कानुन विपरीत करार कर्मचारीलाई पञ्जिका अधिकारीको जिम्मेवारी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

नवराज शिवाकोटी/हिटा
दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाले कानुनविपरीत करारमा नियुक्त कर्मचारीलाई पञ्जिकाधिकारीको सहित काम गर्ने गरी वडा सचिवका रूपमा कामकाज गर्न लगाएको पाइएको छ । पञ्जिका अधिकारीको काम स्थायी कर्मचारी वडा सचिवले मात्र गर्न सक्ने कानुनी व्यवस्थाको खिल्ली उडाउँदै नगरले विगत लामो समयदेखि नगरको वडा नम्बर ९ मा करार कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिई कामकाजमा लगाएको पाइएको हो । नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विसंं २०७४ साल जेठ १४ गते नेपालका सबै स्थानीय तहहरूलाई परिपत्र जारी गरी स्थानीय तहका वडाहरूमा पञ्जिकाधिकारीको कामसमेत गर्न स्थायी नियुक्ति भएका कर्मचारीहरूलाई मात्र वडा सचिवको जिम्मेवारी दिन भनेको थियो । परिपत्रमा जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन २०३३ तथा नियमावली २०३४ र स्थानीय विकास मन्त्रालयको उपप्रधानमन्त्रीस्तरीय मिति २०७३ साल फागुन ३० को निर्देशनअनुसार स्थायी कर्मचारीलाई मात्र वडा सचिव खटाउनुपर्ने उल्लेख छ ।

मन्त्रालयको निर्देशन विपरीत किन वडा सचिवमा करारका कर्मचारी खटाई पञ्जिकाधिकारीको समेत कामकाज गर्ने जिम्मेवारी दिइयो भनी भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेललाई प्रश्न गर्दा कर्मचारी अभावका कारण यस्तो भएको उहाँले बताउनुभयो । तर, नगरपालिकाको कार्यालयमा केही पाचौँ तहका स्थायी कर्मचारी रहेको भीमेश्वर नगरपालिकाको तथ्यांक छ ।

‘मेरो कार्यकालमा करारका कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिएको छैन । भेग भुगोल बुझेको र स्थानीय ठाउँको तथा सबैले विश्वास गर्ने भएकोले हाल वडा नम्बर ९ मा कार्यरत वडा सचिवलाई करारकै भए पनि विगतमा जिम्मेवारी दिएको होला ।’ प्रमुख प्रशासकीय अधिकृत पौडेलले भन्नुभयो, ‘नगरले प्रदेश लोकसेवा आयोगमा कर्मचारी पदपूर्तिका लागि पठाएको छ । त्यहाँबाट सिफारिस भई आएपछि यो समस्या समाधान हुन्छ ।’

वडा सचिवले पञ्जिकाधिकारीका रूपमा जन्म, मृत्यु तथा व्यक्तिगत घटना दर्ताको काम गर्दा निजामती किताबखानाले दिएको संकेत नम्बरसमेत अनिवार्यरूपमा राख्नुपर्ने हुन्छ । करार कर्मचारीले संकेत नम्बरको सट्टा फोन नम्बर राख्ने गरेको अधिकारी पौडेलले हिमालय टाइम्ससँगको कुराकानीका क्रममा स्वीकार गर्नुभयो ।

ADVERTISEMENT

वडामा स्थायी कर्मचारीलाई सचिव राख्न आफूले नगरपालिकामा आग्रह गरे पनि प्रदेश लोकसेवा आयोगबाट कर्मचारी सिफारिस भएर आएपछि मात्र स्थायी वडा सचिव पठाइने आफूलाई बताइने गरेको वडा नम्बर ९ का वडाध्यक्ष हिमाल श्रेष्ठले बताउनुभयो । आफ्नो वडामा सचिवमात्र होइन प्राविधिक कर्मचारीहरूको अभाव रहेको उहाँले गुनासो गर्नुभयो ।

भीमेश्वर नगरपालिका वडा नम्बर ९ मा मात्र नभई करार कर्मचारीलाई केही समय वडा नम्बर ८ को वडा सचिवको जिम्मेवारी दिँदासमेत भद्रगोल भएको भीमेश्वर नगरपालिकाको सम्बद्ध स्रोतले बताएको छ । वडा नम्बर ८ मा कार्यरत स्थायी कर्मचारी सरुवा भई नगरपालिकामा हाजिर भएपछि वडा सचिवको जिम्मेवारी पाएका करारका ती कर्मचारीले चालु आर्थिक वर्षकोे साउनदेखि मंसिरसम्मको आन्तरिक आम्दानीको रकम नगरको खातामा दाखिला नगरेको स्रोतको भनाइ छ । पछि ती कर्मचारीलाई नगरपालिकामा कागज गराई आन्तरिक आम्दानीको रकम पुस ६ गते नगरपालिकाको खातामा जम्मा गर्न लगाइएकोे स्रोतको दाबी छ ।

आन्तरिक आयको रकम तथा लगत बुझाएपछि ती करारका कर्मचारीलाई पुस ६ गते वडा नम्बर ९ को वडा कार्यालयमा सरुवा गरिएको थियो । तर, पुस ६ गते सरुवा गरिएका ती कर्मचारी हालसम्म कार्यालयमा हाजिर नभएको तथा सम्पर्कमा समेत नरहेको वडा नम्बर ९ का वडाध्यक्ष हिमाल श्रेष्ठले बताउनुभयो । वडा सचिवको जिम्मेवारी गहन तथा कानुनी हिसाबले पनि महत्वपूर्ण हुने भएकाले स्थायी कर्मचारीलाई मात्र नगरले यो जिम्मेवारी दिनुपर्ने भीमेश्वर नगरका स्थानीयहरूको माग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?