चिकित्सक कुटिएको विरोधमा आज देशभरको स्वास्थ्य सेवा बन्द हुँदै, विशिष्ट सवारीबारे चौतर्फी आलोचना

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 8 mins

काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । शनिबार बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले आइतबार देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको हो ।

शुक्रबार राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि कुटपिट भएको भन्दै संघले आपत्ति जनाएको छ । ‘स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई भिभिआइपीको सुरक्षाका नाममा प्रहरीद्वारा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइनु मात्र नभई हजारौँको संख्यामा स्वास्थ्य सेवा लिन आइरहेका बिरामीहरूलाई समेत अस्पतालमा पुग्न नदिएर अलपत्र पारी अत्यन्तै दुरावस्था सिर्जना गरिएको प्रति नेपाल चिकित्सक संघ स्तब्ध भएको छ’, संघले विज्ञप्ति जारी गर्दै भनेको छ । लोकका लागि स्थापित गरिएको लोकतान्त्रिक गणतन्त्रमा नागरिकलाई सास्ती दिने सवारीको नाममा अस्वाभाविक सुरक्षाको प्रबन्ध मिलाउने भन्दै घण्टौँ जाम गरेर दैनिक जीवनयापनमा अत्यन्तै असहज परिस्थितिको सिर्जना गर्नु न्यायोचित नभएको नेपाल चिकित्सक संघको ठहर छ ।

यसैबीच, चिकित्सक कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै माइतीघर मण्डलामा शनिबार प्रदर्शन गरिएको छ । राष्ट्रपतिको सवारीका बेला शुक्रबार प्रहरीले ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई लाठी प्रहार गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले भिभिआइपी चाहिँदैन, जनता कुट्न पाइँदैन, बर्दी लगाएका गुण्डा मूर्दावाद, स्वास्थ्यकर्मीमाथि हिंसा बन्द गर् लगायतका नारासहितका प्लेकार्ड बोकेर उक्त घटनाको विरोध गरेका थिए ।

प्रहरीको कुटपिटबाट ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहको टाउको र हातमा चोट लागेपछि ट्रमा सेन्टरको आइसियुमा ‘अब्जर्भेसन’मा राखिएको छ । प्रहरीले ट्रमाका अरू चिकित्सकहरूलाई पनि कुटपिट गरेको थियो । डा. सिंहमाथि कुटपिट भएको विरोधमा उत्रिँदा मेडिकल अधिकृत डाक्टर जाफिर आलम लगायतमाथि पनि हातपात भएको थियो । सवारीको बेला चिकित्सक नै कुटिएपछि आमसमुदाय, पत्रपत्रिका, सामाजिक सञ्जालमा राष्ट्रपतिको सवारीलाई लिएर चौतर्फी विरोध भइरहेको छ ।

ADVERTISEMENT

चिकित्सकलाई कुटपिट गर्ने प्रहरी निलम्बित
भिआइपी सवारीका क्रममा चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरी वरिष्ठ हवल्दारलाई निलम्बन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला शुक्रबार प्रहरीले ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई कुटपिट गरेको आरोपमा प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङ निलम्बन गरिएको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलका अनुसार घटनाको अनुसन्धान गर्नका लागि गुरुङलाई निलम्बन गरिएको हो । काठमाडौं प्रहरी वृत्त जनसेवामा कार्यरत गुरुङलाई काठमाडौं जिल्ला प्रहरी परिसरले निलम्बन गरेको हो ।

विशिष्टको सवारीमा नागरिकलाई असुविधा नहुने गरी प्रोटोकल बदलौँ : थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा नहुने गरी प्रोटोकल बदल्न प्रस्ताव गर्नुभएको छ । शुक्रबार राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दुःखद भएको भन्दै दोषीलाई कारबाहीका मागमा सरकारबाट तत्काल सुनुवाइ हुनुपर्ने बताउनुभएको हो । उहाँले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनका लागि सडक खाली गराएर नागरिकलाई घन्टौँसम्म हिँड्डुल गर्न नदिने अभ्यास परम्पराको नाममा चलिरहेको भन्दै शैली बदल्नुपर्ने बताउनुभएको छ ।

‘विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्ने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौँसम्म हिँड्डुल गर्न नदिने अभ्यास ‘परम्परा’ को नाममा चलिरहेको छ । यो शैलीप्रति हरेकपटक हामी आक्रोश पोख्छौँ अनि बिर्सिन्छौँ । योपटक पनि त्यस्तै हुन्छ । तर, यस्तो दोहोरिन नदिने हो भने केही काम गर्नुपर्ने छ,’ थापाले सामाजिक सञ्जालमा दुई सुझाव राख्दै भन्नुभएको छ, ‘पहिलो, विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायत यस्ता विधि र प्रोटोकल बदलौँ । राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा पु¥याउन नपाउने र यो कार्यविधि कुनै सुरक्षा निकायले उल्लंघन गर्न नपाउने व्यवस्था गरौँ र कार्यान्वयन गरौँ । दोस्रो, निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै यो संशोधित कार्यविधि लागू हुनेगरी अहिलेदेखि तयारी गरौँ र नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गरौँ ।’ महामन्त्री थापाले कार्यविधिमा त्यस्तो व्यवस्था गर्न उहाँले तत्कालै पहल लिनेसमेत बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *