काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पुनः सरकारमा ल्याउने प्रयास थालेको छ । सत्तारूढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा रास्वपालाई पुनः सरकारमा ल्याउनेटबारे छलफल भएको हो । बैठकमा सहभागी दलका शीर्ष नेताहरूले रास्वपालाई पुनः सरकारमा आउन आग्रह गरेका हुन् । सभापति रवि लामिछानेको सांसदसहित मन्त्री पद गुमेपछि रास्वपा सरकारबाट बाहिरिएको थियो । तर, सरकारलाई दिएको समर्थन भने रास्वपाले कायमै राखेको छ ।
आइतबार बसेको संयन्त्रको बैठकमा रास्वपालाई सरकारमा फर्काउनेबारे कुरा भएको उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो । उपयुक्त समयमा रास्वपा सरकारमा आउने उहाँको विश्वास छ । ‘संयन्त्र बैठकमा रास्वपालाई सरकारमा ल्याउनेबारे कुरा भएको छ,’ उहाँले भन्नुभयो, ‘उपयुक्त समयमा रास्वपा सरकारमा आउन पनि सक्छ ।’ यसअघि शुक्रबार बसेको संयन्त्रको बैठकमा पनि यसबारे कुराकानी भएको थियो । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको छ ।
नागरिकता विवादमा दोषी ठहर भएपछि लामिछानेको सांसद र मन्त्री पदसमेत गुमेको थियो । पुनः नागरिकता लिएपछि लामिछान गृह मन्त्रालयमा फर्किन चाहनुभएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत लामिछानेलाई पुनः मन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डलाई दबाब दिनुभएको थियो । तर, लामिछाने र ओलीको दुवैको दबाबलाई प्रधानमन्त्री प्रचण्डले अस्वीकार गरेपछि रास्वपा सरकारबाट बाहिरिएको थियो ।
तीन दल निरन्तर अनुपस्थित
सात दलीय सत्ता गठबन्धनको बैठकमा पछिल्लो समय चार दलको मात्रै सहभागिता रहँदै आएको छ । गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी भने पछिल्ला दुई बैठकमा सहभागी भएका छैनन् । आइतबारको बैठकमा पनि जसपाका अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जीता श्रेष्ठ र जनमतका अध्यक्ष सिके राउत सहभागी हुनुभएन । गएको शुक्रबार बसेको संयन्त्रको बैठकमा पनि उहाँहरू अनुपस्थित हुनुहुन्थ्यो । आइतबारको बैठकमा संयन्त्रका संयोजकसमेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी अध्यक्ष प्रचण्ड, रास्वपा सभापति रवि लामिछाने र उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहनुभएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन मात्र सहभागी हुनुहुन्थ्यो । बालुवाटारमा संयन्त्रको बैठक चलिरहँदा नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठ कैलालीमा हुनुहुन्थ्यो ।
राष्ट्रपतिबारे गठबन्धनमा विमति छैन : लिङ्देन
उच्चस्तरीय संयन्त्रको बैठकले सत्ता सहकार्यलाई मजबुत बनाएर जाने निर्णय गरेको छ । बैठकमा सरकारले अहिलेसम्म गरेका कामका विषयमा समेत समीक्षा भएको उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो । राष्ट्रपतिको बारेमा गठबन्धनभित्र कुनै विमति नरहेको उहाँले दाबी गर्नुभयो । सरकार निर्माण गर्दा भएको सहमतिलाई नै निरन्तरता दिने कुरा सत्ता गठबन्धनको अडान रहेको उहाँको भनाइ छ । ‘अहिलेसम्म सरकारले गरेका काम कारबाहीबारे छलफल भयो । आपसी समन्वयमा कहाँ के कमी कमजोरी रहे ? भन्ने विषयमा समीक्षाहरू भए,’ उहाँले भन्नुभयो, ‘आगामी दिनमा अझ मजबुत ढंगले सहकार्यलाई अघि बढाएर लैजाने सहमति भएको छ । भेटघाट कायम राख्ने र निरन्तरता दिने सहमति भएको छ । हामीले सरकार निर्माणका क्रममा गरेको सहमतिमा अहिले पनि सत्ता साझेदार दलहरूमा विमति छैन । बाहिर आएका कुरामा सत्यता छैन ।’
विश्वासको मत दिने पार्टीहरूको भावना पनि सम्बोधन गर्नुछ, राष्ट्रिय एकताका निम्ति नै पहल गर्नुपर्छ : प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएपछि परिस्थिति फेरिएको भन्दै राष्ट्रिय एकताका निम्ति पहल गर्नुपर्ने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले आइतबार पेरिसडाँडामा पार्टीको बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू सम्मिलित केन्द्रीय बागमती प्रदेश समन्वय समितिको बैठकमा बोल्दै सरकारलाई विश्वासको मत दिने पार्टीहरूको भावना पनि सम्बोधन गर्नुपर्ने बताउनुभयो । नयाँ बनेको परिरिस्थितिअनुसार राष्ट्रिय सहमतिकै निम्ति पहल गर्नुपर्ने उहाँको भनाइ छ । ‘विश्वासको मतपछि परिस्थितिमा हेरफेर आएको छ । विश्वासको मतपूर्व एउटा वातावरण थियो, त्यसपछि नयाँ परिस्थिति बन्यो,’ उहाँले भन्नुभयो, ‘सरकारलाई विश्वासको मत दिने पार्टीहरूको भावना पनि हामीले सम्बोधन गर्नुछ । हामीले राष्ट्रिय एकताका निम्ति नै पहल गर्नुपर्छ । त्यसकारण मैले राष्ट्रिय सहमतिमा जोड दिँदै आएको छु ।’ सरकारको नेतृत्व पाउनु अवसर र चुनौती दुवै रहेको भन्दै जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने उहाँले बताउनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता