हलेदो नकोट्याऊँ कि !

प्रा. डा. कुलप्रसाद कोइराला
प्रा. डा. कुलप्रसाद कोइराला
Read Time = 15 mins

हलेदो भनेर चिनेपछि नकोट्याउनु भन्ने पुर्खाको कथन छ तर पनि मलाई अचेल सुकेलुतो चिलाए झैँ भएर नेपाली राजनीतिका फाँटकै कुरा गर्न मन लाग्छ । म राजनीतिकर्मी हुँइन, राजनीतिमा मेरा कोही नातेदार पनि छैनन् । जीवनभरि चक डस्टर घोटेर आफ्नो र आफूमा आश्रितको पालनपोषण गरेँ । जुन बेला म पढ्दै थिएँ त्यसबेला राजनीति भनेको ठूलो कुरो हो यसले देशमात्रै होइन विश्व नै परिचालन गर्दछ भनेर डोका न डालाका कुरा गरे गुरुले र राजनीतिमा लागेका पण्डितले पनि । लाटाले पापा देखेर लोभिए झैँ म पनि पहिले कम्युनिष्टले दूधमतिका किनारामा लगी लालधर्म सिकाए, लोभिएँ पनि ।

छात्रावासमा आयो कि कांग्रेसले मुठीको माखो बनाइहाल्थ्यो । ७/८ कक्षामा पढ्ने नाम्लो डोरी रागे गोरुका किलामाथि झुण्ड्यार भागेर हिँडेका नाथुले के पो बुझ्नु थियो र जे जे बराजै सोही साही स्वाहा त थिएँ । छहरेको कोइराला भइखाएको कुरो पनि मैले छात्रावासमा बस्दा नै बुझेँ । बाआमा मलाई र मेरी बहिनीलाई लिएर छहरेबाट सिन्धुलीतिर त बसाइँ पो सरेका रहेछन् । पछि घर गएका बेला मलाई आमाले हो भनेर पुष्ट्याइँ दिनुभएको थियो । पहेंल्चा रङ्को कुर्थापाइजामा या धोती फेरेर एउटा बेतको छडी टेक्दै एकजना लट्याङ्ग्रो बोली भएका मान्छे महेन्द्रनारायण निधि हुन् । यस भेगका ठूला कांग्रेस, सेतो कुर्थापाइजामा र एउटा रुमाल काँधमा राखेका यदाकदामात्रै ब्रहृमपुरीमा भेटिने खाइलाग्दो अनुहारका मान्छे सरोज कोइराला भनेर चिनाए । खडेबटैया र बेठबेगारीका विरुद्ध ठाकुरप्रसाद ढुंगना आदिलाई साथ लिएर किसानको भलाइ गर्न मैदानमा ओर्लेका युवा नेता भन्थे सरोजलाई । एवं प्रकारले आनन्दप्रसाद ढुंगाना काजीसाहेब (भीष्मजंग केसी) बोध दादा, आदि आदि ।
मनसाचिन्तितं कार्यं वचसानप्रकाशयेत्
गोठालाले घरका मालिक र तिनका नातेदार चिने झैँ विस्तारै मैले देशैभरिका काङ र वाम चिन्न लागेछु । वामसँग सैद्धान्तिक बहस नगरी खाएकै नपच्ने, काङ्को मग्मगी बास्ना नै आउने । एकोहोरिनुको पनि सीमा हुन्छ नि । विष्टका घरमा रोटी पाक्दा पुहुनीलाई छट्पटी भएझैँ मलाई पनि छट्पटी हुन थालेको थियो । मलाई अहिले पनि त्यस रोगले छाडेको थिएन । बाघको भाले र स्यालको पोथी मिसाएर बाघ या स्याल के वृद्धि गर्न खोजेको हो त्यो त यो देशका बुलाहा र तिनका अग्रचर, पाश्र्वचर तथा पश्चचरहरूले बुझेका होलान् । मंसिर ४ गते भएको चुनाव समस्या समाधानका निमित्त थिएन । समस्या बल्झाउनका निमित्त स्पष्टै देखिन्थ्यो ।

संसद्‌मा आइपुग्न पाएको छैन बिग्रेका दलका नाइकेको सेवा गरेर गतिलो र उम्दा पदको च्याँखे थापेको देखियो । विदेशी गायत्री लागू गर्न सञ्चारमाध्यमबाट प्रवेश गरेका रविको छवि पनि प्रकट भयो । लिङ्देन पनि लेनदेनका मनसायले आए ।

दलीय व्यवस्थामा आफ्ना दलका चुनाव चिहृनमा भोट हाल्न सम्बद्ध दलको केन्द्रीय कार्यसमितिले नै हिृवप जारी गर्ने भनेको नंगा नाचे मैदान नै थियो । सैद्धान्तिक विचलनको यसभन्दा गतिलो उदाहरण न आजसम्म संसारमा कतै होला न त भोलिका विश्वमा नै कतै भेटिएला । त्यस प्रकारको चुनाव र मतदानमा पनि श्री ३ कै पाराको हुकुमी बेदखली लागू भएपछि भने मेरा मनबाट भुङ्ग्रेज्वरो उत्रियो । अनि त को प्रकाश, को अन्धकार, सबैसँग भिड्न पनि मजा लाग्न थाल्यो । न विमल चिने न त धमिलो भुँड्को नै ।

सबै मलाई पेटमा लाधी र दिमागमा बोसो लागेका बुख्याँचाजस्ता लाग्न थाले । ‘संसारका महान् राजनीतिक चिन्तकहरू’ भन्ने पुस्तक पढेर मैले तयार पारेको दिमागमा के थियो भने राजनीतिमा तालमेल हुन्छ तर समान वैचारिक प्रकृतिका दलसँग त्यो पनि सरकार चलाउनमात्र । यहाँ त बहर लगेर भैंसीमा, गाई लगेर राँगामा लाउने र ती ब्याँउनै पर्ने सम्मिलन हुनैपर्ने चण्ड र लण्ठका नियमले एउटा राम्रो काम ग¥यो मेरा आँखाको पट्टी खोलिदियो । राम्रो नराम्रो मानव मानवमा हुनेरहेछ । कांग्रेस र कम्युनिष्टमा पनि मानव भएका हुनाले राम्रा नराम्रा कुरा लत, बानी त हुनसक्ने रहेछन् । भैंसीले अलिकति पानी जमेको ठाउँ भेटे गएर आहाल बस्छ र धमिल्याइदिन्छ । गाईले आफ्नो तिर्खा मरुन्जेल पानी खान्छ र सरक्क फर्केर हिँड्छ ।

सुँगुर आयो भने पनि त्यो जमेका पानीमा लडिबुडी गरेर धमिल्याएर वरपरको डिलको माटोसमेत दाराले खनेर आहालै विरूप बनाइदिन्छ । सबै पुराना राजनीतिक दलका दलनायकले सुँगुर र भैंसीले गर्ने काम गरे । त्यो बिग्रे भत्केको टालेर थुनेर हामी आहाललाई पोखरी बनाउँछौं भनेर साम्पाङ, बालेन र गोपी अघि सरे । नेपाली मतदाताले हेरौं न त यिनका पनि ताईं भनेर जिताइदिए । पछिल्लो पल्ट त भेडियाधसानको चरित्र देखाउँदै स्वतन्त्रको लर्को नै लाग्यो राजनीतिक दलको र दलाधीशको काम, चिन्तन र विचलन औंल्याएर जनता र देशका पक्षमा खबरदारी गर्ने भनेर । मुखमा रामराम बगलीमा छुरा गरेर आएका रहेछन् ।

ADVERTISEMENT

संसद्‌मा आइपुग्न पाएको छैन बिग्रेका दलका नाइकेका गोडामा तेल घसेर गतिलो र उम्दा पदको च्याँखे थापेको देखियो । विदेशी गायत्री लागू गर्न सञ्चारमाध्यमबाट प्रवेश गरेका रविको छवि पनि प्रकट भयो । लिङ्देन पनि लेनदेनका मनसायले आए । थरूहट कायम गरेर मुख्यमन्त्री पड्काउँला भनेर हिंसामा लागेकाहरू पनि अहिले त संसदमा घोक्रो फुलाउन आइपुगे । अभागी दिसा बस्न बस्यो तीन बित्ताको काँडो पस्यो भनेको यही नै होला । अब पाँच वर्षपछि यी स्वतन्त्रको मुखुण्डामा आएका दलबाट रौं न भुत्लो हुने पक्का भएको हुनाले नेपाली काङ र वामलाई धन्यवाद दिनैपर्छ । यिनले जानेरभन्दा पनि नजानी नजानीकन ठूला कुरा गर्नेको दोहोलो गरे । धन र पद देख्दा महादेवका त तिनै नेत्र बल्छन् रे । विचरा को हुन् यी रवि, लिंगदेन, अनि श्रेष्ठ (चौधरी) ? दूधका ढुंग्रामा डुबेर मर्ने माखा । उता के के न गरेँ भनेर पुक्किएका घमण्डी ओलीलाई संसद्को पहिलो बैठकमै देउवाले काँचो पिँडालु लगेर मुखभरि कोच्याए । दाहाल-ओलीको मुख च्यात्ने देउवा ओलीका मुखमा काँचो पिँडालु कोच्याउने त्यो दिनको संसद् दर्शनीय, श्रवणीय थियो ।
यत्र योगेश्वरः कृष्णोयत्रपार्थो धर्नुधरः/तत्रश्रीर्विजयो भूतिध्र्रुवानीतिर्मतिर्मम ।।
एउटा बेलाको भनाइ हो यो । जहाँ कृष्ण र धनुर्धर पार्थ उभिन्थे निश्चित रूपमा धनसम्पत्ति, विजय र नैतिक धरातल बलियो हुन्छ भन्ने मलाई लाग्छ भन्थे साधारणभन्दा साधारण मान्छे पनि । अहिले नेपालका तीन जना पूर्वप्रधानमन्त्रीका चाल र इष्र्याको दलदलमा फसेर राजनीति अधमरा बनेको देखिन्छ भनेर आममान्छे शंका गर्न थाले । जसको नागरिकता नै विवादमा छ त्यसलाई उपप्रधानमन्त्री सहितको गृहमन्त्री बनाउनुपर्ने बाध्यता के होला ? यस्ता चरित्रले यसपटक राम्रोमात्रै काम गर्छु भनेर गुड्डी हाँक्न सुहाउँछ ? राजनीति यदि देश, समाज र विश्वमा मैत्री बढाउने नीति हो भने राजनीति गर्नेले भैंसी र सुँगुरको प्रवृत्ति त्याग्न सक्नैपर्छ । ढाँटेर, छलेर जनतालाई झुक्याएर धेरै दिन शासनसत्तामा बस्न सकिँदैन ।

राजा विराटले जति र कंसले जति पनि आजका नेपाली राजनीतिक दलका दलाधीशले यस माटाका सम्बन्धमा सोच्न छाडे । विसं १९९२ तिर साधारण नेपालीको दिनदशाको चित्रण देवकोटाले ‘मुनामदन’ मा गरे । धेरैले यसमा मुना र मदनको बैंसको धुक्धुकी देख्लान् तर यो देशका जनताले तन मारेर पनि धन जम्मा गर्न गर्नुपरेका संघर्षको गाथा छ यसमा । तीन बीस हिउँद काटेकी आमाको घिड्घिडो छ यसमा । यसपछि मोहन कोइरालाले ‘गंगाप्रवास’ शीर्षकको लामो कविता लेखेर शताब्दीयौंदेखि नेपाली पहाडी भेकमा र हिमाली भेकमा बस्नेले बग्नुपर्ने पैरामुनिको बास बस्नु पर्ने कुराको चित्रण गरे ।

अहिले डोजरे विकास र भ्रष्टाचारको प्रक्रियामा बढोत्तरी भएको छ तर सरकार भनाउँदाले समस्या न देख्छ न बुझ्छ । तराईमा बस्नेले वर्षेनी डुब्नु परेको छ कि भने लु, शीतलहरको सिकार हुनै परेको छ । जो आए पनि तिनको दुःख तिनैसँग छ ।

अहिले डोजरे विकास र भ्रष्टाचारले त्यो प्रक्रियामा बढोत्तरी भएको छ तर सरकार भनाउँदाले समस्या न देख्छ न बुझ्छ । तराईमा बस्नेले वर्षेनी डुब्नु परेको छ कि भने लु, शीतलहरको सिकार हुनैपरेको छ । शेर आए पनि स्याल आए पनि तिनको दुःख तिनैसँग छ । हातमुख जोड्न बहादुर बहादुर्नी बन्नुपरेका पीडाको गाथा गाएर शासक हुँ भन्नेलाई पिताजी कृष्णप्रसाद कोइरालाले भन्दा गतिलो पार्सल पठाए लेखकले तर उनका सन्तान पनि ब्युँझेनन् तिनका अनुचर, पुरचरले पनि त्यो पर्सल खोल्ने हिम्मत देखाएनन् भने धिक्कार छ यस प्रकारको चेतना बोकेर देशको राजनीति गर्छु र प्रधानमन्त्री बन्छु भनेर दुई खुट्टामा सुरुवाल लाएर हिँड्नेलाई ।

झिँगो भातका चोइलीमा बसे पनि पाखुरा निमोठ्छ, नर्कमा बसे पनि पाखुरा नै निमोठ्छ किनभने त्यसले भातको चोइली र मलका बीचको पार्थक्य पर्गेल्न जानेको हुँदैन । आजका मन्त्री, प्रधानमन्त्री पनि निर्देशन दिन जान्दछन् । उनीहरूलाई कर्मचारी तन्त्रले निर्देशन होइन ऐन नियमको आधार खोज्छन् भन्नेसम्म थाहा छैन होला र ? तिनले त भाग लाएर खान र खान नपाए छिर्कनी लाउन जानेका हुन्छन् । राजनीति भनेको देश, जनता लुटनीति हो चणक्य, विदुर, बीपी, गान्धी, नेहरू, लालबहादुर, मनमोहनहरू महाका बेबकुफ थिए जसले शासनलाई कमाउने अवसर, लुटको मौका होइन देश र जनताको उद्धार, विकास भनेर परिभाषित गरेथे ।

नेपाल आमा जन्माऊ तिमी लुटेरा देशैभर
ज्यानमारा दागी बसेर गरून् शासन देशैभर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. Great Hajur , atyantai saamaiik !! “ गधा कहिलेई गाई हुन सक्तैन” !!

रिलेटेड न्युज