चालकहरूद्वारा आफ्नै पेट्रोलियम ट्यांकर माग

Read Time = 4 mins

काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले आफ्नै पेट्रोलियम ट्यांकर चलाउन पाउनुपर्ने माग गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित संघको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा संघका अध्यक्ष ईश्वर लामाले चालकहरूले आफ्नै ट्यांकर चलाउन पाउनुपर्ने माग गर्नुभएको हो ।

सधैं परनिर्भर हुनुभन्दा आफूहरूको भविष्यका लागि आत्मनिर्भर हुनुपर्ने भएकाले आफ्नै ट्यांकरको माग गर्नुपरेको उहाँको भनाइ छ । लामाका अनुसार देशभर एक हजार नौ सय पेट्रोलियम ढुवानी चालक रहेका छन् । उहाँले एकपटक चालकका लागि कन्ट्र्याक्ट नामसारी खुलाइदिन माग गर्दै माग सुनुवाइ नभएमा ३० दिनभित्र ट्यांकरको साँचो हस्तान्तरण गरेर आन्दोलनमा उत्रिने चेतावनीसमेत दिनुभएको छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले ट्यांकर चालकको माग सम्बोधन गर्न विद्यमान ऐन, कानुन संशोधन आवश्यक रहेको बताउनुभयो । विनियमावलीमा भएका केही व्यवस्थासमेत परिमार्जन गर्नुपर्ने अवस्था रहेकाले सम्बन्धित निकायले आ-आफ्नो ठाउँबाट पहल गर्नुपर्ने उहाँको भनाइ छ । सांसद राजन केसीले ट्यांकर चालकको स्वरोजगार बन्न पाउनुपर्ने माग सम्बोधनका लागि निर्णय गराउन आफू लागिपर्ने बताउनुभयो ।

ADVERTISEMENT

इन्टरनेसनल ट्रान्सपोर्ट वकर्स फेडरेशन (आइटिएफ) बेलायतका महासचिव ब्रदर स्टिफन कटनले कोरोना समयमा सार्वजनिक यातायात क्षेत्रमा काम गर्ने श्रमिक घर गएर बस्न नसक्ने अवस्थामा पेट्रोलियम ट्यांकर चालकले खेलेको भूमिका अन्तर्राष्ट्रिय श्रमिक क्षेत्रले सकारात्मकरूपमा लिएको बताउनुभयो । भारतको विहार ट्यांकर चालक, उपचालक युनियनका अध्यक्ष चन्द्रप्रकाश सिंहले भारतमा नेपाली पेट्रोलियम ट्यांकर चालकका थुप्रै समस्या रहेको भन्दै समस्या समाधानका लागि आफूले नेपाल पेट्रोलियम चालकसँग सहकार्य गरेर काम गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बस्नेत, उपाध्यक्ष अजयकुमार राई, महासचिव योगेन्द्रकुमार कुँवर, नेपाल पेट्रोलियम ढुवानी महासंघका महासचिव विश्व अर्याल, नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधान, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्म भण्डारीलगायतको उपस्थति रहेको थियो ।

सो अवसरमा नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र बिहार ट््यांकर चालक उपचालक संघबीचमा आपसी सहयोग आदान–प्रदान गर्ने गरी छबुँदे सम्झौतासमेत भएको छ । सम्झौतापत्रमा नेपालतर्फबाट संघका अध्यक्ष लामा र बिहारतर्फबाट अध्यक्ष सिंहले हस्ताक्षर गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज