विद्यालय शिक्षामा ज्ञान, योग र भक्ति आवश्यक !

Read Time = 21 mins

✍️ घनश्याम कोइराला

हाम्रो शिक्षा र हामीले शिक्षाबाट राखेको परिणामको अपेक्षा हेर्दा कविशिरोमणि लेखनाथ पौड्यालको यो पंक्ति बडो सार्थक देखिन्छ, ‘रिट्ठाको रूख रोपेर कहाँ फल्छ र कागती ?’ ज्ञानी, नैतिकवान्, कर्मनिष्ठ जनशक्तिको अपेक्षा राख्ने तर त्यस्तो शिक्षा नदिने गरेर अपेक्षा कहाँ कसरी पूरा हुन्छ र ? यसका लागि त ज्ञान, भक्ति र योगको शिक्षा दिनुपर्दछ ।

संसारमा धेरै कुरा बदलियो । धेरैका परिभाषा बदलियो । उहिले खाना भन्नाले दालभात, ढिँडो, रोटी र सितन भन्नाले तरकारी, अचार, चटनीमात्र बुझ्ने नेपाली समाज अहिले त्यतिमा सीमित छैन । अहिले त खाना वा सितन भन्नासाथ अनेकौं व्यञ्जन र परिकारहरू बुझिन्छ । तर, धर्म, संस्कार, संस्कृति, जातपात, नीति, ज्ञान, भक्ति, योग आदिका विषयमा उस्तै सोचमा अल्झिरहेको देखिन्छ । नेपाली समाज व्यवहारमा बदलिएको छ, यही गतिमा सोच र चिन्तनमा बदलिन सकेको छैन । जड र अन्धविश्वास भन्ने यस्तै सोच, चिन्तन र विचारलाई हो ।

मानिसका सोच, चिन्तन, दृष्टिकोण र व्यवहारमा निखार ल्याउन शिक्षाको ठूलो भूमिका हुन्छ । विद्यालय शिक्षामा जति उपयोगी विषय बोध गराउन सकिन्छ, त्यति नै पछिका लागि कामलाग्दो हुन सक्दछ । यस विषयमा नीतिशास्त्रमा भनिएको छ :
‘यन्नवे भाजने लग्न संस्कारो नान्यथाभवेत् ।
कथाच्छलेन बालानां क्रियते चोपदेशिका ।।’
यसको भावार्थ के हो ‘जसरी माटोको काँचो भाँडोमा कोरिएका चिहृन पछि पनि कायम रहन्छ, त्यसैले कथाको माध्यमबाट बालकहरूलाई उचित उपदेश दिइन्छ ।’

जीवनभरि काम लाग्ने विषयको ज्ञान बाल्य कालमै दिन सकियो भने त्यो दिगो हुन्छ । त्यसैले मानिसहरूलाई शिक्षा दिने कामको थालनी उनीहरूको बाल्यकालदेखि नै प्रारम्भ गरिन्छ । बाल्यावस्थामा सिकेका कुरा बालबालिकाले सितिमिति बिर्संदैनन् । मानिसहरूको बोली नफुट्दै सिकाएका अक्षर आजीवन सम्झना रहेको विषय हामी सबैलाई ज्ञात नै छ । शिक्षाको सन्दर्भमा जीवनको प्रथम अवस्था आधारकाल हो । यो अवस्था साह्रै महत्वपूर्ण हुन्छ । बाल्यावस्थामा शिक्षा लिन नपाएका मानिसहरू प्रायः जीवनभरि अशिक्षित नै रहेका हुन्छन् ।

शिक्षाका दुई पक्ष छन् एउटा रूप र अर्को सार । पुस्तक आदि पाठ्यसामग्री, यसका विधि व्यवस्था, पढाउने शिक्षक-शिक्षिकाहरू, शिक्षणस्थान, अन्य भौतिक वातावरण यसका रूप पक्ष हुन् । यही रूप पक्ष हुँदै मानिसहरू सारतिर अग्रसर हुँदै जान्छन् । अक्षर एक प्रकारका चित्र हुन् । अक्षर शिक्षाको कहिल्यै नबिर्सिइने रूप यही हो ।

शिक्षाको दुई प्रकारका उद्देश्य देखिन्छन् । पहिलो, आधार उद्देश्य र दोस्रो, कार्यपरक उद्देश्य । आधार उद्देश्यअन्तर्गत शिक्षका मानिस स्वयंको व्यक्तित्वमा परिवर्तन ल्याउने अन्तर्वस्तु समेटिन आवश्यक हुन्छ भने कार्यपरक उद्देश्यअन्तर्गत मानिसको कार्यक्षमताको विषय समेटिन आवश्यक हुन्छ ।

पढाइबाट पाइने जानकारी नै शिक्षाको सार हो । मानिस जतिजति हुर्कंदै जान्छ, उति उति उसका ज्ञानेन्द्रिय र कर्मेन्द्रिय विकसित र सक्रिय हुँदै जान्छन् । उनीहरूका इन्द्रिय सक्रिय हुने क्रममा मानिसलाई रूप र सार दुवैले प्रभाव पारिरहेका हुन्छन् । परिवार, सरसंगत, समाज, अन्य अनेकौं माध्यमहरूबाट प्राप्त जानकारीहरूलाई मानिसको ज्ञानेन्द्रियले पुनरुत्पादन गर्दछ र यो नै ज्ञान बन्दछ । त्यसैले विद्यार्थी कालमा प्राप्त हुने वस्तुगत जानकारी तथा अनुभूतिले उसको मस्तिष्कमा नमेटिने प्रभाव पार्दछ । अतः मानिसले प्राप्त गरेको शिक्षा असल हुन सक्यो भने मानिसको जीवन असल हुन्छ र यसो हुन सकेन भने जीवन नकारात्मकतातिर बढ्न सक्दछ । एउटा मानिस असल वा खराब हुनुले सिंगो जगतलाई प्रभाव पार्दछ ।

कुनै पनि कार्य अकारण हुँदैन । केही कार्य भइरहेको छ भने त्यसको कारण हुनैपर्दछ । ‘कार्य-कारण’ सम्बन्धको हेक्का नराखी गरिएका काम अकारण काम हुन्छ अर्थात् त्यस्तो काम व्यर्थ काम हो, समय नष्ट गर्ने मात्र हो (वास्तवमा समय त के नष्ट हुन्थ्यो र आफैं नष्ट हुने हो) । त्यसैले हामीले हाम्रो परिवार, समाज र संसार राम्रो बनाउन बालशिक्षादेखि नै उद्देश्यमा आधारित (कारणपरक) शिक्षा दिन आवश्यक छ । यसको तात्पर्य हो उद्देश्यमूलक, उद्देश्यपरक, उद्देश्यआधारित शिक्षा नै आजको मुख्य आवश्यकता हो । मौलिक पद्धतिमा आधारित शिक्षापद्धति र विधाले नै हाम्रो गौरवको, पहिचानको प्रवद्र्धन गर्न सक्दछ ।
शिक्षाको विषयमा चर्चा गर्दा शिक्षाका दुई प्रकारका उद्देश्य देखिन्छन् । पहिलो, आधार उद्देश्य र दोस्रो, कार्यपरक उद्देश्य ।

आधार उद्देश्यअन्तर्गत शिक्षकाका मानिस स्वयंको व्यक्तित्वमा परिवर्तन ल्याउने अन्तर्वस्तु समेटिन आवश्यक हुन्छ भने कार्यपरक उद्देश्यअन्तर्गत मानिसको कार्यक्षमताको विषय समेटिन आवश्यक हुन्छ । पहिलो उद्देश्यअन्तर्गत शिक्षाले मानिसमा जीवन र जगतलाई यथार्थ रूपमा बुझ्ने संज्ञानात्मक चेतना विकास गर्दछ । यस्तो उद्देश्यले आफ्नो असल चरित्र निर्माणका लागि चिन्तनशील बनाउँछ । यो उद्देश्यले नै स्वयंका कर्तव्यहरू र सामाजिक भूमिका निर्धारण गर्ने विवेक विकास गर्न उत्प्रेरणा दिन्छ र वास्तविक सुखसन्तोष प्राप्त गर्ने मनोविज्ञान विकास गर्दछ ।

यसले सांस्कृतिक निष्ठा अवलम्बन गर्ने तथा तिनीहरूको संरक्षण-सम्वद्र्धनको स्वैच्छिक जिम्मेवारी बोध गराउँदछ । मानिसलाई अध्ययनशील, इमानदार, सदाचारी, परोपकारी, मृदुभाषी, बोली र वचनका बीचमा संगति भएको कर्तव्यपरायण बनाई उच्चव्यक्तित्वको धनी आदर्शव्यक्ति निर्माण गर्दछ ।

शिक्षाको दोस्रो अन्तर्य हो-कार्यक्षमता । मानिसमा माथि भनिएका सबै प्रकारका व्यक्तित्वगुणहरू भए पनि यदि तिनीहरूलाई व्यवहारमा कार्यान्वयन गर्न सकेन भने त्यसले खासै अर्थ राख्दैन । तर साह्रै बलशाली र सीपयुक्त भए पनि आन्तरिक गुणहरू छैनन् भने मानिसले खासै केही गर्न सक्दैन । जसरी हाम्रासामु महाभारतको कथामा, श्रमिद्भगवद्गीतामा धनुर्धारी बलशाली अर्जुनको अवस्था तथा कृष्णको उत्प्रेरणाको कालजयी उदाहरण छ । शिक्षाको पहिलो विषय कृष्णको उत्पेरणात्मक शिक्षा हो भने दोस्रो विषय अर्जुनको सीप, कौशल र बलको विषय हो । सीप, कौशल र बल क्षमता हुन् भने तिनीहरूको सदुपयोग आन्तरिक गुणहरूका परिणाम हुन् ।

ADVERTISEMENT

अर्जुनमा दुवै प्रकारका गुणहरू अन्तर्निहित थिए । तिनीहरूलाई कृष्णको सहयोगले परिणाममुखी बनाएको हो । त्यसैले, हरेक शिक्षार्थी बालबालिकामा गुण तथा क्षमता अन्तर्निहित रहेको हुन्छ, तिनीहरूलाई परिणाममा प्रकट गर्न शिक्षाको (शिक्षा भनेको यससम्बन्धी नीति, ऐन, कानुन, प्रक्रियागत विधि, शैक्षिक विषयवस्तु, शिक्षालय, शिक्षकको समुच्चय हो) महत्वपूर्ण (अर्थपूर्ण) भूमिका हुन्छ । गुण र क्षमता आधारित शिक्षाको संयुतिले मात्र सफलता प्राप्त भएको दृष्टान्त हामीसँगै छन् ।

नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रद्वारा निर्धारण गरिएको सरकारी लिखतकै विषय पनि पछ्याउन सकेको देखिँदैन । आज हो र, १७ वर्षअघि जारी भएको ‘नेपालमा विद्यालय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम प्रारूप : २०६३’ मा उल्लेख गरिएको छ : प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा र व्यक्तित्व विकासको सम्भावनालाई प्रस्फुटित गर्न सहयोग गर्ने, सार्वभौम मानवीय मूल्यका साथै राष्ट्रिय संस्कृति र अस्मिता, सामाजिक मान्यता र आस्थाहरूको सम्वद्र्धन गरी जीवन्त अनुभवहरू समेट्ने, स्वस्थ सामाजिक तथा सामूहिक जीवन पद्धतिको विकास गर्न चरित्रवान् एवं नैतिकवान् नागरिक तयार गर्ने, स्थानीय तथा राष्ट्रियस्तरमा व्यवसाय, पेशा एवं रोजगारीका साथै आवश्यकतानुसार अन्तर्राष्ट्रिय रोजगारीतर्फ उन्मुख उत्पादनमुखी र सीपयुक्त नागरिक तयार गर्न सहयोग गर्ने, सामाजिकीकरणमा सहयोग गर्दै सामाजिक एकतालाई सुदृढ बनाउने, समाजको आधुनिकीकरणमा सहयोग गरी देश निर्माणका निम्ति मानव संशाधनको विकास गर्ने, प्राकृतिक वातावरण र राष्ट्रिय सम्पदाको संरक्षण र सदुपयोग गर्न सहयोग गर्ने, सामाजिक समानता र न्यायबारे चिन्तन गर्दै तदनुरूपको आचरण विकास गर्ने भनिएको थियने ।

यसैगरी समावेशी समाज निर्माणमा मद्धत गर्ने, स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशअनुकूल शान्ति, मैत्री, सद्भाव, सहिष्णुता र विश्वबन्धुत्वको भावना विकास गरी तदनुरूपको आचरण गर्ने गराउने, हरेक प्रकारका द्वन्द्व व्यवस्थापनका लागि सक्षम नागरिक तयार गर्ने, आधुनिक सूचना प्रविधिसँग परिचित भई त्यसको प्रयोग गर्न सक्ने विश्वपरिवेश सुहाउँदो दक्ष जनशक्ति तयार गर्ने, राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मानवअधिकारप्रति सम्मान गर्ने, समालोचनात्मक तथा रचनात्मक सोच भएका, स्वाभिमानी तथा अरूलाई सम्मान गर्ने र आफू नेपाली भएकोमा गौरव गर्ने नागरिक तयार गर्ने, नेपाली कला, सौन्दर्य, आदर्श तथा वैशिष्ट्यहरूको संरक्षण र विस्तारतर्फ अभिप्रेरित नागरिक तयार गर्न मद्धत गर्ने विषय अघिसारिएको छ ।

प्रारूपमा अघिसारिएका यी विषय सान्दर्भिक छन् । तर प्रश्न उठ्छ-के पाठ्यक्रममा यी विषय समेटिएका छन् त ? माथि उल्लेख गरिएका उपलब्धिहरू प्राप्त गर्न हाम्रो परम्परादेखि पठन-पाठन हुँदै आएका विज्ञानसम्मत मौलिक विषय समेटिएका छन् त ? परम्पराको निरन्तरतालाई आधुनिकतासँग जोड्ने कुनै कडी शैक्षिक विषयमा समाविष्ट छ त ? प्रत्यक्षतः त्यस्तो देखिँदैन । प्रारूपलाई पछ्याउने पाठ्य विषय भएन भने परिकल्पित जनशक्ति उत्पादन गर्न सम्भव हुँदैन ।

परिकल्पित उपलब्धि प्राप्त गर्न सोही अनुसारको शैक्षिक विषय समावेश गरिएको अवस्थामा मात्र संभव हुन्छ । प्रारूपका विषय नेपाल सुहाउँदो, समाज सुहाउँदो हुने तर पाठ्य विषय अन्यत्रको आवश्यकताद्वारा सिर्जित भयो भने ‘रिट्ठाको रुख रोपेर कहाँ फल्छ र कागती’ नै चरितार्थ हुनेछ । विद्यालय शिक्षामा ज्ञान, भक्ति, योग समेटिनुपर्दछ र मात्र प्रारूपमा अपेक्षा गरिएको उपलब्धि प्राप्त गर्न सकिन्छ ।

आजको यस्तो अत्याधुनिक समाजमा ज्ञान, भक्ति र योगको शिक्षाको विषय उठाउँदा धेरै मानिसलाई आश्चर्य लाग्न सक्दछ । तर सत्य, यथार्थ र सार्थक विषय यिनै हुन् । मानिसले नबुझ्नुको जिम्मेवारी त कसले पो लिन सकिन्छ र ? कार्य-कारण सम्बन्धमा आधारित शिक्षा नै शिक्षाको मूलउपादेय हो भने ज्ञान, भक्ति र योगलाई नै शिक्षाको आधार बनाइनुपर्दछ ।

ज्ञानलाई प्रायः मानिसहरू साध्य ठान्दछन् तर ज्ञानका लागि ज्ञान होइन, सार्थकजीवन तथा उत्तरोत्तर उपलब्धिका लागि ज्ञान हो । केही मानिसहरू जीवन व्यवहार प्राप्त सत्यापन नै नभएका सतही सूचना तथा जानकारीहरूलाई ज्ञान भन्ने सम्झन्छन् । ज्ञान भनेको- अधिकार के हो ? कर्तव्य के हो ? गर्न हुने के हो ? गर्न पर्ने के हो ? गर्न नहुने के हो ? गर्न नपर्ने के हो ? खान हुने के हो ? खान नहुने के हो ? के किन ? के किन होइन ? आदि छुट्ट्याउने विवेक हो । प्राप्त भएका तथ्य र व्यवहारको अनेकौँ कसीमा सत्यापित जानकारी तथा सूचनाहरूलाई मानिसका ज्ञानेन्द्रियले पुनरुत्पादन गरेपछि मात्र ज्ञान बन्दछ ।

यही ज्ञानले मानिसलाई भित्रैदेखि प्रवल बनाउँछ । यही ज्ञानले कर्तव्याकर्तव्य, खाद्याखाद्य, भक्ष्याभक्ष्य आदि निर्णायक र निर्देशक रूपमा निर्धारण गर्दछ । हाम्रो शिक्षा ज्ञानका लागि हो भने यस्तो ज्ञानवान जनशक्ति उत्पादन गर्न पर्दैन त ?

यही ज्ञानले मानिसलाई भित्रैदेखि प्रबल बनाउँछ । यही ज्ञानले कर्तव्याकर्तव्य, खाद्याखाद्य, भक्ष्याभक्ष्य आदि निर्णायक र निर्देशक रूपमा निर्धारण गर्दछ । हाम्रो शिक्षा ज्ञानका लागि हो भने यस्तो ज्ञानवान जनशक्ति उत्पादन गर्न पर्दैन त ? भक्ति भनेपछि प्रायः मानिसहरू ईश्वरभक्ति, स्वर्गप्राप्ति, परलोक र परजन्मका लागि गरिने आराधना आदि मात्र हो भनेर बुझ्दछन् । आस्थानुसारका ‘अधिष्ठाता’ प्रतिको सतत निष्ठा अवश्य भक्ति हो । तर, भक्तिको अपरिमित उच्चतामात्र होइन, यही धराधाम सतहका विशिष्टता पनि भक्तिका विषय हुने गर्दछन् ।

भक्ति भनेको-समर्पण हो, निष्ठा हो । शास्त्रमा यसका विभिन्न आयामहरू बताइएका छन् । भक्ति भनेको आस्था-निष्ठाप्रति समर्पित रहने भाव हो । देवभक्तिमात्र होइन, देशभक्ति हो । यस भक्तिभित्र मातृभक्ति, पितृभक्ति, मित्रभक्ति, वन्धुभक्ति, ....आदि भक्ति पर्दछन् । चलनचल्तीमा प्रयोग गरिने राष्ट्रभक्ति, मातृभक्ति, पितृभक्ति, गुरुभक्ति, बन्धुभक्ति के भक्ति होइनन् र ? निष्ठापूर्ण समर्पणको शिक्षा यही भक्ति विधामा अन्तर्निहित छ । जनशक्तिलाई निष्ठापूर्वक आफूलाई तुच्छ र निष्ठालाई उच्च अनुभूति गर्ने समर्पित जनशक्ति विनाभक्ति बन्न सक्दैन । हामीलाई यस्ता भक्तहरू चाहिएको होइन र ?

योगका अनेकौं उपक्रम र अन्तर्य छन् तर सामान्यतः योग भनेको जोड हो । योगशक्ति, योगबल, योगक्षेम आदि शब्दका अन्तर्यको अनुमानले मात्र पनि योगको क्षेत्रविस्तार बुझ्न सहयोग पुर्‍याउँछ । योग भनेको- ज्ञानलाई कर्मसँग जोड्नु हो, जोड्ने अभ्यास हो । आफूले गर्ने कामलाई तत्परता, कुशलता र एकाग्रतापूर्वक सम्पन्न गर्नु हो । शारीरिक क्रियाकलापलाई ज्ञानसँग जोड्नु हो, मनसँग जोड्नु हो, चित्तसँग जोड्नु हो । हामीले यस्ता योगी उत्पादन गर्नु पर्दैन र ?

के ज्ञान, भक्ति र योगको विषय अन्धविश्वास हो ? के यो विषय देश, काल सुहाउँदो बन्न सक्दैन ? बनाउन सकिँदैन ? भ्रष्टाचार, अनैतिकता, अराजकता बढेकोमा चिन्ता गरेझैँ गर्ने, तर तिनको निवारणका लागि शिक्षादिक्षा नदिने हो भने शिक्षा क्षेत्रमा यत्रो लगानी र कोलाहलको के अर्थ हुन्छ र ? (कोइराला संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज