आज प्रजातन्त्र दिवस मनाइँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

काठमाडौं । आज (आइतबार) ७३औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै छ । जनक्रान्तिका माध्यमबाट १०४ वर्षको राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको स्मरणमा सरकारले औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिनुभएको थियो । प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।

नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो । राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरियो ।

तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले केन्द्रमा प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रूपमा यो दिवस मनाउँदै आएको छ । सबै जिल्लामा पनि यो दिवस मनाइँदै आएको छ ।

यस अवसरमा आज देशभर र विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा समेत हर्षोल्लासपूर्वक भव्यतासाथ यो दिवस मनाइँदै छ । प्रजातन्त्र दिवस मनाउन सबै प्रदेशका मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेशस्तरीय प्रजातन्त्र दिवस मूल समारोह समितिसमेत गठन गरिएको छ । त्यस्तै, सबै सरकारी निकाय, प्रतिष्ठान, संघसंस्था, कार्यालयमा राष्ट्रिय झण्डा फहराउने तथा फागुन ६, ७ र ८ गते साँझ दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । सार्वजनिक निकाय र स्थलहरूको सरसफाइ गरी सम्भाव्य स्थानमा राष्ट्रिय झण्डा राखेर सजावटसहित सौन्दर्यीकरण अभिवृद्धि गरिनेछ ।

ADVERTISEMENT

फागुन ७ गते मुख्य दिनमा राष्ट्रपति विद्यादेवी भण्डारीकै उपस्थितिमा सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै छ । आज नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइँ गरिनेछ भने प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदप्रति प्रार्थना र स्मरण गरिनेछ ।

यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूले शुभकामना सन्देश जारी गर्नुभएको छ ।

पूर्वराजा शाहद्वारा राजनीतिक दलहरूसँग सहकार्यको प्रस्ताव
पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरूसँग सहकार्यको प्रस्ताव गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्व-सन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले नेपालको निरन्तर अधोगतिप्रति अब आफू मौन रहन नसक्ने बताउँदै उहाँले पछिल्ला वर्षहरूमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिराचिरा पर्न थालेको प्रति चिन्ता व्यक्त गर्नुभएको हो ।

देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्न नहुने उहाँको विज्ञप्तिमा उल्लेख छ । उहाँले हालै सम्पन्न आमनिर्वाचनमा युवाहरूको सहभागिता र केही आशालाग्दा नतिजाहरूबाट मुलुकको आगामी दिशाबारे आँकलन गर्न सकिनेसमेत बताउनुभएको छ । उहाँले नेपालको अत्यधिक बहुसंख्यक जनताले चाहेको निर्णय स्वीकार्ने हाम्रो वंशको परम्परा र संस्कार भएको उल्लेख गर्दै अत्यन्तै प्रतिकूल पलहरूमा पनि संयमता र देशभक्ति नगुमाएर देश छाडेर नगएको बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *