आँखामा बिझाएको नागरिकता !

डा. नारायण चालिसे
डा. नारायण चालिसे
Read Time = 15 mins

नेपाली नागरिकतासम्बन्धी मुद्दा हारेपछि यो देशका गृहमन्त्री रवि लामिछानेले पत्रकारहरूका माझ आफू अनागरिक भएकाले आफूसँग कुनै प्रश्न नसोध्न र अब आफूले के गर्ने भन्ने विषयमा केही थाहा नभएको कुरा गर्दा मन भावुक बनेर आयो । उनले एकैचोटी धेरै पद गुमाए । पहिलो कुरा उनले नागरिकतासम्बन्धी आधिकारिकता गुमाए त्यसपछि क्रमशः अरू धेरै पद र प्रतिष्ठा गुमाए । त्यसको प्रतिक्रियास्वरूप उनले आफ्नो संयम गुमाए र धेरै व्यक्ति वा संस्थाहरूलाई सन्देहको दायरामा ल्याए ।

केहीले रविले सत्य कुरा गरेर ठीक ग¥यो भने । केहीले यो कुरा सत्य भए पनि बोलेर ठीक गरेन भने, केहीले सबै प्रकारका पूर्वाग्रहहरूलाई पर सारेर शुद्ध नागरिक भएर सुन्ने हो भने रविले उठाएका मुद्दा जायज छन् भने र केहीले यो सत्य होइन सम्म पनि भने । रविले हिजो नागरिकता त्यागेबापत अहिले धेरै कुरा गुमाए र केही कुरा पाइरहेका पनि छन् । केही कुरा गुम्दा दुःखलाग्दो रहेछ केही कुरा पाउँदा दुःखलाग्दो रहेछ । हाम्रोमा रविले पद गुमाएझैँ गुमाएका धेरै कुरा छन् तर त्यो बेला हामीलाई दुःख लागेको थाहा लागेको छैन ।

यहाँ धेरै वर्षदेखि कतिले चरित्र गुमाएका छन् कतिले निष्ठा गुमाएका छन् । कतिले नैतिकता गुमाएका छन् कतिले विश्वास गुमाएका छन् । कतिले भरोसा गुमाएका छन् कतिले सिद्धान्त गुमाएका छन् । कतिले आचरण गुमाएका छन् त कतिले हैसियत गुमाएका छन् । यीमध्ये केही विषय गुमेकोमा केही व्यक्तिलाई सामान्य दुःख वा पश्चाताप लागे पनि धेरै यस्ता व्यक्तिहरू छन् जसलाई आफूले केही गुमाएकामा कत्ति पनि पछुतो छैन । बरू गुमाउने होडबाजी चलिरहेको छ र गुमाउन नपाएकोमा विस्मात लागिरहेको होला ।

जन्मिएबापत नागरिकता दिएर ठूलो गुन लगाएको राष्ट्रले नागरिकताबाहेक अरू केही पनि दिन नसकेपछि रवि वा रविजस्ता लाखौँ युवाहरूले त्यो नागरिकतालाई यतै रहन दिएर देशप्रतिको आफ्नो गहिरो भरोसा गुमाउन बाध्य हुन्छन् । त्यो बेला राष्ट्रले उसको नागरिकतालाई त्यति महत्वले हेर्दैन ।

कतिपय हामी नागरिकहरू गुमाउन नचाहेको कुरा गुमाउन बाध्य छौँ भने कतिपयलाई गुमाउने रहर छ । देशमै भनेजस्तो रोजगारीको अवसर पाए पहिलो त हाम्रा नागरिकले देश गुमाउने रहर गर्दैनथे होला । दैनिक हजारभन्दा बढी नेपाली युवाहरूले विमानस्थलबाट हात हल्लाउँदै विदेशिँदा देशमा उनीहरूले के के गुमाउँदै छन् भनेर यो देशले सोध्न आवश्यक ठान्दैन । हामीले नचाहेर गुमाउन पुगेको देशको नागरिकता, आमाको वात्सल्य, बाबुको आशीर्वाद, पत्नीको प्रेम, सन्तानको भरोसा, साथीको सङ, माटोको सुगन्छ, घरको छानो, पाइलाको गति, मनको आँट, आँखाका सपना आदि के के गुमाएका हुन्छौँ ।

जन्मिएबापत नागरिकता दिएर ठूलो गुन लगाएको राष्ट्रले नागरिकताबाहेक अरू केही पनि दिन नसकेपछि रवि वा रविजस्ता लाखौँ युवाहरूले त्यो नागरिकतालाई यतै रहन दिएर देशप्रतिको आफ्नो गहिरो भरोसा गुमाउन बाध्य हुन्छन् । त्यो बेला राष्ट्रले उसको नागरिकतालाई त्यति महत्वले हेर्दैन । जब उक्त नागरिकतामा केही शक्ति जम्मा भएको अनुभव राष्ट्रलाई हुन्छ अनि उसले त्यही नागरिकतालाई पनि उपयोग गर्न थाल्छ र रवि लामिछानेहरूमाथि दागा गर्न सुरु गर्छ । कुरा दुवैतिर उस्तै छ हिजो कागजको खोस्टो ठानेर लत्याएको नागरिकतालाई आज आफ्नो सफलताको सोपान ठान्नेहरू र नागरिकतालाई नै अस्त्र बनाएर आक्रमण गर्न चाहने दुवैको नियतमा खोट देखिँदा नागरिकता जस्तो झरिलो कागज पनि प्रयोगको साधन बन्न पुगेको छ ।

यो देशको नागरिक हो भन्ने थाहा हुँदाहुँदै पनि कानुनले अनागरिक बनाइएका रवि लामिछाने एकजना प्रतिनिधि पात्र हुन् । नागरिकतासँग गरिएको खेलवाड वा अज्ञानता के हो ? त्यो उनलाई महँगो भयो । सामान्य नागरिकले पनि बुझ्ने केही आधारभूत कुराहरूमा हेलचेक्य्राइँ गरेका कारण लामिछाने कानुनको दायरामा आए । हामीलाई लाग्छ वंशजको आधारमा नेपाली नागरिक हुन त के नै गर्नुपर्छ र ? मातापिताको नाम, थर र घरठेगानाका आधारमा उमेर पुगेपछि नागरिकताको निम्ति आवेदन दिए पुग्छ । नागरिक हुने पहिलो शर्त त निश्चय पनि नागरिक हुनु नै हो । देशको नागरिक हुन चाहिने आवश्यक कागजात धेरै नभए पनि जुन कागजात चाहिन्छ त्यो भने मौलिक कागजात हुनैपर्दो रहेछ ।

देशको इमानदार नागरिक हुन नागरिकता मात्रैले पुग्दैन । देशप्रतिको आस्था, निष्ठा र प्रेम चाहिन्छ । अनि चाहिन्छ नागरिक सजगता । नागरिकताले नागरिक भएझैँ नागरिकसँग हुने वा हुनपर्ने अन्य योग्यताहरू पनि त्यत्तिकै आवश्यक हुन्छन् ।

ADVERTISEMENT

आफ्नै पनसँगको प्रतिस्पर्धाले मानिसलाई आफू हुन दिँदो रहेनछ । त्यसपछि के के हुन्छ भन्ने कुरा तपसीलकै कुरा भए । जेजस्ता कुरा अहिले बाहिर आएका छन् । नागरिक हुनु भनेको सामान्यतया देशको संविधान, कानुन र नियमसँग परिचित हुनु पनि हो भनेर बुझियो भने एउटा निकास त निस्किन्छ तर के देशका सबै नागरिकले देशको संविधान, कानुन वा नियम जानेकै छन् त ? भन्ने प्रश्न गरियो भने उत्तर चित्तबुझ्दो आउने छैन । जतिखेर जुन कुराको खाँचो खट्किन्छ त्यही कुरा जान्न अघि सर्ने हामी नागरिकहरू त्यसै कारण असजिलोमा पर्छौँ र अनागरिक कहलिने परिस्थिति आउँछ ।

देशको इमानदार नागरिक हुन नागरिकता मात्रैले पुग्दैन । देशप्रतिको आस्था, निष्ठा र प्रेम चाहिन्छ । अनि चाहिन्छ नागरिक सजगता । नागरिकताले नागरिक भएझैँ नागरिकसँग हुने वा हुनपर्ने अन्य योग्यताहरू पनि त्यत्तिकै आवश्यक हुन्छन् । आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्रहरू, पेशा वा सेवामा रहँदाका आवश्यक कागजातहरू, जग्गाजमिनका कागजातहरू, घरजग्गाका कर तिरेका कागजातहरू, पानी, बिजुलीको विल तिरेको कागजात, इन्टरनेट सेवाका कागजातहरू, मतदाता परिचय पत्र, राष्ट्रिय परिचय पत्र, करदाखिला प्रमाण पत्र, सवारीचालक अनुमति पत्र, सवारीसाधनको अवस्था र तिनको वैधानिकता, बैँक खाता र तिनको व्यवस्थापन, एटिएम कार्ड, डेविट कार्ड, क्रेडिट कार्डहरूको अद्यावधिकता, बैंक वा वित्तीय संस्थासँग कुनै आर्थिक कारोबार गरिएको छ वा ऋण लिइएको छ ।

तिनीहरूको व्यवस्थापन, कुनै व्यक्ति वा संस्थाको धितो जमानी बसिएको छ भने त्यसको जानकारी र आवश्यक सतर्कता, कतै कुनै संस्थाका शेयर लिइएको छ भने त्यसको व्यवस्थापन, आफूले कुनै देशको भिसा, पासपोर्ट लिइएको छ भने कानुन अनुसारको सजगता, कुनै सामाजिक संस्थाहरूमा संस्थागत जिम्मेवारीमा रहिएको छ भने त्यस संस्थामा भए गरेका काम कारबाहीहरूको जानकारी, आर्थिक दायित्वमात्रै होइन नैतिक दायित्व लिएका संस्थाहरूसँग रहेको आफ्नो संलग्नता र तिनको गतिविधिका बारेमा यथोचित जानकारी आदि पनि नागरिकता जत्तिकै महत्वपूर्ण छन् असल नागरिक भएर बाँच्नको लागि ।

त्यतिमात्र होइन क्युआर कोडसहितको कोभिडको भ्याक्सिन लगाएको प्रमाण, आफ्नो थर वतन खुल्ने परिचय पत्र, कुनै रोगको उपचार भइरहेको छ वा औषधि सेवन गरिँदै आएको छ भने डाक्टरको पे्रस्क्रिप्सनसम्म पनि अबको समयमा आवश्यक पर्छ । माथिका मध्ये कुनै एउटा विषयमा हामी अद्यावधिक छैनौँ भने कुनै पनि समयमा हामीलाई असजिलो पर्छ । र, नागरिकता मात्रैले हामीलाई अनागरिक बनाउने होइनमाथिका मध्ये कुनै एकमा हाम्रो सतर्कता कम भयो भने कुनै पनि समयमा हाम्रो वैधानिकतामा प्रभाव पर्छ र हामी अनागरिक वा सोसरह बन्ने अवस्था सिर्जना हुन्छ ।

सार्वजनिक जीवनमा रहेका व्यक्तिहरूलाई यस्तो दायित्व अझ बढी हुन्छ यद्यपि कुनै पनि नागरिक, नागरिक आचारको दायराभन्दा बाहिर जान मिल्दैन तापनि सेलिब्रेटीहरूलाई अझ बढी दबाब हुन्छ । यताका वर्षमा यस प्रकारका अभियोग, आरोप र प्रत्यारोपका कुरा बढी आउने गरेका छन् । भर्खरैको मुद्दामा जसरी केही व्यक्तिहरू जेजस्ता कारणहरूले कानुनको दृष्टिमा दोषी देखापरेका छन् के त्यस्ता मुद्दा र विषयको यथोचित छानविन भएको छ त ? दोहोरो नागरिकता लिएका, दोहोरो पासपोर्ट लिएका, दोहोरो जिम्मेवारीमा रहेका, दोहोरो सेवासुविधा लिएका, कुनै जिम्मेवारीमा रहेका तर आफ्नो त्यही जिम्मेवारी पनि राम्ररी पूरा नगरेका, योग्यताभन्दा बाहिरका विषयमा दख्खल गर्न जाने, अनधिकृत बाटो हिँडेर अनैतिक लाभ लिने यी र यस्तै यावत् विषय छन् जुन कानुनको दृष्टिमा अपराधहरू हुन् ।

ती अपराध र त्यस्ता प्रकारका अपराध गर्ने व्यक्ति वा संस्थाहरू के कारबाहीका भागेदार छैनन् त ? वा तिनका सेवासुविधा गुमेका छन् त ? भनेर हेरियो भने हामीलाई ज्यादै वैराग्य लाग्ने अवस्था छ । एकातिर कानुनका एकथरि दफाहरूलाई आग्रहपूर्वाग्रह राखेर आवश्यकताभन्दा बढी सक्रिय तुल्याइएको छ भने अर्कोतिर कानुनका अत्यावश्यक दफाहरूलाई निस्क्रियमात्रै होइन अपाङ्ग तुल्याइएको छ । कानुन जब आफैँ सक्रिय बन्न सक्दैन र कसैको कठपुतली बनेर नाचिरहन्छ तबसम्म कानुनले पनि न्याय, अन्यायको राम्रो छानबिन गर्न सक्दैन । त्यसमाथि पहुँचवालाहरू र कानुनका व्याख्याताले कानुनलाई यसरी हातहातै लिएर हिँड्ने र आफ्नो स्वार्थअनुसार व्याख्या वा अपव्याख्या गरिहने हो भने कानुनको मात्रै होइन देशकै पनि धज्जी उड्दै जाने छ ।

प्रिय सञ्चेतना ! त्यसैले अबको अवस्था फुकी फुकी पाइला चाल्ने खालको छ । नागरिक सजगता अपनाउँदै जाने र देशको नियम र कानुनलाई शिरोधार्य गर्ने वातावरण सबैतिर बनोस् । कतै नागरिकले नागरिक हुन पाइन भन्ने गुनासो गर्ने अनि कतै अनागरिकले सजिलै नागरिकता प्राप्त गरेर देशको शासनसत्ता र अरू पनि निर्णायक पदमा पुगेर राष्ट्रमाथि नै हस्तक्षेप गर्न पुगेका छन् भन्ने गुनासोका बीचमा कुनै नागरिकले अनागरिक भएको अनुभव गर्ने र अनागरिकले नागरिक भएको दाबी गर्ने परिस्थिति सिर्जना नहोस् भन्ने कामना गरौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *