काठमाडौं । काठमाडौंको भीमसेनस्थानस्थित द रोलिङ स्टोन्स स्कुलले तीन अवधारणा पारित गरेको छ । उसले समर्पित शिक्षक, अभिप्रेरित विद्यार्थी र जागरुक अभिभावक भन्ने नारालाई तीन स्तम्भका रूपमा पारित गरेको हो । अभिभावक दिवस मनाउँदै विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीको भेलाले सो अवधारणा पारित गरेका हुन् ।
‘विद्यालयको सफलतामा सबै स्तम्भको समान भूमिका रहन्छ, अभिभावक, शिक्षक र विद्यार्थी एकीकृत ढंगले अघि बढे सफलता निश्चित छ,’ स्कुलका संस्थापक तथा प्रिन्सिपल दिरेकलाल श्रेष्ठले सो धारणा पारित गरिदिन प्रस्ताव गर्दै भन्नुभयो, ‘रोलिङ स्टोन्सले आज जुन स्तरको सफलता हासिल गरेको छ, त्यो एकीकृत योगदान हो, भविष्यमा हामी तीन स्तम्भ नै अझ बढी समर्पित भए अझ बढी सफलता सुनिश्चित छ ।’
कार्यक्रममा विद्यालयका अध्यक्ष सुनिलकृष्ण श्रेष्ठले विद्यार्थीलाई पढाइका साथै अतिरिक्त क्रियाकलापमा लगाउनु आवश्यक रहेको धारणा राख्दै रोलिङ स्टोन्सले यस आवश्यकतालाई बुझेको र आगामी दिनमा अझ बढी बुझ्ने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालयले विद्यार्थीलाई ६० प्रतिशत शैक्षिक र ४० प्रतिशत समय अतिरिक्त क्रियाकलापमा लगाएको छ । काष्ठमण्डपको काखैमा रहेको यो विद्यालय सबैको पायकमा छ, घना बस्तीभित्र अतिरिक्त क्रियाकलापका लागि फराकिलो ठाउँ भएकाले यो सबैको आकर्षणमा परेको हो ।
प्रमुख अतिथि काठमाडौं महानगरपालिका-२० का वडाध्यक्ष राजेन्द्र मानन्धरले भन्नुभयो, ‘विद्यार्थीको चरित्र निर्माण अतिरिक्त क्रियाकलापबाटै हुने हो, अनुशासित विद्यार्थीले नै भोलि देश विकास गर्ने हुन्, मैले यहाँका विद्यार्थी अनुशासित पाएको छु ।’
अभिभावक दिवसमा भूतपूर्व विद्यार्थी तथा शिक्षकले पनि मनोरञ्जनात्मक नृत्यहरू प्रस्तुत गरेका थिए भने विद्यार्थीले गीत, नृत्य र नाटक प्रस्तुत गरेका थिए । कार्यक्रममा वार्षिकरूपमा आयोजना गरिएका विभिन्न क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई तक्मा तथा पुरस्कार प्रदान गरिएको थियो । कक्षा ९ मा अध्ययनरत सन्ध्या बिक ‘स्टुडेन्ट अफ द इयर’ बन्नुभएको थियो । कक्षागत शिक्षा तथा अतिरिक्त क्रियाकलाप दुवै विधामा उहाँ उत्कृष्ट रहनुभएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts