हवाई सुरुङमार्फत् ऊर्जा खपत घटाउन अनुसन्धान

Read Time = 4 mins

काठमाडौं । काठमाडौं विश्वविद्यालय(केयु)ले जमिनभित्र हवाई सुरुङ निर्माण गरी औषधि उद्योगमा ऊर्जा खपत घटाउन अनुसन्धान सुरु गरेको छ । नर्वेजियन सरकारको ‘इनराइज नेपाल कार्यक्रम’को सहयोगमा केयुको फार्मेसी डिपार्टमेन्टले औषधि उद्योगमा आवश्यक पर्ने २५ डिग्री सेन्टिग्रेड तापक्रमलाई प्राकृतिक विधिबाट न्यूनीकरणका लागि पृथ्वी हवाई सुरुङ (अर्थ एयर टनेल) सँग एकीकृत तताउने, वायु सञ्चार र वातानुकूलित (एचभिएसी) प्रणालीबारे अनुसन्धान सुरु गरेको हो । केयुका प्राडा विवेक बरालको सल्लाहकार र विश्वविद्यालयका फार्मेसी डिपार्टमेन्टका सहप्राध्यापक डा. राजन श्रेष्ठको प्रमुख अनुसन्धान नेतृत्वमा सहप्राध्यापक डा. अश्विनीकुमार श्रेष्ठ, उपप्राध्यापक अनुप लुईँटेल, लेक्चर ललितमोहन पन्तलगायतको टिमले अनुसन्धान सुरु गरेको केयुले जनाएको छ । अनुसन्धानअन्तर्गत पहिलो चरणमा २० उद्योगको ऊर्जा खपतसहित विश्लेषण गरी एचभिएसी प्रणालीको सम्भावनाबारे अध्ययन गरिने बताइएको छ ।

पन्तका अनुसार अनुसन्धान दुई वर्षभित्र पूरा हुनेछ भने नमुनाका रूपमा विश्वविद्यालयका फार्मेसी डिपार्टमेन्टमा प्रणाली स्थापना गरिनेछ । हाल दुई मेगावाटको थर्मल र नेपाल विद्युत् प्राधिकरणको आठ मेगावाट गरी १० मेगावाट विद्युत् औषधि उद्योगले उपयोग गर्दै आएका छन् । जसमध्ये करिब ६५ प्रतिशत विद्युत् औषधि उत्पादनका क्रममा चिस्याउन र तताउन उपयोग हुने गरेको छ । एचभिएसी प्रणालीका लागि २५ देखि २७ डिग्री ऊर्जा आवश्यक पर्छ तर नेपालको तराई क्षेत्रमा गर्मीका बेला ४५ र जाडोमा पाँच डिग्री तथा पहाडमा गर्मीमा ३५ डिग्री सेन्टिग्रेड र जाडोमा तीन डिग्री सेन्टिग्रेडसम्म तापक्रम हुने गरेको छ । एचभिएसी प्रणालीअन्तर्गत चार मिटर जमिनमुनि हवाई सुरुङ निर्माण गर्दा जाडो र गर्मी दुवैमा तापक्रम २० डिग्री सेन्टिग्रेडमा झारिदिन्छ । उक्त प्रणालीले प्रतियुनिट विद्युत्मा ८० प्रतिशत खर्च कटौती हुने अनुमान गरिएको छ । अनुसन्धानका क्रममा स्नाकोत्तरमा अध्ययनरत मेकानिकलतर्फका एक र फार्मेसीतर्फका एक विद्यार्थीलाई शोधको समेत अवसर दिइने र विज्ञसहितको दुई सम्मेलन गर्ने केयुको तयारी छ । युरोपियन मुलुकले आवासमा एचभिएसी प्रणालीमार्फत् ऊर्जा न्यूनीकरण गरिरहेका छन् ।

ADVERTISEMENT

केयुका अनुसार एचभिएसी प्रविधिले हावाको तापक्रम मिलाउने, हावालाई शुद्धीकरण आद्र्रता नियन्त्रण र चाप मिलाउने कार्य गर्छ । यसको उद्देश्य जमिनभित्र हवाई सुरुङ निर्माण गरी गुणस्तरीय हावा प्रदान गर्नु हो । यो प्रणाली थर्मोडायनामिक्स, फ्लुइड र हिट ट्रान्सफर सिद्धान्तहरूमा आधारित मेकानिकल इञ्जिनियरिङको एउटा विषय पनि हो । अस्पताल, कार, रेल, हवाईजहाज, जहाजलगायतका व्यवसायमा पनि यो प्रणालीको उपयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज