काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स एकआपसमा गाभ्ने/गाभिनेसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । शुक्रबार नेपाल बीमा प्राधिकरणको कार्यालयमा दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्षलगायत सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा सम्झौता भएको हो । सम्झौतामा आइएमईका सञ्चालक तथा मर्जर समितिका संयोजक अम्बिकाप्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्सका सञ्चालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार दुवै कम्पनी गाभिएपछि बन्ने कम्पनीको नाम आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहनेछ । मर्जरसम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारण सभामा लगिनेछ । आइएमई जनरल इन्स्योरेन्स र पु्रडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर अनुपात १ः१ कायम रहने भएको छ ।






