काठमाडौं । कृषि विषादीविज्ञ डा. डिल्लीराम शर्माले आयातित फलफूल तथा तरकारी विषादी परीक्षणबिना नै नेपाल भित्रिने गरेको बताउनुभएको छ । सरकारले नाकाहरूमा विषादी परीक्षण यन्त्र उपकरण राखेको भए पनि ती उपकरणबाट सबै प्रकारका विषादी परीक्षण नहुने भन्दै उहाँले सरकारले विषादी परीक्षण गरिएको भनेर उपभोक्तालाई ढाँटिरहेको आरोपसमेत लगाउनुभयो ।
पूर्णरूपमा विषादी परीक्षणका लागि सबै सीमा नाकाको प्रयोगशालालाई स्तरोन्नति गरिनुपर्ने उहाँको सुझाव छ । विश्व उपभोक्ता दिवसको अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो, ‘उपभोक्ता सबैभन्दा निरीह छन् । नियमन गर्ने निकाय नै छैन । नियमन भए पनि प्रभावकारी छैन । भारतबाट भित्रिने तरकारी फलफूलको विषादी परीक्षणका लागि प्रयोगशाला राखिएको छ तर त्यहाँ परीक्षण नै हुँदैन । तर, परीक्षण भइरहेको छ भनेर ढाँटिएको छ ।’
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले पनि सीमा नाकाहरूमा प्रयोगशाला रहे पनि सबै प्रकारका विषादी परीक्षण सम्भव नरहेको स्वीकार गर्नुभयो । सबै प्रकारका विषादी परीक्षणका लागि अत्याधुनिक प्रयोगशाला र जनशक्ति आवश्यक पर्ने उहाँको भनाइ छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक होेमनाथ भट्टराईले स्रोतसाधनको कमीले बजार अनुगमन प्रभावकारी हुन नसकेको बताउनुभयो । प्रभावकारी अनुगमनका लागि सरकारले स्थानीय तहलाई अधिकार दिएको भए पनि स्थानीय तहले पनि अनुगमनमा खासै चासो नदिएको उहाँको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले नियमनकारी निकायबीच समन्वय नहुँदा समस्या हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जिम्मेवारी छरिएका छन्, अझै व्यवस्थित हुन सकेको छैन, त्यसैले सामूहिक पहल आवश्यक छ ।’
मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले पनि नियमनकारी निकायबीच समन्वय नहुँदा बजार अनुगमन प्रभावकारी हुन नसकेको र प्रभावकारी अनुगमन नहुँदा उपभोक्ता मर्कामा पर्दै आएको बताउनुभयो । मञ्चका उपाध्यक्ष पुष्पराम पौडेलले स्थानीय सरकारहरूले बजार अनुगमनका लागि उपभोक्ता संस्थाहरूसँग सहकार्य नचाहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बजार नियमन अधिकार स्थानीय सरकारलाई दिइए पनि उसको सक्रियता कम छ, उपभोक्ता संस्थाहरूसँग सहकार्य गर्न पनि तयार छैनन् ।’







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts