निर्माणाधीन प्रसारण लाइन अनुगमनमा इयुको टोली

Read Time = 5 mins

काठमाडौं । युरोपेली युनियन (इयु)को उच्चस्तरीय टोलीले निर्माणाधीन चिलिमे-त्रिशुली २२० केभी प्रसारण आयोजनाको स्थलगत निरीक्षण गरेको छ । इयुका एसिया निर्देशक पिटरिस अस्टस नेतृत्वको टोलीले सोमबार नुवाकोट र रसुवामा निर्माणाधीन आयोजनाको स्थलगत निरीक्षण गरेको हो । आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङ्मो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीमा २२०/१३२/३३ केभीको क्रमशः चिलिमे हब र त्रिशुली थ्री बी हब सबस्टेसन निर्माणाधीन छन् । साथै, चिलिमे हबदेखि त्रिशुली थ्री बी हब सबस्टेसनसम्म २८ किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण भइरहेको छ ।

अनुमानित लागत तीन करोड ९० लाख अमेरिकी डलर रहेको आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र जर्मन विकास बैंक (केएफडब्लु)को अनुदान रहेको छ । इयुले स्थापना गरेको युरोपेली लगानीको बैंक (इआइबी)को आयोजनामा सहुलियतपूर्ण ऋण रहेको छ । इयु टोलीले त्रिशुली थ्री बी हब सबस्टेसन र रसुवाको उत्तरगया गाउँपालिका-२ स्थित डाँडागाउँमा निर्माणाधीन प्रसारण लाइनको निरीक्षण गरेको थियो । टोलीले प्राधिकरण, आयोजना व्यवस्थापन, निर्माणमा संलग्न परामर्शदाता र ठेकेदारका प्रतिनिधिसँग आयोजनाको प्रगति, समस्या, निर्माण सम्पन्न हुने मितिलगायतका विषयमा छलफल गरेको प्राधिकरणले जनाएको छ । टोली प्रमुख पिटरिस अस्टसले आयोजना निर्माणले पछिल्लो समय गति लिएको र हालसम्मको प्रगति सन्तोषजनक देखिएको उल्लेख गरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभएको छ ।

ADVERTISEMENT

प्राधिकरणका अनुसार भौगोलिकरूपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनुपर्ने, भिरैभिर रहेको र सडक पनि नभएकाले ढुंगा, गिट्टी, बालुवा, टावरका सामान, पानी, मान्छे या खच्चडबाट बोकाएर लैजानुपर्ने, बाढीपहिरो, ठेकेदार तथा परामर्शदाताको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोरोनालगायतका कारण आयोजनाको निर्माण प्रभावित हुँदै आएको थियो ।

इयुले इआइबीमार्फत् नेपालको जलविद्युत्को उत्पादन, प्रसारण र वितरणमा ठूलो लगानी गर्न खोजेको छ, ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनाको अन्तर्राष्ट्रिय वित्तीय संस्थाको सहवित्तीयकरणमार्फत् लगानी गर्न इच्छा व्यक्त गरेको छ, युनियनका अधिकारीहरू चिलिमे–त्रिशुली प्रसारण लाइन निर्माणमा प्रगति देखिएपछि अन्य थप आयोजनामा लगानीका लागि सकारात्मक देखिएका छन् । इआइबीले चिलिमे–त्रिशुली प्रसारण लाइनका साथै १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना, मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन र सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका जिल्लाहरूमा विद्युतीकरणका लागि सहुलियतपूर्ण ऋण प्रवाह गरेको छ । केएफडब्लुले नुवाकोट र रसुवामा विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण र सौर्य ऊर्जाका लागि अनुदान उपलब्ध गराएको छ । चिलिमे–त्रिशुली २२० केभी आयोजनाको समग्र भौतिक प्रगति ८१ प्रतिशत रहेको छ । त्यसमध्ये प्रसारण लाइन र सबस्टेसनको निर्माण प्रगति क्रमशः ७१ र ७० प्रतिशत रहेको प्राधिकरणले जनाएको छ । प्रसारण लाइन निर्माणमा करिब तीन सय, चिलिमे हब सबस्टेसनमा ९० र त्रिशुली थ्री बी हबमा १६० जना श्रमिक परिचालित रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?