सुर्खेत । माछाका भुरा उत्पादन गर्ने भन्दै पशु अस्पताल तथा पशु सेवा कार्यालयले बाँडेको एक करोड रुपैयाँ बालुवामा पानीझैँ भएको छ ।
भेरी नगरपालिका-१३ कुदुस्थित इन्द्र मिलन कृषि तथा पशु पालन सहकारी संस्थालाई आर्थिक वर्ष २०७६/७७ देखि आर्थिक वर्ष २०७८/७९ सम्म जम्मा एक करोड रुपैयाँ माछाको भुरा उत्पादन तथा माछा पालन भन्दै भुक्तानी भएको छ । उक्त सहकारीले अनुदानमा निर्माण गरेको माछाको भुरा उत्पादन तथा माछापालन काम अलपत्र परेको छ । जमिनबाट पानी निकालेर माछा पोखरीमा निरन्तर पानी प्रयोग गर्ने भन्दै स्थापना गरिएकोे डिप बोरिङ मेसिनसमेत खिया लागेर काम नलाग्ने अवस्थामा पुगेको छ ।
भुरा उत्पादनका लागि हेचिङ पलान्टसमेत अलपत्र अवस्थामा पुगेको छ । आर्थिक आर्थिक वर्ष २०७८/७९ मा पनि यो सहकारीले केही रकम लिन बाँकी रहेको सूचना अधिकारी तिलकबहादुर रानाले बताउनुभयाे । अघिल्लो बर्षको रकम भुक्तानी हुने क्रममा रहेको उहाँले बताउनुभयाे । ढिला फाइल बुझाएका कारण रकम भुक्तानी हुन नसकेको हो । अहिले भुरा उत्पादन हुने भनिएको ठाउँमा रहेका पोखरीहरु चिराचिरा परेका अवस्थामा रहेका छन् ।
पोखरी बचाउन राखिएका घेराबार भत्किएका अवस्थामा छन् । पोखरीभित्र राखिएको प्लास्टिकहरू च्यातिएर काम नलाग्ने अवस्थामा पुगेको छ । शक्तिकेन्द्रको पहुँचमा उक्त बजेट सहकारीमा हालेर काम नगरी अलपत्र पर्दा प्रदेश सरकारको बजेट मात्र खेर गएको कर्मचारीहरुसमेत बताउँछन् ।
माछापालन तथा भुरा उत्पादनको नाममा लाखौँ रकम झ्वाम पारेको स्थानीयबासीको भनाइ छ । अहिले न यहाँ भुरा उत्पादन भए, न त माछापालन नै भयो ? पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट सहकारीलाई ताकेता गर्दा सहकारीका पदाधिकारीले ध्यान नदिएको कार्यालय प्रमुख कलमबहादुर महताराले बताउनुभयाे । अहिले फेरि सोही ठाउँमा १० लाख रकम आएकोसमेत उहाँले बताउनुभयाे । पोखरीमा अहिले माटो भारी मात्रामा रहेको छ । सहकारीका अध्यक्ष शेरबहादुर महतारालाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा