राष्ट्रियसभा उपाध्यक्षमा अर्याल निर्विरोध निर्वाचित

Read Time = 9 mins

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ । सोमबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो । बैठकमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी एउटा मात्रै प्रस्तावको सूचना प्राप्त भएकाले राष्ट्रियसभा नियमावली २०७५ को नियम ८ बमोजिम सभाका माननीय सदस्य उर्मिला अर्याललाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, ‘सभाका माननीय सदस्य उर्मिला अर्याललाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी एउटा मात्रै प्रस्तावको सूचना प्राप्त भएकाले राष्ट्रियसभा नियमावली २०७५ को नियम ८ बमोजिम सभाका माननीय सदस्य उर्मिला अर्याललाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्दछु ।’ नेपाली कांग्रेसले उम्मेदवारी नदिएपछि अर्याल निर्विरोध हुनुभएको हो ।

त्यसअघि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अर्याललाई उपाध्यक्ष निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभामा पेस गर्नुभएको थियो । अर्याल निर्विरोध निर्वाचित हुँदा राष्ट्रिय सहमति निर्माणका लागि सकारात्मक सन्देश गएको श्रेष्ठले बताउनुभयो ।

अर्याल एक वर्षअघि भएको निर्वाचनमा माओवादीको तर्फबाट राष्ट्रियसभा सदस्य बन्नुभएको हो । २०७० सालमा माओवादी प्रवेश गर्नुभएकी अर्याल त्योभन्दा पहिला एमालेमा सक्रिय हुनुहुन्थ्यो । उहाँ २०६३ मा एमालेको तर्फबाट महिला बालबालिका तथा समाज कल्याण मन्त्री बन्नुभएको थियो । अर्याल २०७० र २०७४ मा नेकपा माओवादी केन्द्रको तर्फबाट पर्सामा उम्मेदवार बन्नुभएको थियो । उहाँ अहिले नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य हुनुहुन्छ ।

संसद्को विपक्षी दल कांग्रेसले उपाध्यक्षका लागि उम्मेदवार बनाउने भन्ने विषयमा धुम्बाराहीमा बसेको शीर्ष नेताहरूको बैठकले पार्टीबाट राष्ट्रियसभाको उपाध्यक्षमा कसैलाई नउठाउने निर्णय गरेको थियो नेकपा (माओवादी केन्द्र) ले उपाध्यक्षमा आफ्नो पार्टीबाट उम्मेदवार उठाउने भएसँगै कांग्रेसले उक्त पदमा दाबी नगर्ने निर्णय गरेको हो । यसअघि, कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरेविरुद्ध ईश्वरी न्यौपानेलाई उठाएको थियो भने उपसभामुखमा मुक्ताकुमारी यादवलाई उठाएको थियो ।

राष्ट्रियसभालाई प्रभावकारी बनाउन भूमिका खेल्छु
राष्ट्रियसभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताउनुभएको छ । सोमबार राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपाध्यक्ष अर्यालले राष्ट्रियसभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताउनुभएको हो । उपाध्यक्ष अर्यालले राष्ट्रियसभामा महिला सांसदबीचको सहकार्यलाई विकास गर्दै जाने बताउनुभयो । आफू जिम्मेवारीमा रहँदासम्म कुनै पार्टी विशेषको पक्षमा नलागी समान व्यवहार गर्ने उहाँको भनाइ छ । त्यस्तै, महिलाहरूका लागि नयाँ नियम, कानुन बनाउने सन्दर्भमा पहलकदमी लिने उहाँले बताउनुभयो ।

ADVERTISEMENT

उपाध्यक्ष अर्यालले आफूले विगतमा महिलाहरूका निम्ति गरेको कामका कारण सबै पार्टीका महिलाहरूले आफूलाई सर्वसम्मत रूपमा निर्वाचित गराउन भूमिका खेलेको जिकिर गर्नुभयो । आफूलाई सर्वसम्मत बनाउने कुरामा महिला सांसदहरूले आफ्नो पार्टीलाई पनि प्रभावमा पार्न सकेकाले आफू निर्विरोध हुन सकेको उहाँको भनाइ थियो । उपाध्यक्ष अर्यालले आफूले कसैको पक्ष नलिई काम गर्ने कुरामा सबैको विश्वास रहेको बताउनुभयो ।

विद्यार्थी आन्दोलनदेखि राष्ट्रियसभाको उपाध्यक्षसम्म
विसं. २०१३ साल असोज २० मा बुवा बलराम र आमा जगतमाया अर्यालबाट जगरनाथपुर गाउँपालिका– ५ मसिहानी, पर्सामा जन्मिनुभएकी अर्यालले भारतको पञ्जाबस्थित रिम्टस् विश्वविद्यालयबाट राजनीतिक समाजशास्त्रमा विद्यावारिधि गर्नुभएको छ । उहाँले भारतकै इन्दिरा गान्धी विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तरसमेत गर्नुभएको छ ।

२०२६ सालमा अनेरास्ववियूको सदस्यता लिई विद्यार्थी राजनीतिबाट उहाँले राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । २०३६ सालमा ठाकुरराम बहुमुखी क्याम्पस स्ववियु उपसभापतिमा निर्वाचित हुनुभएकी अर्याल २०३८ सालमा तत्कालीन चौमअन्तर्गत अयोध्यामा भएको अखिल नेपाल महिला संघको पहिलो राष्ट्रिय सम्मेलनबाट प्रथम अध्यक्ष निर्वाचितसमेत हुनुभएको थियो ।

राष्ट्रियसभाबाट तीन विधेयक पारित
राष्ट्रियसभाको सोमबारको बैठकले तीन विधेयक पारित गरेको छ । बैठकले ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

यस्तै बैठकले ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७’ सर्वसहमतिले पारित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको तर्फबाट मन्त्री शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । सोमबारको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ सर्वमम्मतिले पारित गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही माघ २७ गते शुक्रबार ५ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *