काठमाडौं । सरकारले आगामी चार वर्षभित्र पस्मिना निर्यात बढाएर सात करोड ५० लाख अमेरिकी डलर पुर्याउने लक्ष्यसहित पस्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति सार्वजनिक गरेको छ । मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सन् २०२६ सम्म पस्मिनाको निर्यात सात करोड ५० लाख अमेरिकी डलर पु¥याउने लक्ष्यसहित पस्मिना निर्यात राष्ट्रिय रणनीति सार्वजनिक गर्नुभएको हो ।
सरकारले सन् २०२६ सम्म पस्मिना निर्यात सात करोड ५० लाख अमेरिकी डलर पुर्याउने लक्ष्यसहित पस्मिना निर्यात राष्ट्रिय रणनीति सार्वजनिक गरेको छ ।
निजी क्षेत्रको क्षमता अभिवृद्धि गर्ने तथा हिमाली च्याङ्ग्रा पस्मिनाको निर्यात बढाउन र पस्मिना उत्पादनलाई विश्व बजारमा पुर्याउने उद्देश्य रहेको छ । पस्मिना क्षेत्र निर्यात रणनीति मन्त्रालय, व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्र तथा नेपाल पस्मिना उद्योग संघसँगको सहकार्य र युरोपियन युनियनको सहयोगमा सञ्चालित इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम (टिआइपी) अन्तर्गत अन्तर्राष्ट्रिय व्यापार केन्द्रको प्राविधिक सहयोगमा रहेको छ । मन्त्री भण्डारीले रणनीति कार्यान्वयनसँगै नेपालमैै च्याङ्ग्र्राको ऊन प्रशोधन गर्न सकिने भएकाले स्वदेशमा उचित मूल्य, बजार सुनिश्चितता हुने र उत्पादन बढ्ने दाबी गर्नुभयो । उद्योग सचिव मधुकुमार मरासिनीले च्याङ्ग्राको ऊन उत्पादन बढाउन हिमाली जिल्लामा च्याङ्ग्र्रापालनमा किसानलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयो । पस्मिना उद्योग संघका अध्यक्ष विजय दुगडले पस्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीति योजना निजी क्षेत्रका लागि अवसर भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले नेपालमा पूर्णरूपमा पस्मिना आयात हुन्छ, नेपालमा नै ऊन प्रशोधन गरेर पस्मिनाको धागो बन्नु सकारात्मक पक्ष हो ।’ दुगडका अनुसार नेपालमा ५० लाख पिस पस्मिना उत्पादन क्षमता भए पनि २० देखि २५ लाख पिसमात्रै उत्पादन भइरहेको बताउनुभयो । पस्मिना प्रशोधनका लागि पस्मिना फाइबर प्रशोधन केन्द्र ललितपुरको हरिसिद्धिमा शिलान्यास भएको छ ।






