महाशिवरात्रि पर्वः गलेश्वरमा बिहानैदेखि भक्तजनहरुको भीड

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । नेपालको दोस्रो पशुपतिनाथका नामले परिचित म्याग्दीको प्रशिद्ध धार्मिक स्थल गलेश्वरधाममा आज (शनिवार) बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ ।

महाशिवरात्रि पर्वमा बिहानैदेखि गलेश्वर शिवालय मन्दिरमा भक्तजनहरूले पूजाआराधना गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

बेनीबजारदेखि ३ किलोमिटर उत्तर तथा पूर्वमा अवस्थित पवित्र कालीगण्डकी नदी किनारमाथि रहेको ९ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा फैलिएको गलेश्वरधाममा बिहानैदेखि म्याग्दीसहित विभिन्न जिल्लाहरूबाट आएका भक्तजनहरूले पूजाआजा गरेका छन् ।

शिवरात्रि पर्वको अवसर पारेर गलेश्वरधाममा भगवान् शिव महादेवको स्वयं उत्पत्ति ज्योतिर्लिङ्ग पुजा अर्चना गर्न म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, तनहुँ, चितवनलगायत जिल्लाहरूबाट श्रद्धालु भक्तजनहरू आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिनुभयो ।

महाशिवरात्रि पर्वका दिन भक्तजनहरूले शुद्ध भई ‘ॐ नमःशिवाय’मन्त्र जप्दै पुजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय बस्तु दुध, धतुरो तथा बेलपत्र चढाउने शास्त्रीय मान्यता रहिआएको छ ।

गलेश्वर मन्दिर परिसरमा दिनभरजसो शिवजीको पूजाआराधना गर्ने र रातको समयमा बत्ती बालेर जाग्राम बस्ने, भजन किर्तन गर्ने, धुनीजगाउने तथा भगवान् शिवको प्रिय मानिने महाप्रसाद ग्रहण गर्ने व्यवस्थामिलाइएको छ ।

ADVERTISEMENT

महाशिवरात्रि पर्वलाई भव्य र सभ्य रूपमा मनाउन र पूजा व्यवस्थापनका लागि विभिन्न २३ वटा उपसमितिहरूमार्फत काम गरिएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

महाशिवरात्रिमा गलेश्वरमा भक्तजनले निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिवमहिमा किर्तन गरी शिवपुजा गर्दछन् । शिवरात्रि पुजाको ब्रतकालमा भगवान् शिवजीको ध्यान, पुजन र जप गर्ने गरिन्छ । यसै गरी शिव पूजा गर्दा इशान मूर्तिलाई दुधले, अघोर मूर्तिलाई दहीले, वामदेव मूर्तिलाई घ्युले तथा सद्योजात लिङ्गोदेव मूर्तिलाई महले स्नान गराइन्छ ।

यसैबिच म्याग्दी सदरमुकाम बेनीबजारमा रहेको बेनी शिवालय मन्दिरमा पनि मङ्गलबार बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ । गलेश्वर शिवालय भन्दा नजिकमा रहेको बेनीशिवालयको १०८ शिवलिङ्गमा पूजागर्ने भक्तजनहरुको घुइँचो लागेको बताइएको छ । शिवरात्रि पर्वको अवसरमा श्रद्धालु भक्तजनहरुलाई सहज रूपमा पूजाआजा गर्ने व्यवस्था मिलाइएको बेनी शिवालय मन्दिर संरक्षण समितिले जनाएको छ ।

शिवरात्रि पर्वमा भक्तजनहरूले निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिवमहिमा किर्तन गरी शिवपुजा गर्दछन् । खासगरी हिन्दू धर्मावलम्बीहरूले महाशिवरात्रि पर्व मनाउने गर्दछन् । फागुन कृष्ण चतुर्दशी तिथिका दिन पूजा, आराधना र दर्शन गरेको खण्डमा सुख, शान्ति तथा मृत्युपछि पनि सद्गति प्राप्त हुने हिन्दु धर्मावलम्बीहरूको विश्वास रहिआएको छ ।

मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रूपमा रहेको म्याग्दीको गलेश्वर शिवालयमा ११ वटा गौमुखीधारा जडान भएको छ । गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर काली गण्डकी नदीको गंगाजलले नुहाउने व्यवस्था मिलाइएको हुँदा भक्तजनको संख्यामा वृद्धि हुने अपेक्षा समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *