सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँले शुक्रबारको प्रदेशसभा बैठकबाट विश्वासको मत पाउनुभएको हो । शर्माको पक्षमा नेकपा एमालेका नौ, माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीसहित २५ जना सांसदले मतदान गर्नुभएको छ ।
उहाँको विपक्षमा १४ जना सांसदले मतदान गरेका थिए । ४० सदस्यीय प्रदेशसभामा शुक्रबार ३९ सांसद मतदानमा सहभागी भएका थिए । नेपाली कांग्रेसले भने विपक्षमा मतदान गरेको थियो । मुख्यमन्त्री शर्मा पुस २७ गते कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीका रूपमा नियुक्त हुनुभएको थियो । यसअघि कांग्रेसका जीवनबहादुर शाही र माओवादी केन्द्रका महेन्द्रबहादुर शाही कर्णालीको मुख्यमन्त्री बनिसक्नुभएको छ ।
मुख्यमन्त्री नियुक्त भएको १०औँ दिनमा शर्माले विश्वासको मत पाउनुभएको हो । कर्णालीसँगै प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी गरी ६ वटा प्रदेशका मुख्यमन्त्रीहरूले विश्वासको मत पाइसकेका छन् । सुदूरपश्चिममा भने विश्वासको मत लिने प्रक्रिया सुरु भएको छैन ।
प्रदेश सरकारलाई कांग्रेसले जोगाउँछ : पूर्व-मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका पूर्व-मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेश सरकार ढल्न लागेमा कांग्रेसले जोगाउने बताउनुभएको छ । प्रदेशसभाको शुक्रबारको बैठकमा मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत माग्दै गर्दा त्यसको जवाफमा शाहीले अहिले सहयोग गर्न नसकिने, तर सरकार ढल्न लागेमा सहयोग गरेर जोगाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘अहिले सरकारलाई बहुमत ठिक छ, योभन्दा बढी दिएमा फेरि गिलासबाट पानी पोखिएझैँ होला । त्यसैले हामी पानि पोख्न चाहँदैनौँ, अहिले तपाईंहरूसँग नै गिलास भर्ने पानी ठिक छ,’ शाहीले भन्नुभयोे, यदि मुख्यमन्त्रीज्यू अल्पमतमा पर्नुभयो भने त्यतिबेला हामी बहुमत बनाउनका लागि ढाल बनेर सहयोग गर्नेछौँ ।’






