काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसआइडी) प्रमुख समान्था पावरले दुईदिने भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेतृत्वसँग भेट गर्नुभएको छ । उहाँले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर प्रधानमन्त्री दाहालसँग भेट गर्नुभएको हो । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नुभएको हो । पावरले नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसिसी)को कार्यान्वयनमा शीर्ष नेतृत्वसँग जोड दिनुभएको छ । यस्तै, बुधबार नै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग पनि उहाँले भेट गर्नुभएको थियो । भेटका क्रममा उहाँले नेपालको अर्थतन्त्र, नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसिसी) को कार्यान्वयनमा जोड दिनुभएको थियो ।
पावरले करिब साढे सात अर्ब रुपैयाँ सहयोग घोषणा गर्दै नेपालको साथमा उभिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले नेपालका लोकतान्त्रिक संस्था र नागरिक समाजको सुदृढीकरण, नागरिक समाज र सञ्चारमाध्यमको समर्थन तथा स्थानीय निर्वाचन एवं कानुनी शासनलाई मजबुत बनाउन र मानव बेचबिखनविरुद्ध लड्न ६ करोड ८५ लाख अमेरिकी डलर (करिब साढे सात अर्ब रुपैयाँ) सहयोग घोषणा गर्नुभएको हो । भ्रमणको पहिलो दिन मंगलबार ललितपुरको पाटनमा आयोजित कार्यक्रममा सहयोग रकम घोषणा गर्नुभएको हो । घोषित ६ करोड ८५ लाख डलरमध्ये एक करोड ८३ लाख नयाँ हो । बाँकी रकम सन् २०२२ मा सम्झौता गरिएको ६५ करोड ९० लाख डलरमध्येबाट हो । घोषित रकममा अझ बढी पारदर्शी र जवाफदेही तवरबाट सार्वजनिक सेवा प्रदान गर्न प्रादेशिक तथा स्थानीय सरकारलाई सहयोग गरी समावेशी लोकतन्त्र र समृद्धि सुदृढीकरण गर्न दुई करोड डलरसम्म समावेश गरिएको जनाइएको छ । स्वतन्त्र नागरिक समाजका संस्थाहरूलाई सहयोग गर्न एक करोड ८५ लाख डलरसम्मको रकम समावेश गरिएको छ ।
युएसएआइडीले नेपाललाई ६ दशकदेखि नै सहयोग गर्दै आएको उल्लेख गर्दै पावरले अमेरिका नेपालमा आर्थिक सहयोग गर्ने पहिलो विदेशी मुलुक भएको पनि बताउनुभएको थियो । युएसएआइडीको लगानीले सार्वजनिक वित्तीय व्यवस्थापन, स्वतन्त्र नागरिक समाज तथा सञ्चारमाध्यम, लोकतान्त्रिक प्रक्रिया तथा संस्था, कानुनी शासन र निजी क्षेत्र विकासको सुदृढीकरण गरी नेपाललाई लोकतान्त्रिक उपलब्धि मजबुत पार्न र नेपालीहरूका निम्ति अझ बृहत् समृद्धि भिœयाउन मद्दत गर्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।
पाटनमै आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री विमला राई पौड्यालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को अनुदानमा सञ्चालित परियोजना कार्यान्वयनमा जोड दिने बताउनुभएकोे थियो । उहाँले नेपालको संसद्ले गत वर्ष एमसिसी सम्झौता अनुमोदन गरेपछि सडक र ऊर्जा विस्तारसम्बन्धी परियोजनामा काम अघि बढेको बताउनुभएको थियो । नेपाल लगातार दोस्रोपटक संयुक्त राष्ट्रसंघको मानव अधिकार समितिको सदस्य बन्न सहयोग गरेकामा उहाँले अमेरिकालाई धन्यवाद दिनुभएको थियो । परराष्ट्रमन्त्री पौड्याल र प्रमुख समान्था पावरबीच मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पनि भेटवार्ता भएको थियो । भेटमा एमसिसी परियोजना कार्यान्वयन, जलवायु परिवर्तन, नेपाल अतिकम विकसित मुलुक (एलडिसी) बाट विकसित मुलुकका रूपमा स्तरोन्नति भएपछि प्रदान गरिने सहयोग लगायतका विषयमा छलफल भएको मन्त्री पौड्यालको सचिवालयले बताएको छ । मन्त्री पौड्यालले अमेरिकी सरकारले नेपाललाई गर्दै आएको सहयोगप्रति धन्यवाद दिनुभयो ।
समान्था पावर मंगलबार भक्तपुरस्थित आदर्श विद्यालय पुग्नुभएको थियो । उहाँले त्यहाँ विद्यार्थीसँग छलफल गर्नुका साथै बास्केटबल पनि खेल्नुभएको थियो । उहाँ मन्त्री तहकी अधिकारी हुनुहुन्छ । अमेरिकी विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्डले नेपाल भ्रमण गरेर फर्किएको हप्ता दिन नपुग्दै समान्था नेपाल भ्रमणमा आउनुभएको होे । पावर पछिल्लो २० वर्षमा नेपाल आउने पहिलो उच्च अमेरिकी अधिकारी हुनुहुन्छ । यसअघि सन् २००२ मा तत्कालीन अमेरिकी विदेश मन्त्री कोलीन पावेल नेपाल आउनुभएको थियो । समान्था बुधबार स्वदेश फर्किनुभएको छ ।
अमेरिकाको सहयोगमा कुनै भूराजनीतिक स्वार्थ छैन : समान्था
अमेरिकी अन्तर्राष्ट्रिय सहयोग संस्था (युएसएड) की प्रशासक समान्था पावरले नेपालले विदेशी लगानीलाई सहज बनाउन आफूले प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई अनुरोध गरेको बताउनुभएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । ‘करका विषयमा रहेका समस्या समाधान गरेर तथा लगानीका क्षेत्रमा नियामकीय प्रक्रियालाई सजिलो बनाउने विषयमा मैले अनुरोध गरेँ,’ उहाँले भन्नुभयो । यस्तै, निजी क्षेत्रलाई विश्वासमा लिनु आवश्यक रहेको पनि उहाँले बताउनुभयो । नेपालको विकास लक्ष्यलाई सहयोग गर्ने र २०३० सम्म मध्यम आय भएको मुलुक बनाउन अमेरिकाले सघाउने पनि उहाँले उल्लेख गर्नुभयो । कृषि र पर्यटनमा नेपालको सम्भावना रहेको बताउँदै उहाँले नेपाललाई प्रतिस्पर्धी बनाउन सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । नेपालको प्रजातान्त्रिक प्रणालीलाई बलियो बनाउन थप ६ करोड डलर सहयोग गर्ने जानकारी पनि आफूले गराएको उहाँले बताउनुभयो । ‘हामी संस्थाहरूलाई बलियो बनाउन लगानी गर्छौं र त्यो नै सबैभन्दा प्रभावकारी भएको छ,’ उहाँले भन्नुभयो, ‘नेपाल र अमेरिकाको सम्बन्धको लम्बाइ उचाइ तथा गहिराइ मित्रता र नेपाली जनताको हित मात्र हो ।’ अमेरिकाको सहयोगमा कुनै भूराजनीतिक स्वार्थ नभएको पनि उहाँले भन्नुभयो ।
समान्थाले आगामी महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने ‘प्रजातन्त्र सम्मेलन’मा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाललाई आमन्त्रण गरिएको बताउनुभएको छ । प्रमुख पावरले सम्मेलनको अधिकांश कार्यक्रम भर्चुअल्ली हुने भन्दै नेपालका प्रधानमन्त्रीले यसअघिको सम्मेलनमा व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयनसहितका सम्बोधन गर्ने अवसर हुने बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच