काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (सोमबार) प्रतिनिधिसभामा विश्वासको मत लिँदै हुनुहुन्छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको हो । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आइतबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले सोमबार १ बजे विश्वासको मत लिने कार्यसूची रहेको जानकारी गराउनुभएको थियो । नेकपा एमालेसहित विभिन्न सात दल र स्वतन्त्र गरी १६९ जना सांसदको समर्थनमा प्रचण्ड पुस १० गते संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री बन्नुभएका थियो । प्रचण्डले संविधानको धारा ७६ को उपधारा ४ अनुसार पुस २६ गते २६८ सांसदको समर्थनसहित संसद्मा प्रचण्ड विश्वासको मत पाउनुभएको थियो । राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र विपक्षमा मतदान गर्नुभएको थियो । प्रचण्डले विश्वासको मत लिने मतदानमा २७० सांसद सहभागी थिए । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन नगरेका नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टीले पनि विश्वासको मत दिएपछि प्रचण्डले संसद्मा प्रचण्ड बहुमत पाउनुभएको थियो ।
तर, सत्तासाझेदार दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले आज (सोमबार) पुनः विश्वासको मत लिन लाग्नुभएको हो । राष्ट्रपति निर्वाचनको विषयमा कांग्रेस र माओवादीबीच नयाँ सहमति बनेपछि राप्रपाले फागुन १४ र एमालेले फागुन १५ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुरूप प्रधानमन्त्री दाहालले फेरि संसद्बाट विश्वासको मत लिनुपर्ने भएको हो ।
कुन-कुन दलले दिँदै छन् मत ?
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आमजनता पार्टीलगायत दलहरूले विश्वासको मत दिने तयारी गरेका छन् । प्रधानमन्त्रीले बहुमतका लागि १३८ जना सांसदको साथ लिनुपर्ने हुन्छ । ११ दलको समर्थन भएमा प्रधानमन्त्रीले सजिलै विश्वासको मत पाउने देखिन्छ ।
प्रतिनिधिसभामा कांग्रेसका ८८, माओवादीका ३२, रास्वपाका १९, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमतका ६, नागरिक उन्मुक्तिका चार, लोसपाका चार, राष्ट्रिय जनमोर्चाको एक, नेपाल समाजवादी पार्टीको एक, आमजनता पार्टीको एक सांसद छन् । स्वतन्त्र सांसदले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्भावना छ । ७९ जना सांसद भएको नेकपा एमाले प्रमुख प्रतिपक्षमा बसेको छ । १४ सांसद भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि प्रतिपक्षमा बसेको छ ।
गत फागुन १२ गते राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने पूर्वसन्ध्यामा कांग्रेस, माओवादीसहित आठ दलीय गठबन्धन बनेको थियो । अहिले त्यो गठबन्धनमा थप केही दल थपिएका छन् । शनिबार बालुवाटारमा १० दलीय गठबन्धन बैठक बसेर संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्मा प्रस्तुत गर्ने र प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा एक ठाउँमा उभिने समझदारीसमेत गरेका थिए । प्रधानमन्त्रीलाई १० दलको मत प्राप्त हुँदा सहजै बहुमत कट्ने देखिएको छ । लोसपा र रास्वपाले पनि प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेका छन् ।
सबै सांसदबाट विश्वासको मत पाउने आशा छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबारको प्रतिनिधिसभा बैठकबाट शतप्रतिशत सांसदहरूको विश्वासको मत पाउने आशा राखेको प्रतिक्रिया दिनुभएको छ । पहिले ९९.२५ प्रतिशत सांसदहरूको विश्वासको मत पाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘मैले त आशाको कुरा गर्दा त पहिला विश्वासको मत लिँदा ९९.२५ थियो । भोलि सय नै हुन्छ भन्ने आशा छ ।’
प्रधानमन्त्रीलाई सबैले विश्वासको मत दिँदा राम्रो : नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सबै सांसदहरूले विश्वासको मत दिँदा राम्रो हुने बताउनुभएको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रतिपक्षमा पनि बस्न मिल्ने जिकिर गर्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘प्रधानमन्त्रीलाई सबैले विश्वासको मत दिँदा राम्रो हुन्छ । सरकारमा नगए पनि प्रतिपक्षमै बस्न पनि मिल्छ ।’
विश्वासको मत दिएर सरकारमा सहभागी हुने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय गरेको हो । पुस २६ मा विश्वासको मत दिएर प्रतिपक्षमा बसेको कांग्रेस राष्ट्रपति चुनावबाट नयाँ गठबन्धन बनेपछि अब नयाँ परिस्थितिमा सरकारमा सहभागी हुन लागेको हो । बैठकले आइतबार बस्ने प्रतिनिधिसभा बैठकबाटै सत्तापक्षको बेन्चमा बस्ने निर्णय गरेको पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिनुभयो ।
मन्त्री छनोटका लागि कांग्रेसले तोक्यो चार मापदण्ड
नेपाली कांग्रेसले चारवटा मापदण्डका आधारमा सरकारमा मन्त्री पठाउने भएको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले मन्त्री बनाउन चारवटा मापदण्ड तोकेको हो । बैठकले योग्यता, क्षमता, आपसी समझदारी र सन्तुलन कायम राखेर मन्त्रीलाई सरकारमा पठाउने निर्णय गरेको पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिनुभयो । कांग्रेस कसको नेतृत्वमा सरकारमा जान्छ ? भनेर टुंगो लागिनसकेको महतको भनाइ छ । कांग्रेसभित्र पाँचजना ‘हेभीवेट’ नेताबीच सरकारको नेतृत्व गरेर जान हानथाप चलिरहेको छ । उपसभापति पूर्णबहादुर खड्का, नेता प्रकाशमान सिंह, विमलेन्द्र निधि, शेखर कोइराला र प्रवक्ता प्रकाशशरण महतले कांग्रेसबाट नेतृत्व गरेर सरकारमा जाने आकांक्षा राख्नुभएको छ ।
सत्तापक्षतिर सरे कांग्रेस सहितका दल
नेपाली कांग्रेस प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षको लहरबाट आइतबारदेखि सत्तापक्षको लहरमा बस्न थालेको छ । प्रतिनिधिसभामा कांग्रेसका ८९ सांसद छन् । गत पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सात दलीय गठबन्धनबाट प्रधानमन्त्री नियुक्त भएसँगै कांग्रेस प्रतिपक्षमा पुगेको थियो । प्रतिपक्षमा बस्दै कांग्रेसले गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मतसमेत दिएको थियो । तर, राष्ट्रपति निर्वाचनदेखि नयाँ गठबन्धन बनेको छ । नेकपा एमाले, राप्रपालगायत दलले सरकार छाडेका छन् । नेकपा एमाले आइतबारदेखि प्रमुख प्रतिपक्षी लहरमा बसेको छ भने राप्रपा पनि प्रतिपक्षी लहरमा बसेको छ । कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीलगायत दल सत्तापक्ष लहरमा बसेका छन् । कांग्रेस र एमालेबीच प्रमुख प्रतिपक्षी लहरमा को बस्ने ? भन्ने विवादले फागुन १७ गतेदेखि विवाद हुँदा चैत ५ सम्मका लागि प्रतिनिधिसभा बैठक नै स्थगित गरिएको थियो ।
रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समिति र संसदीय दलको आइतबार बसेको संयुक्त बैठकले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मतलाई निरन्तरता दिने निर्णय लिएको हो । प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मतलाई निरन्तरता दिने निर्णय गरेको जानकारी दिँदै रास्वपा सांसद सोविता गौतमले भन्नुभयो, ‘मुद्दाको आधारमा सरकारलाई दिएको समर्थन जारी राख्ने र विश्वासको मत दिने निर्णय भएको छ ।’ रास्वपाले सरकारमा सहभागिताबारे भने केही निर्णय गरेको छैन ।
लोसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । लोसपाको आइतबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको हो । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय भएको छ । लोसपाको तर्फबाट प्रतिनिधिसभामा चार सांसद छन् ।






