काठमाडौं । सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी ७३औँ प्रजातन्त्र दिवस मनाइएको छ । २००७ साल फागुन ७ गते १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएपछि नेपाली जनता रैतीबाट नागरिक बनेको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष फागुन ७ गतेको दिन प्रजातन्त्र दिवस मनाउने गरिन्छ । टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, मन्त्रीहरू, उच्च पदस्थ कर्मचारी लगायतको सहभागिता थियो । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुभएको थियो ।
समारोहलाई उत्सवमय बनाउन नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ ब्यानर अंकित हेलिकोप्टरबाट पृष्पवृष्टि गराएको थियो भने मैदानबाट शान्तिका दूत परेवा र रंगीचंगी बेलुन उडाइएको थियो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मार्चपासका साथै राष्ट्रिय गीतका धून र ब्याण्ड प्रस्तुत गरेका थिए । २००८ सालपछि प्रजातन्त्र दिवस मूल समारोह समितिले सैनिक मञ्चमा विशेष समारोह आयोजना गर्दै आएको छ ।
आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनुपर्छ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताउनुभएको छ । उहाँले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दै वर्तमान शासन व्यवस्थाले दशकौँदेखि व्यक्त हुँदै आएको शहीदको सपना एवं जनताको आकांक्षालाई मूर्तरूप दिन सक्नुपर्ने उल्लेख गर्नुभएको छ । ‘हामीले हासिल गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको जनक्रान्तिबाट नै निर्माण भएको हो, तसर्थ शहीदको सपना एवं जनताको आकांक्षालाई मूर्तरूप दिन सक्नुपर्दछ, त्यसका लागि हामीले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा आर्थिक समृद्धिलाई राष्ट्रको मूल लक्ष्य बनाउनुपर्दछ’, राष्ट्रपतिको सन्देशमा भनिएको छ । प्रजातन्त्र दिवसको पृष्ठभूमिमा २००७ सालभन्दा अघि भएका आन्दोलनहरूको भूमिका अभिन्न रूपले जोडिएको र विसं १९९७ मा प्रजापरिषद्को अगुवाइमा भएको आन्दोलनको क्रममा महान् शहीदहरू गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्दको शहादत भएको विषय उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ । नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका संघर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै राष्ट्रपति भण्डारीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ आन्दोलनहरूलाई मार्गदर्शन गर्ने अग्रजहरूप्रति हार्दिक सम्मान एवं श्रद्धा प्रकट गर्नुभएको छ ।
उपलब्धिको रक्षा गर्नु सबै नेपालीको कर्तव्य हो : उपराष्ट्रपति पुन
उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र प्राप्ति र त्यसपछि भएका क्रान्ति तथा आन्दोलनका उपलब्धिको संरक्षण तथा रक्षाका लागि सबै पक्षलाई अपिल गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै प्रजातन्त्र प्राप्तिका लागि भएको आन्दोलनमा आफ्नो जीवनको आहुति दिनुहुने महान् वीर-वीरंगनाहरूलाई स्मरण गर्दै उनीहरूप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ । ‘विभिन्न कालखण्डमा भएका सशस्त्र संघर्ष, जनआन्दोलन, जनयुद्ध र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त भएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत राजनीतिक उपलब्धिहरू संस्थागत भइसकेका छन, यी उपलब्धिहरूको संरक्षण तथा रक्षा सबै नेपालीको कर्तव्य हो’, सन्देशमा भनिएको छ । प्रजातन्त्र दिवसले देशको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रतालाई अझै सुदृढ गर्दै देशलाई विकास र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा दिने उपराष्ट्रपति पुनको अपेक्षा छ ।
बृहत्तर राष्ट्रिय सहमति आजको आवश्यकता : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताउनुभएको छ । आइतबार बिहान टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार क्रियाशील रहेको बताउनुभयो । ‘संविधानले अवलम्बन गरेको सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्ने तथा समावेशी आर्थिक समृद्धि हासिल गर्नका लागि बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता हो,’ उहाँले भन्नुभयो । सम्बोधनको क्रममा उहाँले वर्तमान सरकारको प्राथमिकता स्पष्ट पार्नुभएको छ । ‘देशको राजनीति र अर्थतन्त्रले संकटपूर्ण परिस्थितिको सामना गरिरहेको पृष्ठभूमिमा गठन भएको नयाँ सरकार राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता निर्धारित गर्दै जनताको अवस्था बदल्न, सरल र सहज सेवाप्रवाहमार्फत सुशासनको प्रत्याभूत गर्न, अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्दै समृद्धि संस्थागत गर्न, संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा मुलुकमा दिगो शान्ति स्थापित गर्न, देशको भूराजनीतिक अवस्थालाई हृदयंगम गर्दै स्वतन्त्र र सन्तुलित कूटनीतिक सम्बन्ध स्थापित गर्न सरकार दृढ छ,’ उहाँले भन्नुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements