नेपाली समाजवाद केवल युटोपिया नबनोस् !

Read Time = 14 mins

✍️ प्रा.डा. भूपप्रसाद धमला

कुनै पनि शब्दले त्यसलाई जनाउन खोजेको कुराको पूर्ण अर्थ दिन सक्दैन किनभने त्यो शब्द स्वयं नै त्यसले जनाउन खोजेको वस्तु होइन बरू त्यसलाई प्रतिनिधित्व गर्ने ध्वनि/लिपि संकेतमात्र हो । भौतिक वस्तुलाई जनाउने शब्दको अर्थ त सार्वकालिक र सर्वमान्य हुँदैन भने अमूर्त विचारको झन् निर्विविवाद अर्थ हुने कुरै भएन । यस्ता अमूर्त बिचारलाई प्रतिनिधित्व गर्ने शब्दहरूमध्ये धर्म र राजनीतिसँग सम्बन्धित शब्द सबैभन्दा बढी प्रभावोत्पादक हुन्छन् किनभने ती शब्द शक्तिशाली मानिसले पतिपादन गरी प्रचलनमा ल्याएका हुन्छन् । त्यसले सामान्य मानिसको मानसपटलमा कहिल्यै नमेटिने छाप पार्छ । यस्तो शब्दले बोकेको विचारलाई उसले अकाट्य सत्य हो भन्ठान्छ, त्यसको पछि लाग्न हुरुक्क हुन्छ र जीवन नै उत्सर्ग गर्न पनि तयार हुन्छ ।

समाजवाद :
राजनीतिक जगतमा प्रयोग हुने शब्दले राजनीतिक विचारधाराको प्रतिपादन गर्छ । राजतन्त्र, लोकतन्त्र, जनतन्त्र, सामन्तवाद, पुँजीवाद, समाजवाद, साम्यवाद इत्यादि सर्वाधिक चर्चा भएका राजनीतिक शब्दहरू हुन् । त्यस्ता राजनीतिक शब्दहरूमध्ये समाजवाद एउटा अत्यन्त लोकप्रिय शब्द हो । यस शब्दले राजनीतिक स्वतन्त्रता, आर्थिक समृद्धि, सामजिक न्याय, र उन्नत संस्कृतिसहितको समतामूलक समाजको परिकल्पना गर्छ ।

नेपालमा लोकतान्त्रिक समाजवादको परिभाषा यसका व्याख्याता नेपाली कांग्रेसका नेता बीपी कोइरालाबाट भएको छ भलै त्यसमा थुप्रै अपूर्णताहरू छन् । ती अपूर्णताहरूको थप व्याख्या विश्लेषण र समयानुसार परिमार्जन गर्ने काम हालका नेताहरूबाट भएको देखिएन । कम्युनिष्ट पार्टीहरू पनि अहिलेसम्म अलमलमै छन् ।

युरोपबाट उत्पत्ति भएको समाजवादको अर्थ विभिन्न समयमा विभिन्न ढंगले लगाउने गरिएको छ । उन्नाइसौं शताब्दीको मध्यतिर प्रसिद्ध जर्मन दार्शनिक कार्ल माक्र्सले द्वन्द्वको क्रममा पुँजीवादलाई विस्थापित गरी समाजवाद आउँछ भन्ने दाबी गरे । सो दाबीअनुसार बीसौं शताब्दीको पूर्वाद्र्धमा रूसका लेनिनले अक्टोबर क्रान्तिमार्फत समाजवादको स्थापना भएको घोषणा गरे । लहरै पूर्वी युरोप, चीन, कोरिया, भियतनाम, क्युवालगायत देशमा समाजवादको स्थापना भयो भनियो । तर, स्टालिनको पालासम्म आइपुग्दा युरोपमा वैज्ञानिक समाजवादको विकल्पमा लोकतान्त्रिक समाजवादको अवधारणा विकास भयो । लोकतान्त्रिक समाजवादीको तर्क थियो वैज्ञानिक समाजवादका नाममा कम्युनिष्ट पार्टीको एकदलीय शासन सञ्चालन भयो जुन लोकतान्त्रिक हुन सक्दैनथ्यो ।

यसको सट्टा लोकतान्त्रिक समाजवाद बहुदलीय प्रतिस्पर्धामा आधारित सामजिक न्यायसहितको उत्तम खाले समाजवाद हो भनियो । समाजवादको यो राजनीतिक विचारधारालाई धेरै मानिसले मन पराएर त्यसको पछि लागे । अब त पुँजीवादपन्थीहरू पनि आफूलाई समाजवादी भन्न रुचाउँछन् भलै व्यवहारमा उनीहरू पुँजीवादको अभ्यास गरून् । कुशल राजनीतिज्ञले आफ्नो अनुकूल अर्थ लाग्ने गरी सिर्जना गरेको भए पनि समाजवाद शब्दले जनाउने विचारधारा सबैले पत्याउन सक्ने किसिमले प्रवाह गरिएको छ । समाजवाद यो युगको सर्वाधिक लोकप्रिय राजनीतिक विचारधारा हुन गएको छ ।

तर, समाजवादी विचारधारा लोकप्रिय भएर पनि व्यवहारमा अझसम्म सफल हुन सकेको छैन । यसको कारण के हुन सक्छ भने समाजवाद शब्दले सुन्दर संसारको सपना बाँड्छ जुन यथार्थभन्दा धेरै टाढा हुन्छ । यस अर्थमा समाजवाद भनेको मुखले भन्ने कामले नगर्ने अमूर्त सिद्धान्त जस्तो हुन गएको छ । खासमा समाजवादको अर्थ जुन शक्ति राज्य सत्तामा हुन्छ उसैले लाउँछ अरूले त्यसलाई हो भनी पत्याइदिनुपर्ने हुन्छ । समाजवाद भनेको आफ्नो अनुकूल हुनेगरी जसले पनि जे पनि अर्थ लगाउन सक्ने शब्दजस्तो हुन पुगेको छ ।

नेपाली समाजवाद :
युरोपमा जन्मेको समाजवादी अवधारणा युरोपको भूगोलभित्र सिमित रहेन । लामो दूरी पार गर्दै बीसौं शताब्दीको मध्यतिर यो शब्द नेपाली भूमिमा पनि छिर्‍यो । अन्यत्र जस्तै नेपालमा पनि समाजवाद शब्दको अर्थ विभिन्न राजनीतिक शक्तिले भिन्दाभिन्दै ढंगले लगाइरहेका छन् । यहाँ मूलतः दुई प्रभावशाली पृथक राजनीतिक शक्तिले विगत प्रारम्भदेखि बेग्लाबेग्लै ढंगले समाजवादको व्याख्या विश्लेषण गर्दै आएका छन् ।

एकथरीले लोकतान्त्रिक समाजवादको पृष्ठपोषण गर्छन् भने अर्काथरीले वैज्ञानिक समाजवादको वकालत गर्छन् । त्यही अर्थका आधारमा ती राजनीतिक शक्तिहरूबीच समाजवाद शब्दको अर्थमा सात दशक अघिदेखि बहस, विवाद, तर्क, वितर्क भएर पनि अझै आधारभूत सवालमा मतैक्य हुन सकेको छैन । खासमा यहाँ नेपाली विशेषताको समाजवाद के हो भन्ने कुराको टुंगो नै लागेको छैन ।

ADVERTISEMENT

नेपालमा लोकतान्त्रिक समाजवादको परिभाषा यसका व्याख्याता नेपाली कांग्रेसका नेता बीपी कोइरालाबाट पहिले नै भएको छ भलै त्यसमा थुप्रै अपूर्णताहरू छन् । ती अपूर्णताहरूको थप व्याख्या विश्लेषण र समयानुसार परिमार्जन गर्ने काम हालका नेताहरूबाट ठोस रूपमा भएको देखिएन । कम्युनिष्ट पार्टीहरू पनि अहिलेसम्म अलमलमै छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालले भनेको नौलो जनवाद वैज्ञानिक समाजवादको अर्को रूप हो अथवा मदन भण्डारीले प्रतिपादन गरेको बहुदलीय जनवाद परिमार्जित वैज्ञानिक समाजवाद हो अथवा पुष्पकमल दाहालले भनेको एक्काइसौँ शताब्दीको जनवाद अद्यावधिक वैज्ञानिक समाजवाद हो अझै एकिन छैन । यस्तो लाग्छ ती कुनैले पनि समाजवादको अर्थ बोक्न सक्दैनन् । तिनीहरू आपसमै परस्परविरोधी छन् । खासमा तिनीहरू अलमले कुरामात्र हुन् ।

राजनीतिक चरित्र र अभ्यासका हिसाबले कांग्रेस र कम्युनिष्ट फरक सिद्धान्तका राजनीतिक शक्ति होइनन् बरू यिनीहरू एउटा सारका दुईवटा रूपमात्र हुन् । नेपाली कांग्रेसले भनेको लोकतान्त्रिक समाजवाद यस पार्टीले धेरै पटक शासन सत्ता सम्हालेर पनि नेपाली धरतीमा सन्तोषजनक प्रयोग भएको देखिएन । कम्युनिष्ट पार्टीहरूले गरेको राजनीतिक अभ्यास पनि वैज्ञानिक समाजवाद ल्याउने खालको छैन ।
यी दलका संसदीय अभ्यास र परम्परा पनि पुरानो लोकतन्त्रका भन्दा कुनै मानेमा फरक देखिएनन् । तसर्थ विचार र व्यवहार दुवै हिसाबले यी दुवै शक्तिले भनेका कुरामा तात्विक अन्तर छैन । कांग्रेसले भन्ने गरेको लोकतान्त्रिक समाजवादको व्यवहारमा प्रयोग भएको छैन भने कम्युनिष्टले भन्ने गरेको वैज्ञानिक समाजवाद त झन् किन्चित मात्र पनि प्रयोग भएको छैन । त्यस अर्थमा तिनका भनाइ र गराइ बिल्कुल असंगत छन् ।

विचार र व्यवहार उही भएपछि वास्तवमा यी दुवै शक्तिको एउटा दल बनाए हुने हो तर उनीहरू यसो गर्न पटक्कै चाहँदैनन् । यसको कारण दोहोर्‍याएर भनिरहनु परेन यसै पनि सबैले बुझेकै छन् । शब्दको आधारमा आफ्नो छुट्टै पहिचान बनाउनु परेकै छ । त्यसैले कांग्रेसले पहिलेदेखि नै भनिआएको लोकतान्त्रिक समाजवाद शब्द फेर्नु परेन तर कम्युनिष्टले वैज्ञानिक समाजवादको सट्टा समाजवादी लोकतन्त्र शब्द प्रयोग गर्नु राजनीतिक इमानदारी हुन्छ ।

कांग्रेसले भनिआएको लोकतान्त्रिक समाजवाद शब्द फेर्नु परेन तर कम्युनिष्टले वैज्ञानिक समाजवादको सट्टा समाजवादी लोकतन्त्र शब्द प्रयोग गर्नु राजनीतिक इमानदारी हुन्छ । बहुदलीय प्रतिस्पर्धामा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान मानेर सोअनुसारको अभ्यास गर्ने कम्युनिष्ट पार्टीहरू वैज्ञानिक समाजवादी होइनन् बरू समाजवादी लोकतन्त्रका हिमायती हुन् ।

बहुदलीय प्रतिस्पर्धामा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान मानेर सो अनुसारको अभ्यास गर्ने कम्युनिष्ट पार्टीहरू वैज्ञानिक समाजवादी होइनन् बरू समाजवादी लोकतन्त्रका हिमायती हुन् । यिनीहरू वैज्ञानिक समाजवादी हुनुपर्ने हो भन्ने यो पंक्तिकारको दावी पनि होइन तर उनीहरूले भन्ने एक थोक र गर्ने अर्कै थोक हुनु असंगत भयो । कुनै पनि राजनीतिक पार्टीको भनाइ र गराइ संगतीपूर्ण भएन भने अन्ततः राजनीतिबाट विस्थापित हुनु अनिवार्य हुन्छ ।

सहमतिको समाजवाद :
विगत तीन दशकको नेपाली राजनीतिक इतिहास हेर्दा कांग्रेस र कम्युनिष्ट कुनै शक्तिले पनि अर्कोलाई निषेध गर्ने अवस्था देखिएन । त्यसैले अब पटक्कै अलमल नगरिकन कांग्रेस र कम्युनिष्टले आपसी सहमतिमा केही ठोस कामहरू गर्नुपर्छ । पहिलो, यी दुवै शक्तिले सार्थक संवाद गरेर लोकतान्त्रिक समाजवाद र समाजवादी लोकतन्त्र कसरी एक अर्कामा फरक छन् वा एक अर्काका पूरक हुन् टुंगो लगाउनुपर्छ ।

दोस्रो, यी दुवै शब्दले जनाउने असल कामकुराको छनोट गरी न्युनतम साझा अवधारणा विकास गर्नुपर्छ । यी अवधारणाको जसले पनि जहिले पनि व्याख्या गर्दा आफ्नो अनुकूल हुनेगरी आनका तान फरक पर्नु हुँदैन । उही काम र उही कुराको व्याख्या विश्लेषण आफ्नो स्वार्थअनुकूल गर्ने दोहोरो मापदण्डको शैली तुरुन्त त्याग्नुपर्छ ।

तेस्रो, कांग्रेस र कम्युनिष्ट जुन पार्टीको नेतृत्वमा सरकार भए पनि आफ्ना कामको एकलौटी श्रेय आफैँले मात्र लिएर सस्तो लोकप्रियता कमाउन खोज्नु हुँदैन । यी दुवै शक्तिले सानातिना फरकहरू बिर्सेर आपसी सहमतिमा नेपाली विशेषताको समाजवाद विकास गर्नु अत्यन्त आवश्यक छ जसले मात्र राजनीतिक स्थीरता र आर्थिक समृद्धि ल्याउँन सक्छ । आशा गरौँ नेपालमा समाजवादको कुरा केवल युटोपिया नबनोस् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?