दाङ । आर्थिक समस्या भएपछि दाङको तुलसीपुरमा सञ्चानलमा आएको मगर भाषाको पढाइ रोकिएको छ । तुलसीपुर-१ भमकेमा रहेको वीरेन्द्र माविमा चार वर्षदेखि हुँदै आएको मगर भाषाको पढाइ रोकिएको हो । स्थानीयरूपमा मगर भाषा बोल्ने मातृभाषीलाई मध्यनजर गर्दै सञ्चालनमा आएको मगर भाषाको पढाइ चालु शैक्षिक सत्रदेखि स्थगित भएको छ । मगर भाषाको पढाइका लागि तुलसीपुर-१ को वडा कार्यालयले बजेट व्यवस्थापन गर्दै आएको थियो । चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन नभएपछि मगर भाषाको पढाइ स्थगित भएको शिक्षक हिमाल थापा मगरले जानकारी दिनुभयो । शिक्षक थापाका अनुसार मगर भाषाको पढाइ सञ्चालनका लागि वडा कार्यालयमार्फत् हरेक आर्थिक वर्षमा दुई लाख ५० हजार बजेट व्यवस्थापन हुँदै आएको थियो । नेपालमा मगर समुदायले ढुड, खामपाङ र काइके भाषा बोल्ने गर्छन् । दाङको भमकेमा भने ढुड भाषाको पढाइ हुँदै आएको थियो ।
पाठ्यक्रम विकास केन्द्रले ढुड, खामपाङ र काइके भाषाका पाठ्यक्रम तथा पुस्तक तयार गरेको छ । पाठ्यक्रम विकास केन्द्रको निर्देशनमा मगर भाषाको पढाइ हुने गरेको शिक्षक थापाको भनाइ छ । पाठ्यक्रमबाहेक हरेक वर्ष मगर भाषाका जानकारलाई प्रशिक्षकका रूपमा समेत आमन्त्रण गर्ने गरिएको थियो । हरेक वर्ष वडा कार्यालयले उपलब्ध गराएको बजेटबाट पाठ्यपुस्तक खरिद गर्ने, शिक्षक तथा प्रशिक्षकको भत्ता पुग्ने गरेको थियो । यसका लागि हरेक वर्ष उपलब्ध हुँदै आएको दुई लाख ५० हजारले पुग्ने शिक्षक थापाको भनाइ छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकलाल आचार्यले विद्यालयमा बजेट नभएपछि पढाइ रोक्नुपरेको बताउनुभयो । यसका लागि वडा तथा तुलसीपुर उपमहानगरपालिकालाई जानकारी गराएको अध्यक्ष आचार्यको भनाइ छ । तुलसीपुर–१ का वडाध्यक्ष हुमकान्त सापकोटाले वडामा बजेट सिलिङ कम प्राप्त भएपछि प्राथमिकतामा नपरेको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाबाट वडा कार्यालयलाई बजेट सिलिङ थोरै प्राप्त भएपछि वडाका सबै क्षेत्रको बजेट घटेको वडाध्यक्ष सापकोटाले बताउनुभयो । हाम्रो चाहना हुँदाहुँदै पनि मगर भाषाको पढाइका लागिमात्रै होइन सबै क्षेत्रको बजेटलाई हेरफेर गर्नुपर्ने बाध्यता रहेको वडाध्यक्ष सापकोटाले बताउनुभयो ।
विद्यालयमा भने मगर समुदायका विद्यार्थीले मात्रै नभएर अन्य समुदायका विद्यार्थीले समेत मगर भाषा पढ्ने गरेका थिए । यस वर्ष वडा कार्यालयले एक लाख रुपैयाँमात्रै बजेट व्यवस्थापन गरेको छ । उक्त बजेटबाट मगर संस्कृतिका लागि पञ्चेबाजा खरिद गर्ने जनाइएको छ । मगर समुदायको बाक्लो बस्ती रहेको भमकेमा सुकबहादुर थापा मगर नेपाल मगर संघ दाङको अध्यक्ष भएपछि मगर भाषाका गतिविधि सुरु भएका थिए । सोही क्रममा भमकेको वीरेन्द्र माविमा तुलसीपुर–१ र तुलसीपुर उपमहानगरपालिकाले पाँच वर्षअघि मगर भाषाको पढाइ सुरु गरेका थिए । मगर भाषाको पढाइ सञ्चालनको जिम्मेवारी शिक्षक हिमाल थापा मगरले पाउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच