काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख नौ हजार ७२ रुपैयाँ बराबरको सहयोग गरेको छ । सामाजिक साझेदारीको अवधारणाअन्तर्गत एनआरएनएले २०७२ को विनाशकारी भूकम्पपछिको पुनर्निर्माणका क्रममा सुरु गरेको लाप्राक बस्ती विकास आयोजनाका लागि खरिद गरिएका निर्माण उपकरण, औजार र सवारीसाधन तथा बालुवाटारस्थित एनआरएनए सचिवालयले खरिद गरेका फर्निचर तथा सामाग्री केन्द्रलाई सहयोगस्वरूप हस्तान्तरण गरेको हो । हस्तान्तरित सामग्री केन्द्रको वीरगञ्जस्थित कृषि औजार कारखाना लिमिटेडको पुनस्र्थापनामा प्रयोग गरिने बताइएको छ ।
सो अवसरमा एनआरएनएकी कार्यकारी अध्यक्ष रविना थापाले नेपालका वैज्ञानिक तथा समाजसेवी डा. महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्र स्थापनासहित मुलुकमा वैज्ञानिक अनुसन्धान, सूचना-प्रविधि तथा समाजका अन्य क्षेत्रमा राष्ट्रको उन्नति र संवद्र्धनमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । एनआरएनए अध्यक्ष कुल आचार्यले विदेशमा रहेका नेपालीले केन्द्रलाई यथाशक्य सहयोग गर्ने प्रतिबद्धता जनाउँदै पुनको सक्षम नेतृत्वमा मुलुकभित्रै विभिन्न आविष्कार भइरहेकोप्रति खुसी व्यक्त गर्नुभयो । उपाध्यक्ष आरके शर्माले विदेशमा सिकेको ज्ञान र सीप मुलुकमा प्रयोग गर्न फर्कने हुटहुटी सधैँ चलिरहने भए पनि विभिन्न कारण फर्कन नसकेको प्रसंग जोड्दै पुनले देशमा फर्केर गरिरहेको कामले एनआरएनएलाई प्रेरणा प्राप्त भएको बताउनुभयो । उहाँले समृद्ध मुलुक निर्माण र विकासका लागि केन्द्रसँग एनआरएनएले सदैव सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । एनआरएनए प्रवक्ता सोम सापकोटाले मुलुकमा कृषि सामग्री आयात बढ्दो क्रममा रहेको अवस्थामा विगत तीन दशकदेखि बन्द रहेको कृषि औजार कारखाना सञ्चालनका लागि केन्द्रले लिएको पहलकदमीले नेपालको कृषि क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
केन्द्रका संस्थापक पुनले कृषिप्रधान देश भए पनि कृषि औजार बनाउने कारखाना नै तीन दशकदेखि बन्द रहँदा आफूलाई केही गर्नैपर्छ भन्ने महसुस भएकाले पनि कृषि औजार कारखाना पुनः सञ्चालनको योजना अघि सारेको बताउनुभयो । देशैभरिका किसानले आविष्कार केन्द्रबाट ठूलो अपेक्षा राखेकाले पनि कृषि औजार कारखाना पुनस्र्थापनाका लागि आफू अहोरात्र खटिरहेको उहाँको भनाइ थियो । केन्द्रको सहयोगका लागि ‘मेक इन नेपाल’ र ‘स्थानीय नवप्रवर्तन’ अवधारणाअन्तर्गत संघ तथा संघका अभियन्ताले व्यक्तिगतरूपमा आर्थिक सहयोग गर्दै आएका छन् ।
सोही अवधारणाबाट प्रेरित भई एनआरएनएले यसअघि पनि केन्द्रलाई १२ लाख ८७ हजार पाँच सय ८० रुपैयाँ हस्तान्तरण गरिसकेको छ । केन्द्रलाई प्रोत्साहन गर्नकै लागि भन्दै पूर्वअध्यक्ष भवन भट्टद्वारा स्थापित एक करोड राशिको ‘भवन कीर्ति रत्न’ पुरस्कार केन्द्र तथा पुनलाई प्रदान गरिएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts