभो लगाउने बरदान बोकेका छन् । अर्गानिक तरकारी भारततर्फ निर्यात गरेरै पनि सिक्किमेहरू मालामाल भइरहेका छन् । औद्योगिक उत्पादनमा पनि नेपाल सम्भावनाको केन्द्र हो । तर, छाडा राजनीतिले पालेको दण्डहिनता, भ्रष्टाचार, नातावाद-कृपावाद, जहाँसुकै रछ्याने राजनीतिको पार्टीकरणले उद्यमीहरूलाई गरेर देखाउन दिइरहेको छैन । नेपालबाट मिनरल वाटर, विद्युत्को ट्रान्सफरमर, चस्माको लेन्स, सिंहदरबार वैद्यखानाका औषधिहरू, एलोप्याथिक औषधिहरू, जस्तापाता, गलैंचा, पश्मिनाका सामग्री, आदि कति छन् कति, जसको विदेशमा उच्च माग छ । यथास्थितिमै नेपालले गतवर्ष साडेबाह्र अर्बको हस्तकलाका सामग्री निर्यात गरेकै हो ।

ADVERTISEMENT

नौलो र अरूभन्दा फरक ढाँचाको नेपाली झण्डाको अमेरिकामा ठूलो माग छ, जो अतिशयोक्ति होइन, वास्तविकता हो । सन् २०११ को वर्षमा मात्र अमेरिकामा दुई करोड ६४ लाख रुपैयाँबराबरका एक लाख थानभन्दा बढी नेपाली राष्ट्रिय झण्डा निर्यात् भयो । नेपालबाट भन्साररहित सुविधामा अमेरिका पुग्ने वस्तुको परिमाणमा नेपाली राष्ट्रिय झण्डा चौथो स्थानमा थियो । विगत दशकदेखि अमेरिकामा नेपालको झण्डाको माग निरन्तर बढिरहेको छ । राष्ट्र निर्माण, देशको उन्नति, जनताको सुख-समृद्धिका लागि मिहिनेत गर्नुपर्ने नेता, जनप्रतिनिधिले मुलुकका विद्यमान समस्या र चुनौतीलाई चिन्नु, त्यसलाई जितेर प्रगति तथा सफलताको दिशामा मुलुकलाई गति दिन सक्नुपर्छ, छलकपट, बाहनाबाजी गर्न नहुने हो । आफूले मुलुकको सामथ्र्यलाई बुझेको बताउन सक्ने आत्मविश्वासी र दूरद्रष्टा नेता नै कोही देखिएन, सिवाय विगतमा बीपी कोइराला ।

बीपी भन्नुहुन्थ्यो, ‘मलाई यदि नेपाली जनताले श्रेय दिन खोज्दछ भने यसकारणले नदेओस् कि मैले आफ्नो बुताबाट एक भ्रम सिर्जना गरेँ भनेर । मलाई श्रेय दिनुछ भने एउटै कुरामा देओस् कि मैले देशभित्र देशको सामथ्र्यलाई बुझेको रहेछु । र, देशको सामथ्र्यलाई मैले मुखरित गर्ने कोसिस गरेको रहेछु । त्यो श्रेय मलाई देओस्, न कि मैले मेरो आफ्नो बुताबाट गरेँ भनेर । नेपालको सामथ्र्यलाई मैले बुझेँ,........मेरो केही देन छ भने यस देशको सामथ्र्यलाई बुझेर आफ्नो कुरा भनेको छु ।’ अब चुनौतीका साथ सोध्ने बेला आयो-आज को नेता छ, जो बीपीपछि देशको सामथ्र्यलाई बुझेको आधारमा मुलुकको भाग्य र भविष्यबारे न्यायोचित कुरा गर्नसक्ने प्रमाणित होस् ? भक्तजन, भ्रष्टजन र तस्करजनलाई सल्लाहकार वा परामर्शदाता बनाएको नेताले मुलुकको सामथ्र्य जान्ने हैसियत राख्दैन । सतहमा देखापरेका परिदृश्य आफैं बोलिरहेका छन्- सबै ठूला दलहरू आफ्नै कारणले लतारिएका हुन् र दयनीय रूपमा आफ्नै नाराका अगाडि पराजित भएका छन् । जनता आफ्नो निदोर्षीताको सजाय यिनै दलहरूबाट पाइरहेका छन् । यी पार्टीहरूले नेपाली राजनीतिको अचानोमाथि राखेर सबै ‘वाद’ ध्वस्त बनाइसकेका छन् । प्रख्यात कार्टुनिष्ट पोगोको व्यंग्यले नेपालका सबै पार्टीको चरित्र समेट्छ-‘हामीले आफ्नो शत्रु फेला पार्‍यौँ, त्यो त हामी आफैँ पो रहेछौं ।’

राजनीति तर्कहरूको उत्सव वा विचारहरूको मेलामात्र होइन न त नाराहरूको प्रतिस्पर्धामात्र हो । राजनीति जनतासमक्ष भरोसायोग्य प्रतिज्ञाको नाम हुनुपथ्र्यो । विकल्पको खोजी होइन संकल्पको इच्छाशक्ति हुनुपथ्र्यो । तर, नेपालले अधोगतिशील राजनीतिका उलामालामा लागेर लोकतन्त्रको तपस्यामा धेरै अमूल्य अवसर गुमाइसकेको छ ।

वैध अर्थतन्त्र र पुँजी बजारलाई सुनिश्चित गर्न सरकारले नसकेपछि समानान्तर अर्थतन्त्र मौलाएर गइरहेको छ जसको खटनमा वैध अर्थतन्त्र बसीभूत देखिन्छ । बैंकहरू भूमाफियालाई लगानी गर्न उद्यत् भइरहेका छन् । त्यसैले वित्तीय कारबाही कार्यदल (फाइनेन्सियल एक्सन्स् टास्कफोर्सले मौद्रिक निर्मलीकरण तथा वित्तीय क्षेत्रमा कडाइको व्यवहार अपनाएपछि हाल कारबाहीको ताउरमाउर देखिएको हो । ‘समानान्तर अर्थतन्त्र’ भित्र कालो धन खेलिरहेको छ । वैध अर्थतन्त्र निरासाजनक भएकोले उत्साह दिन नसकेकै परिणति हुण्डी कारोबार मौलाइरहेको छ । वैध बाटोबाट आउने विप्रेषणको रकम घटिरहेको किन देखिन्छ भने वैध आर्थिक गतिविधि झन्झटिलो र न्यून प्रतिफलदायी हुनेगरेको छ भने अवैध आर्थिक गतिविधिबाट जादुगरी झैँ उत्साहजनक प्रतिफल पाउने भएपछि वैध धन पनि कालोधन हुनजाने अनौठो अवस्था नेपालले भोगिरहेको छ ।

सबैजसो पार्टीभित्र सत्ता र स्वार्थको सिद्धान्तहीन झगडा, ‘लोकतान्त्रिक गणतन्त्र’ का रित्ता ढ्वाङहरूको शक्तिशाली हुने अन्धो आकांक्षाबाट लक्षित छ । फुट्नबाट बचेको कुनै पार्टी छैन । फुटका दुवै पक्षमा मन्थरावृत्ति गर्नेहरूको कमी छैन । एक्काइसौं शताब्दीका ‘मन्थराहरू’ हावी हुनाले झगडाले उग्ररूप लिँदै जाने गर्छ । पार्टीमा नीतिगत र सैद्धान्तिक बहस हुँदैन, छिर्के लगाउने, पछार्ने, आफू बलियो र सुरक्षित बन्ने दाउ हेर्नेमात्र काम भइरहेको छ । कोठेशक्ति चलाउँदै र ओठेभक्तिमा रमाउँदै आएका नेताहरूलाई विशाल पार्टी चलाउनुपरेको आजको अवस्था नै एउटा समस्या भइदियो । राजनीति तर्कहरूको उत्सव वा विचारहरूको मेलामात्र होइन न त नाराहरूको प्रतिस्पर्धामात्र हो । राजनीति जनतासमक्ष भरोसायोग्य प्रतिज्ञाको नाम हुनुपथ्र्यो । विकल्पको खोजी होइन संकल्पको इच्छाशक्ति हुनुपथ्र्यो । तर नेपालले अधोगतिशील राजनीतिका उलामालामा लागेर वा परिवर्तनका लागि उधारो भरोसा गरेर लोकतन्त्रको तपस्यामा धेरै अमूल्य अवसर गुमाइसकेको छ, जुन अवसर अब फर्केर आउँदैन । संसद् औंलामा गन्न भ्याइने केही शीर्ष नेताको रबर स्टाम्प र निगाहको पात्रजस्तो भइरहेको छ । यस्ता सवालको उत्तर सच्चा लोकतन्त्रवादी हूँ भन्नेले कम्युनिष्ट शिविरभित्र खोजेर होइन, आफैँभित्र पाउनुपर्दछ । सानो चित्त बोकेर ठूलो पार्टी हुन सकिन्न, न त ‘कोठे शक्ति र ओठे भक्ती’ले कहीँ पुर्‍याउँछ ।

खिचडी सरकार बन्ने र भत्किने दूषित परम्परालाई कहिले बिदा गर्ने ? आफ्नो व्यवस्थापन, पालो वा शेयर खोज्न ध्यानमग्न त्यस्ता नेताको दिमागबाट न जनताले भरोसा गर्नसक्ने मार्गदर्शन निस्कन सक्छ न त त्यस्ताका कण्ठनलीबाट जनताका अव्यक्त चाहना र आवश्यकतालाई वाणी दिने खुबी पाइन्छ । जनतालाई पिरोल्ने दुष्परिणामवाला राजनीतिको स्रोत कम से कम लोकतन्त्रवादी पक्षले बन्नुहुँदैन भन्ने चेत पलाउन सकेको भए यो दूरावस्था किमार्थ उत्पन्न हुने थिएन ।

सच्चा नेतृत्वले समय छँदै आफूलाई ठीक बाटोमा फर्काउने हो भने यी विसंगतिबाट उसले भागबण्डा र हिस्सा खाने प्रवृत्तिबाट मुक्ति पाउनुपर्छ । जसरी सूर्य पूर्वबाट उदाउनुपर्छ भन्ने जरुरी छैन । उज्यालो जुन दिशाबाट आए पनि हुन्छ । राष्ट्रको आवश्यकता अनुरूपको नेता जुन पार्टीबाट उदाए पनि हुन्छ । जबसम्म पार्टीहरूभित्र त्यस्तो चेतना र साहस पलाउँने छैन, तबसम्म सारा परिवर्तन व्यर्थ हुनेछ । व्यर्थको परिवर्तनले देशको बाटो छेक्ने र जनताको भाग्य खोस्नेबाहेक केही हुँदैन । सबै पार्टीमा चेतना भया । cmgktm@gmail.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज