काठमाडौं । निकै उतारचढावपूर्ण कारोबारबीच बुधबार सेयर बजार २१७०.१८ अंकमा झरेर बन्दै भएको छ । मंगलबार नेप्से ७६ अंकले बढेकोमा बुधबार ७.१६ अंक घटेर २१७०.१८ मा बन्द भएको हो । नेप्से घटे पनि कारोबार रकम भने ३३ करोडले बढेर तीन अर्ब ६९ करोड १९ लाख ७२ हजार पुगेको छ । यस दिन दुई सय ५७ कम्पनीका एक करोड पाँच लाख दुई हजार कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । कारोबारमा आएका समूह १३ मध्ये अन्य बाहेक सबै समूहगत परिसूचक घटेको छ । अन्य ०.५० प्रतिशत बढेको छ भने घटेका १२ समूहमध्ये वित्त सर्वाधिक १.९२ प्रतिशतले घटेको छ । होटल तथा पर्यटन र जलविद्युत् पनि एक प्रतिशतभन्दा बढीले घटेको छ ।
नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ११ करोड २८ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने अपि पावरको १० करोड २१ लाख, ङादी ग्रुप पावर आठ करोड ९५ लाख, एनआइसी एसिया बैंक आठ करोड १८ लाख र शिवम् सिमेन्टको सात करोड ६१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
तेह्रथुम पावर कम्पनी र धौलागिरि लघुवित्तको तीन प्रतिशतभन्दा धेरैले बढेको छ भने राधी विद्युत्, प्राइम लाइफ र सबैको लघुवित्तको सेयरमूल्य साढे दुई प्रतिशतले बढेको छ । निरन्तर सकारात्मक सर्किट लागेर सेयरमूल्य बढ्दै आएको आदर्श लघुवित्तको नाफा उच्च घटेसँगै सर्वाधिक ५.१४ प्रतिशतले घटेको छ । पोखरा फाइनान्सको सेयरमूल्य ४.९८, ग्रिन भेञ्चर ३.८८, राष्ट्र उत्थान लघुवित्त ३.३५ र हिमालयन पावर पार्टनरको सेयरमूल्य ३.०८ प्रतिशतले घटेको छ । कुल बजार पुँजीकरण ३१ खर्ब ३१ अर्ब ६९ करोड १५ लाख रुपैयाँ रहेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता