सानिमा मिडिल तमोरको आइपीओ आजबाट बिक्री खुला

Read Time = 4 mins

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपिओ ४ माघदेखि निष्कासन तथा बिक्री खुला भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि उक्त आइपिओ बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता सेयर १०० रुपैयाँ दरका ३३ लाख ३२ हजार ५०० कित्ता आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको हो । तीमध्ये आयोजना अति प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि १३ लाख ३३ हजार कित्ता छुट्याएको छ ।

कम्पनीले आयोजना अतिप्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाका फुङलिङ नगरपालिका वडा नम्बर १, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका वडा नम्बर १ तथा भिक्वाखोला गाउँपालिका वडा नम्बर १ र २, मेरिङदेन गाउँपालिका वडा नम्बर २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नम्बर ५ तथा मैवाखोला गाउँपालिका वडा नम्बर १ मा बसोबास गर्ने स्थानीय बासिन्दा रहेका छन । कम्पनीले आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाका बासिन्दाहरूका लागि ६० प्रतिशत अर्थात् १९ लाख ९९ हजार ५०० कित्ता सेयर निष्कासन गरेको हो ।

साथै, कम्पनीले सर्वसाधारणलाई निष्कासन गर्ने ४९ लाख ९८ हजार ७५० कित्ताको १० प्रतिशत अर्थात् चार लाख ९९ हजार ८७५ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो ।

ADVERTISEMENT

उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

यसैगरी, विदेशमा रहेका नेपालीहरुले उक्त आइपिओमा १८ माघसम्म आवेदन दिन सक्नेछन् । साथै आयोजना प्रभावित स्थानीयले भने ४ फागुनसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आइपिओलाई केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी इस्युर’ रेटिङ प्रदान गरेको र वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गरेको छ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ ।

स्थानीय बासिन्दाहरूले ताप्लेजुङ जिल्लास्थित सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकका तोकिएका शाखा कार्यालय र सानिमा मिडिल तमोरको कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज