फागुपूर्णिमा र होली पर्व

Read Time = 9 mins

✍️ तोयराज नेपाल

फाल्गुनशुक्ल पूर्णिमालाई होली वा फागुपूर्णिमा भनिन्छ । यसबारे एउटा उपाख्यान छ- अघि माली नामका राक्षसकी छोरी ढुण्ढा नामकी राक्षसीले शिवजीको तपस्या गरेर शस्त्र, अस्त्र, जाडो, गर्मी, वर्षा आदि केहीबाट पनि प्रभावित नहुने र यी यस्ता धेरैथरीका पीडाबाट भय र मृत्यु नहुने केवल उन्मत्त बालकबाट मात्र भय हुने वरदान पाएकी थिई ।

बालबालिकाको निर्भय क्रीडाबाट र मनोरञ्जनबाट मात्र यसको विनाश सम्भव हुने हुनाले यसको विनाश गर्न बालबालिकाहरूको मनोरञ्जनात्मक क्रीडाहरूको आयोजना गर्नुपर्छ । यस दिनका राति भद्रापछि होलिकाको पूजा गरी होलिका दाह वा चीरदाह गरेर त्यसको खरानी शिरमा लगाएर पर्व मनाउनुपर्छ भन्ने कुरा धर्मसिन्धुमा उल्लेख छ ।
अस्माभिर्भयसन्त्रस्तैः कृता त्वं होलिके यतः ।
अतस्त्वां पूजयिष्यामि भूते भूतिप्रदा भव ।। धर्मसिन्धुः।
यस मन्त्रले सुकेका काठ र गोबरका गुइँठाको थुप्रो लगाएर आगो सल्काई पूजा गरेर प्रार्थना गर्नुपर्दछ ।
प्रार्थना गर्ने मन्त्र-
वन्दितासि सुरेन्द्रेण ब्रहृमणा शङ्करेण च ।
अतस्त्वं पाहि नो देवि भूते भूतिप्रदा भव ।।
तमग्निं त्रिः परिक्रम्य गायन्तु च हसन्तु च ।
जल्पन्तु स्वेच्छया लोका निःशङ्क यस्य यन्मतम् ।।
पञ्चमीप्रमुखास्तास्तु तिथयोक् नन्तपुण्यदाः ।
दश स्युः शोभनास्तासु काष्ठस्तेयं विधीयते ।। धर्मसिन्धु
हे होलिके हामी तिमीसँग डराएर तिम्रो पूजा गर्छौं, इन्द्र, ब्रहृमा र शङ्करले पनि नमस्कार गरिने तिमी हाम्रो कल्याण गर, भनेर प्रार्थना गरी अग्निको तीनपटक प्रदक्षिणा गरेर गाउने नाच्ने, हाँस्ने–खेल्ने, जसलाई जे मन लाग्छ सोही बोल्ने गरेर पर्व मनाउनुपर्दछ । फाल्गुन शुक्लपञ्चमीदेखि पूर्णिमा सम्मका दश दिनसम्म अबिर र रंगहरू परस्परमा हानाहन गरेर मनोरञ्जनात्मक क्रीडा गर्नुपर्दछ । यसबाट मात्र ढुण्ढा राक्षसीको मृत्युहुन्छ ।
न तस्य दुष्कृतं किञ्चिन्नाधयो व्याधयोक्पि च ।
वन्दयेद्धोलिकाभूतिं सर्वदुष्टोपशान्तये ।। (ध.सि.)
यसप्रकार राति होलीको उत्सव मनाएर प्रतिपदाका दिन बिहान चाण्डाललाई छोएर स्नान गर्नुपर्छ । यसरी विधिपूर्वक होलिका पूजा र होलिका वा चीरदहन गर्दा मनुष्यका दुष्कर्म नाश हुन्छन्, मानसिक र शारीरिक रोगव्याध लाग्दैनन् । लागेका रोगव्याध हटेर जान्छन्, भनिएको हुँदा होली खेली मनोरञ्जन गर्ने परम्परा चलेको हो ।

‘बलीयसी केवलमीश्वरेच्छा’ भनिएको हुँदा भगवानका कृपा पात्र भक्त प्रहृलादको भगवानका इच्छानुसार नै सुरक्षा भयो । त्यसबेलादेखि फाल्गुन शुक्ल पूर्णिमाका दिन दुष्ट चरित्र भएकी होलिकाको पूजा गर्ने र काष्ठ दहन गर्ने विधान पनि छ ।

ADVERTISEMENT

यसबारे अर्कोे पनि उपाख्यान छ (होलिका नामकी हिरण्यकशिपु दानवकी बहिनी थिई । जसले अग्निबाट नडढ्ने वरदान पाएकी थिई । विष्णुको द्वेषी हिरण्यकशिपुले आफ्ना पुत्र विष्णुका परम भक्त प्रहृलादलाई मार्न विभिन्न उपाय गर्दा पनि मार्न नसकेपछि होलिका सँग सल्लाह गरी मार्ने विचार ग¥यो । होलिकाले प्रहृलादलाई काखमा लिएर दाउराका रासमा बसेपछि आगो लगाइयो । तर ‘न मे भक्तःप्रणश्यति’ भन्ने भगवान् नारायणको सत्य वचनका अगाडि होलिकाले प्राप्त गरेको वरदानले केही प्रभाव पार्न सकेन । अन्ततः होलिका नै डढेर भष्म भई ।

‘बलीयसी केवलमीश्वरेच्छा’ भनिएको हुँदा भगवानका कृपा पात्र भक्त प्रहृलादको भगवानका इच्छानुसार नै सुरक्षा भयो । त्यसबेलादेखि फाल्गुन शुक्ल पूर्णिमाका दिन दुष्ट चरित्र भएकी होलिकाको पूजा गर्ने र काष्ठ दहन गर्ने विधान पनि छ । पूजागर्ने मन्त्र यसप्रकार छ– ‘होलिके पूजयामि त्वां सर्वसौख्यप्रदायिनीम् । अर्चितासि महाभागे देहि मां धनसम्पदः ।।’ होलिका दहन भएको खुसियालीमा त्यही खरानी र अबिर आदि समेत लगाउने परम्परा चलेको हो । अर्को कथा अनुसार कृष्णलाई विषालु दूध पिलाउन आएकी पूतना राक्षसीलाई कृष्णजीले दूध चुस्ता चुस्तै प्राणैसमेत चुसेर मारेपछि त्यसलाई पोलेर खुसियाली मनाएको हुँदा त्यहाँदेखि यो होली खेली मनोरञ्जन गर्ने परम्परा चलेको हो भन्ने पनि एकथरी भनाइ छ । अर्कोकुरा भगवान् श्रीकृष्णले पनि वृन्दावनमा राधा एवं गोपीहरूकासाथ होली खेल्नुभएको र होलीको परम्परालाई कायम गर्नुभएको प्रसंग गर्गसंहितामा उल्लेख छ । आज भोलि पनि ‘वृन्दावनकी होली’ भन्ने भनाइ प्रसिद्ध नै छ । जे होस् फाल्गुन शुक्लपञ्चमीदेखि पूर्णिमासम्म होली खेल्ने र पूर्णिमाका दिन चीरदाह गर्ने शास्त्रीय विधान नै हो ।

यो पर्वमा पहाडी जिल्ला र उपत्यकामा रात्रिमा पूर्णिमा भएकादिन होली खेली मनाउने परम्परा छ भने तराईका जिल्लाहरूमा पूर्णिमाका भोलिपल्ट रात्रिमा परेवा भएका दिन होली खेल्ने परम्परा छ । जेभए पनि यो पर्व नेपाल अधिराज्यभरि नै मनाउने परम्परा छ भने, भारतमा पनि होली खेल्ने परम्परा छ । कतिपय व्यक्ति गाँजा, भाङ्, धतुरो आदिको सेवन गरी उन्मत्त हुने पनि गर्दछन् ।

परस्पर मिलेर सद्भाव र सल्लाहले शिष्टता प्रदर्शन गर्दै अबिरको टीका लगाएर होली खेल्नु शास्त्रीय विधान हो, तर कसैको इच्छाविपरीत रातो, कालो, हरियो, नीलो, ध्वाँसे आदि कुनै पनि रंगको र फोहोरी पानीको प्रयोग गरी जथाभावी गरेर कामका मानिसलाई बाधा पारी महिलाहरूको हुर्मत लिएर नचाँहिदो अशिष्टता प्रदर्शन गर्ने कुप्रथा चलेको छ, त्यो भने अशोभनीय र अहितकारक हो । त्यस्ता कुप्रथा त्यागेर शिष्टशैलीमा होली खेलेर मनोरञ्जन गर्नु र सबैप्रति सद्भाव प्रकट गर्नु यसपर्वको असल पक्ष हो । हामी पनि शिष्ट भएर होली खेली पर्व मनाएर शास्त्रीय मनोरञ्जन गरौं । अस्तु । ॐ हरये नमः।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज